अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन | Khabarhub Khabarhub

अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरू बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै विना दर्ता र अनुमति विना सञ्चालित क्रसर उद्योग, नदीजन्य र खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा उद्योग र व्यवसाय बन्द गर्न निर्देशन दिएको हो । 

नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन गर्ने उद्योग बन्द नगरी अटेर गरेमा कानुनबमोजिम कारबाही गरिनेसमेत प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । हालै गृह मन्त्रालयले देशका ७७ वटै जिल्लामा गैरकानुनी रुपमा सञ्चालनमा रहेका उद्योगहरू बन्द गराउन निर्देशन जारी गरेपछि पर्वत प्रशासन पनि बन्द गराउने अभियानमा जुटेको हो ।

प्रशासनले यसअघि क्रसर उद्योगहरू दर्ता हुने घरेलु तथा पर्यटन कार्यालय र स्थानीय तहमा पत्राचार गरेर विवरण माग गरेको थियो । क्रसर उद्योग दर्ता गर्ने, नवीकरण गर्ने र नियन्त्रण गर्ने निकाय भनेका स्थानीय तह र घरेलु तथा पर्यटन कार्यालय हुन प्रजिअ सापकोटाले भने, ‘अहिले पर्वतमा कति उद्योग दर्ता भएका छन्, कति नवीकरण भएका छन् र हालको अवस्था के रहेको छ, कानुनी प्रक्रियाअनुसार कति सञ्चालन भएका छन् र मापदण्ड विपरीत कति सञ्चालित छन् भन्ने बारेमा खुलाएर पठाउनका लागि पत्राचार गरिएको छ ।’ ती निकायबाट पत्र आएपछि गृहको आदेशानुसार अवैध रुपमा सञ्चालन भएको पाइएमा आवश्यक कारबाही गरिने प्रजिअ सापकोटाले बताए । 

गृहमन्त्रालयको आदेशलगत्तै सूक्ष्म रुपमा प्रक्रिया अघि बढाइसकिएको प्रशासनले जनाएको छ । जिल्लामा सञ्चालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएका छन् ।

धौलागिरि क्रसर व्यवसायी समितिका अध्यक्ष विप्लव हमालका अनुसार साबिक घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएर सञ्चालन भएका उद्योग पर्वतमा तीनवटा मात्र रहेका छन् । अहिले गैरव्यवसायीहरुले पनि नदीनालाबाट जबर्जस्ती उत्खनन गर्ने र बिक्री गर्ने गरेका कारण क्रसर उद्योगहरूमा समस्या आएको बताए । उनले क्रसर उद्योगहरूको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। हमालले मापदण्ड ठूलो समस्या नभएको बताउँदै उत्खननलाई व्यवस्थित गर्नुपर्ने बताए । 

जिल्लामा खासगरी कालीगण्डकी नदीका किनारमा रहेका अधिकांश उद्योगहरू अवैध रुपमा सञ्चालन हुँदै आएका छन् भने कतिपयले लुकिछिपी रातको समयमा नदी दोहन गर्ने गरेका छन् । जथाभावी दोहनको शृङ्खला बढेपछि सर्वोच्च अदालतले विगत दुई वर्षदेखि अर्को आदेश नभएसम्म नदी उत्खननमा रोक लगाएको छ । नदी उत्खनन र ढुङ्गा, गिट्टी बालुवा निकासी गर्न नपाउँदा पर्वतको जलजला, कुश्मा र फलेवासको करोडौँको आम्दानीसमेत गुमेको छ भने विकास निर्माणका कामसमेत प्रभावित भएका छन् ।  

जिल्ला समन्वय समिति पर्वतका संयोजक तथा अनुगमन समितिका संयोजक विष्णुराम विकले पर्वतमा अवैध क्रसर उद्योगहरूको सङ्ख्या उल्लेख्य रहेको बताउँदै तिनको नियन्त्रण र व्यवस्थापन गरिने बताए । उनले गृहको आदेशसँगै अब त्यस्ता अवैध उद्योगहरूको अनुगमन गरेर बन्द गराउन पहल गर्नेसमेत बताए। अहिले अनुगमन समितिमा बन्द गराउने कार्यतालिका र प्रक्रियाका बारेमा छलफल भइरहेको बताए । जिल्लाका खोलानालामा झन्डै डेढ दर्जनको हाराहारीमा क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । 

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  १ : ३७ बजे

स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएकाको नामावली

गोरखा – गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित भूकम्प

ऊर्जामन्त्री भन्छन्- अब विद्युत् खेर जाने अवस्था रहँदैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब देशमा

‘डार्क फाइल’ प्रकरण : छद्म नाममा प्रहरी कार्यालय छिरेका तिमल्सिना पक्राउ 

काठमाडौं–  ‘डार्क फाइल’ प्रकरणमा सिधाकुरा अनलाइनलाई ‘फेक अडियो’ उपलब्ध गराएको अभियोगमा

कृषिमन्त्रीले भने- कृषकलाई दिइने सहुलियत र सेवा प्रवाहमा क्रमिक सुधार भएको छ

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको

संविधान संशोधनभन्दा समीक्षा गर्न आवश्यक : नेता नेम्वाङ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  नेता सुहाङ नेम्वाङ इलाम क्षेत्र