बास्कुनाका कृषकहरुले गरे साढे दुई करोडकाे सुन्तला बिक्री | Khabarhub Khabarhub

बास्कुनाका कृषकहरुले गरे साढे दुई करोडकाे सुन्तला बिक्री


२७ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- म्याग्दीको बेनी नगरपालिका–३ मा पर्ने राखु र वडा नं ४ को बास्कुना गाउँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री गरेर यस वर्ष गाउँमा साढे दुई करोड भित्र्याएका छन् । यहाँका गाउँलेहरूले पाखोबारी र धान फल्ने खेतमा सुन्तला खेती गरेपछि अहिले सोही गाउँका किसानहरूले आफ्नै गाउँमा बसेर वार्षिक करोडौँ रुपैयाँ कमाउन सफल भएका हुन् ।

राखुकी सन्तकुमारी पुनले यस वर्ष सुन्तला बिक्री गरेर करिब २२ लाख आम्दानी गरेको बताइन्। “मैले पनि यो  वर्ष सुन्तला बिक्री गरेर २१ लाख आम्दानी गरेँ”, उनले भने। विगत एक दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएकी पुनले सुन्तलाको दाना र बिरुवा बेचेर रहरलाग्दो आम्दानी गर्न सफल भएको बताइन्।

किसान पुनले मात्रै होइन तल्लो र माथिल्लो भेकमा विभाजित राखुमा रहेका ६५ घरधुरीले न्यूनतम २० हजारदेखि  अधिकतम २१ लाखसम्मको सुन्तला बिक्री गरी गाउँमा डेढ करोड रुपैयाँभन्दा बढी रकम भित्र्याउन सफल भएका हुन् । पुनसँगै राखुमा कुलबहादुर गर्बुजा, जशिकला रोका, भिमकुमारी घर्ती, खिरमती राना, कृष्णबहादुर पुन धेरै सुन्तला बिक्री गर्ने कृषकमा पर्छन्।

परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका यहाँका किसानहरु पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुन बताउँछन्। राखुपछि सबैभन्दा धेरै मरेक गाउँका २१ जना कृषकले बगैँचाबाटै सुन्तला बेचेर ३२ लाखको सुन्तला बजारमा गएको स्थानीय अगुवा कृषक इन्द्रबहादुर थापाले जानकारी दिए। 

त्यसैगरी हल्लेगौडा, पानीस्वाँरा, ज्यामिरे र चिनखेत क्षेत्रबाट यस वर्ष करिब २८ लाखको सुन्तला बजारमा गएको स्थानीय युवा कृषक होम रोका मगरले बताए। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गाउँभरि नै सुन्तलाका बिरुवा रोपिएको कृषकको भनाइ छ । दस वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यावसायिक रुपमा सुन्तला जात फलफूल खेतीमा आकर्षित भकिम्लीवासीले हरेक वर्ष उत्पादनमा वृद्धि गरेका छन् । ‘अबको केही वर्षमा परम्परागतरूपमा कोदो र मकै लगाउने सबै बारीमा सुन्तला फल्ने छ, सुन्तला खरिद गर्न व्यापारी घरघरमै आउने भएकाले सुन्तला खेतीमै सबैको आकर्षण बढेको छ’, उनले भने ।

यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएको बताउँदै अबको आधा दशकमा अनुकूल मौसम भएमा तेब्बर उत्पादन हुने कृषकहरुको अनुमान रहेको छ । केही कृषकले परीक्षणका लागि सुन्तलाको बिरुवा रोपेको र राम्रो उत्पादन हुन थालेपछि भकिम्लीका अन्य बस्तीहरूमा समेत सुन्तला खेतीको लहर चलेको छ । रोग पत्ता नलागेका कारण समस्यामा परेका कृषकले निरन्तर तालिम तथा विभिन्न औषधी प्रयोग गरेपछि यस वर्ष उत्पादनमा सुधार आएको छ । ‘सिङ्गो वडा नै सुन्तला खेतीमा आर्कर्षित भएको छ, अनुदानमा समेत प्रोत्साहन गरिरहेका छौँ’, वडाध्यक्ष पुनले भने ।

हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको वडाध्यक्ष पुनले बताए । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट गाउँमा आउन थालेपछि सडक मर्मतसम्भारमा समेत बर्सेनि लाखौँ खर्च हुने गरेको छ । भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ । 

त्यसैगरी वडा नं ४ मा पर्ने बास्कुना गाउँबाट पनि यस वर्ष एक करोडको सुन्तला गाउँबाट नै निर्यात भएको बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । बास्कुनाकी गौमती खत्रीले यस वर्ष रु साढे चार लाखको सुन्तला बिक्री गरेको सुनाए । अघिल्लो वर्ष दुई लाख ५५ हजारको सुन्तला बिक्री गरेकी खत्रीले यस वर्ष उत्पादन बढेपछि दोब्बर आम्दानी भएको उनको भनाइ छ । खत्रीको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेकाले यस वर्ष उत्साहित छन्। गाउँमा आएका व्यापारीहरुले सुन्तला टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने आवश्यक सवारी साधनसमेत ल्याउन थालेपछि अहिले चहलपहल भएको छ ।

सुन्तला बिक्रीबाट यस वर्ष १० लाखदेखि १२ लाख आम्दानी हुने कृषक दीर्घबहादुर खत्रीले बताए । उनको बगैँचामा करिब पाँच सय सुन्तलाका बोट रहेका छन् । खत्रीले विगत १० वर्षदेखि सुन्तला खेती गर्दै आएका छन् । “सुन्तला खेतीबाट किसानहरुले राम्रो आम्दानी लिनुभएको छ, सुन्तला खेतीलाई थप प्रवर्द्धन गर्ने र युवालाई आकर्षित गर्न अर्को वर्ष सुन्तला महोत्सव लगाउने योजना बनाएका छौँ”, वडाध्यक्ष खड्काले भने । 

म्याग्दीको भकिम्ली, बरञ्जा, हिस्तान, घार, राँखु, दाना, विम लगायतका गाउँहरू सुन्तला उत्पादन पकेट क्षेत्र हुन् । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट एक हजार दुई सय मिटरदेखि एक हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटै स्थानीय तहको तीन सय ५५ हेक्टर जमिनमा सुन्तला खेती भइरहेको छ । जिल्लामा वार्षिक १७  करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।  

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ३ : ०२ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन