आज कार्तिक २४, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सात जनाको मृत्यु
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको छ ।
जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ ।
प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो ।
युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ-अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गरेको क्रेमलिनले शुक्रबार बताएको छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ(अन–डनको यो उनको दोस्रो भ्रमण हो ।
बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ-अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गरेका क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उनीसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि थिए।
मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ-अन-डनमा थिए । त्यहाँ उनले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गरेका थिए ।
नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा
जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेकी छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिला माथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
बिहीबार उनको इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको एक सन्देशमा अधिकारकर्मीको परिवारले उनलाई बुधबार परीक्षाका लागि अस्पतालमा स्थानान्तरण गरिएको जनाएको छ । उनी मुटु र फोक्सोको समस्याबाट पीडित छिन् ।
‘अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,’उनले भनिन्। मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ ।
उत्तरी म्यान्माको लडाइँबाट ५० हजार नागरिक विस्थापित
दुई साताअघि जातीय सशस्त्र समूहहरूको गठबन्धनले सेनाविरुद्ध गरेको आक्रामक हमलापछि उत्तरी म्यान्माको लडाइँबाट करिब ५० हजार सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
चीनको सीमा नजिकै शान राज्यमा करिब दुई सातादेखि द्वन्द्व सुरु भएको छ । विश्लेषकहरूका अनुसार सन् २०२१ मा सत्ता कब्जा गरेयता जुन्ताका लागि यो द्वन्द्व सबैभन्दा ठूलो सैन्य चुनौती हो ।
ता’आङ नेसनल लिबरेसन आर्मी ९टिएनएलए०, आराकान आर्मी ९एए० र म्यान्मा नेसनल डेमोक्रेटिक अलायन्स आर्मी ९एमएनडिए० ले आफूहरूले म्यान्माको ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने सैन्य चौकीहरू कब्जा गरेको र चीनजाने महत्त्वपूर्ण मार्गमा अवरोध गरेको बताएका छन् ।
‘नोभेम्बर ९ सम्म उत्तरी शान राज्यमा करिब ५० हजार सर्वसाधारण विस्थापित हुन बाध्य भएका छन्’, मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घको कार्यालय ९युएनएचसिओ० ले भनेको छ ।
सेनाको उत्तरपूर्वी कमाण्डको कार्यालय भएको शान राज्यको लाशियो उपनगरबाहिर इन्टरनेट र फोन सेवाहरू अवरुद्ध हुँदा लडाइँमा मानवीय प्रतिक्रियामा अवरोध उत्पन्न गरेको युएनएचसिओले बताएको छ । यातायात र नगदको उपलब्धतामा लगाइएको प्रतिबन्धका कारण स्थानीय मानवीय समूहहरूले दिने सहयोग प्रयासमा बाधा भइरहेको उक्त संस्थाले जनाएको छ ।
कार्यालयका अनुसार नोभेम्बरको सुरुदेखि छिमेकी सागाइङ क्षेत्र र कचिन राज्यमा सेना र उसका विरोधीहरूबीचको झडपका कारण ४० हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।
सेनाले आश्चर्यजनक हमलाप्रति अत्यन्त कमै टिप्पणी गरेको छ । यद्यपि यसै साताको सुरुमा जुन्ताद्वारा नियुक्त राष्ट्रपतिले सेनाले लडाइँलाई ‘व्यवस्थापन’ गर्न नसके मुलुक ‘विभिन्न टुक्रामा विभाजित’ हुनसक्ने चेतावनी दिएका थिए । असहज, जङ्गलले ढाकिएको क्षेत्रको दुर्गमता, चीनलाई तेल र ग्यास आपूर्ति गर्ने पाइपलाइनका घर तथा अव्यवस्थित सञ्चारका कारण मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न कठिन बनाएको बताइएको छ ।
जुन्ताको प्रमुख सहयोगी एवं हतियार आपूर्तिकर्ता चीनले म्यान्मामा भएको झडपका क्रममा चिनियाँ हताहत भएको मङ्गलबार पुष्टि गरेको थियो । यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चिनियाँ मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताएनन् ।
म्यान्माका सीमाहरूमा एक दर्जनभन्दा बढी जातीय सशस्त्र समूहको घर छ जहाँ केहीले स्वायत्तता र आकर्षक स्रोतहरूमाथि नियन्त्रण गर्नका लागि दशकौँदेखि सेनासँग लडाइँ लडिरहेका छन् । केहीले नयाँ ‘पिपुल्स डिफेन्स फोर्सेज (पिडिएफ)’ लाई प्रशिक्षित र सुसज्जित गरेका छन् । सैनिक कूप्रति असहमति राखेकामा सेनाको रक्तपातपूर्ण कारवाहीपछि पिडिएफको जन्म भएको हो ।
‘नियममा आधारित हिन्द-प्रशान्त क्षेत्रका लागि भारत-अमेरिका साझेदारी महत्त्वपूर्ण’
भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भारत–अमेरिका द्विपक्षीय सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक भएको बताएका छन् । उनले स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्नका लागि भारत–अमेरिका साझेदारीले प्रमुखता पाएको उल्लेख गरे।
‘उदीयमान विभिन्न चुनौती भए पनि हामीले प्रमुख र दीर्घकालीन मुद्दाहरूमा हाम्रो ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ, हाम्रो साझेदारी स्वतन्त्र, खुला र नियममा आधारित हिन्द–प्रशान्त क्षेत्रलाई सुनिश्चित गर्न यो महत्त्वपूर्ण छ’, उनले भने, ‘हामी क्षमताका क्षेत्र तथा उदीयमान चुनौतीहरूलाई सम्बोधन गर्न सक्ने साझेदारीका लागि अमेरिकासँग निकट रहेर काम गर्न तत्पर छौँ, म आज आकर्षक र समृद्ध छलफलका लागि तयार छु ।’
भारत–अमेरिका (दुई जोड दुई) मन्त्रिस्तरीय वार्ताको प्रारम्भमा मन्त्री सिंहले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोयड अस्टिनलाई स्वागत गर्दै भारत–अमेरिका सम्बन्ध विस्तार हुँदै गएको बताए ।
‘भारत–अमेरिका द्विपक्षीय सम्बन्धमा रणनीतिक चासो विस्तार भएको छ भने रक्षा, सुरक्षा तथा जासुसी सहयोगमा सुधार भएको देखिएको छ’, उनले भने, ‘रक्षा हाम्रो द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमध्येको एक हो, भारत र अमेरिका पहिलाभन्दा धेरै नै नजिक भएको बेला तपाईंहरूको भारत भ्रमण भइरहेको छ ।’
अमेरिकी रक्षामन्त्री अस्टिनले गत वर्ष भारत र अमेरिकाले रक्षा साझेदारी निर्माणमा ‘प्रभावशाली लाभहरू’ हासिल गरेको बताएका छन् । उनले भारत र अमेरिकाले विचार आदानप्रदान गर्न, साझा लक्ष्य खोज्न र तत्काल वैश्विक चुनौतीहरूको सामना गर्दै दुवै मुलुकका जनताका लागि काम गर्न यो ‘महत्त्वपूर्ण’ भएको बताए ।
‘हामीले ठूलो गतिको समयमा भेट गरिरहेका छौँ, तात्कालिक वैश्विक चुनौतीहरूका बीच अमेरिका र भारतबीचको साझेदारी विश्वका दुई सबैभन्दा ठूला प्रजातान्त्रिक विचारहरूको आदानप्रदान गर्न, साझा लक्ष्यहरू खोज्न र आफ्ना जनताका लागि काम गर्न पहिलाको तुलनामा धेरै नै महत्त्वपूर्ण छ’, उनले भने, ‘हामीले गत वर्ष आफ्ना प्रमुख रक्षा साझेदारीको निर्माणमा प्रभावशाली लाभ हासिल गरेका छौँ र यसबाट हामीलाई शान्ति र स्थिरताका लागि अझ धेरै योगदान पुर्याउन सहयोग प्राप्त हुनेछ ।’
उनले भारत–अमेरिका सहयोगको दायरा अत्यन्त ठूलो भएको बताएका छन् । अमेरिका–भारत साझेदारीको बल जनता–जनताबीचको सम्बन्धमा निहित रहेको भन्दै यो दुई मुलुकबीचको मित्रताको मुटु भएकामा उनले जोड दिए।
दुई जोड दुई मन्त्रिस्तरीय वार्तामा सहभागी हुन अमेरिकी रक्षामन्त्री अस्टिन र विदेशमन्त्री ब्लिङ्केन नयाँदिल्ली आइपुगेका छन् । यो सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुने कूटनीतिक शिखर सम्मेलन हो । यसमा दुवै मुलुकका विदेशमन्त्री र रक्षामन्त्रीले प्रतिनिधित्व गर्नेछन् ।
गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु
इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो । जसले अगस्ट ३१ मा १ इजरायली सिपाहीको हत्या गरिएको थियो ।
इजरायली सेनाको रेडियो, आईडीएफ र प्रत्यक्षदर्शीहरूले समाचार संस्था सीएनएनलाई जनाएअनुसार इजरायली सेनाले झडपपछि कम्तिमा एउटा ड्रोन हमला पनि गरेको थियो ।
आईडीएफ र प्रत्यक्षदर्शीद्वारा सिएनएनलाई प्राप्त भिडियोहरूले शहरमा भारी सैन्य उपस्थिति चित्रण गरेको छ । प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले गोली चलाएको सुनिन्छ। कम्तिमा एक दर्जन बख्तरबंद गाडीहरू सहरका सडकहरूमा देख्न सकिन्छ । र, सशस्त्र बुल डोजरहरू सडक र घर भत्काउँदैछन् । सीएनएनले प्राप्त गरेको भिडियोमा अपरेशन पछि शिविरमा पर्चाहरू खसालिएको समेत देखाइएको छ।
प्रतिक्रिया