आज दिनभर सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर, उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न, सरकारको चालु खाता घाटा बढ्दो, कोरोना सङ्क्रमित एक जनाको मृत्यु, रूपन्देही र बाँकेमा बढे एचआईभी संक्रमितलगायत समाचारले प्रमुख स्थान पाए ।
सिंहदरबारको फोहर नउठाउने महानगरको निर्णय स्थानीय नीतिविपरीत रहेको सरकारको ठहर
सरकारले सिंहदरबारको फोहर नउठाउने काठमाडौं महानगरको निर्णय स्थानीय नीतिविपरीत भएको ठहर गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवासलगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्तिबारे छलफल भएको थियो । बैठकले महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।
बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले फोहर नउठाउने महानगरको निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिगत व्यवस्थासँग सम्बन्धित भएकाले यस विषयमा छलफल गर्ने बताइन् ।
छलफलबाट पनि समस्या समाधान नभए काठमाडौं महानगरको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् । फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट काठमाडौं महानगर भाग्न नमिल्ने उनको भनाइ छ ।
बैठकले आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशाक विषादी अवशेषको सीमा निर्धारण गर्न स्वीकृत गरेको प्रवक्ता शर्माले बताइन् ।
उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।
मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ पूरा भएको हो । ती मतपत्र आवश्यक सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ ।
बारा क्षेत्र नं २ मा एक लाख १६ हजार, चितवन क्षेत्र नं २ मा एक लाख ३८ हजार र तनहुँ क्षेत्र नं १ का लागि एक लाख ३६ हजार मतपत्र छपाइ गरिएको छ । ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो । उपनिर्वाचनका लागि कूल ६७ जना उम्मेवारले उम्मेदवारी दिएका छन् । आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार बारा क्षेत्र नं २ मा ३४, तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं २ मा २४ जना उम्मेदवार छन् ।
आयोगको अद्यावधिक विवरणअनुसार बारा–२ मा एक लाख पाँच हजार दुई सय ४८, चितवन–२ मा एक लाख २४ हजार छ सय ९५ र तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाता कायम भएका छन् ।
एमाले र पूर्वराजालाई दोष दिएर उम्कन मिल्दैन, सरकारले परिणाममुखी काम गर्नुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले परिणाममुखी काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा उनले कांग्रेससहितको सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने भन्दै परिणामुखी काम गर्नुपर्ने बताए ।
“वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो-यो काम गर्यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणामुखी काम गर्नुपर्छ”, उनले भने । केन्द्र सरकार, प्रदेश सरकार र अधिकांश सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाझ काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।
महामन्त्री थापाले सङ्घीय शिक्षा ऐन चार महिनाभित्र संसदबाट पारित गर्नुपर्ने बताए । उनले सङ्घीय शिक्षा ऐनका लागि आवश्यक सुझाव दिन शिक्षकलाई आग्रह गरे ।
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।
विसं २०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक सङ्घले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा सङ्गठन विस्तार गरिसकेको छ । सोही अवसरमा महामन्त्री थापाले शिक्षक पेशामा रहेर विभिन्न योगदान दिनुभएका शिक्षकलाई सम्मान गरेका थिए ।
निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफूखुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफूखुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, “कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ ।
अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।” त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
वैशाख ५ गतेबाट आमरण अनसन बस्ने लघुवित्त पीडितको घोषणा
लघुवित्त पीडितहरुले वैशाख ५ गतेबाट आमरण अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी लघुवित्त पीडितहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले अध्यक्ष मनिराम ज्ञावालीको नेतृत्वमा वैशाख ५ गतेदेखि आमरण अनसनको घोषणा गरेको हो ।
चैत २१ देखि माइतिघर मण्डलामा अनसनरत पीडितहरुले लघुवित्तले आफूहरुलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको बताए । समितिका अध्यक्ष ज्ञावालीले पीडितहरुको जीवन मर्नु न बाँच्नुको अवस्थामा पुर्याउने लघुवित्तले कायौंको ज्यान लिइसकेको र सयौंलाई विस्थापित गरिसकेको बताए ।
ज्ञावालीले न्यायको निम्ति आफूहरुले निष्कर्षसहितको अन्तिम लडाइँका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको बताए ।
राष्ट्रिय किसान संघ सञ्जाल नेता अगस्त्य अधिकारीले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निर्देशिका र प्रचलित ऐन कानून मिचेर आमजनताविरुद्ध ज्यादती गर्दै आएको भन्दै आन्दोलनमा आफ्नो संगठनले सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संघर्ष समितिका केन्द्रीय सचिव रमेश तामाङले देशका झण्डै ५८ लाख महिलाहरु लघुवित्तहरुको ऋणी भएको र अधिकाशंलाई ब्याजको स्याज लगाएर गैरकानूनी तरिकाले यातना दिएको आरोप लगाए ।
सरकारको चालु खाता घाटा बढ्दो
विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिएपनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा सरकारको चालु खाता भने रु ४४ अर्ब ३१ करोडले घाटामा रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो अवधिसम्ममा पुँजीगत ट्रान्सफर २० दशममलव ३ प्रतिशतले कमी आई रु पाँच अर्ब ५८ करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी रु एक अर्ब १७ करोड बराबर मात्रै छ ।
अघिल्लो वर्षको सोही अवधिसम्ममा पुँजीगत ट्रान्सफर रु सात ७ अर्ब रहेको थियो भने रु १६ अर्ब ३० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
कोरोना सङ्क्रमित एक जनाको मृत्यु
मंगलबार कोरोना भाइरस सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय जनामा सङ्क्रमण देखिएको छ । यस्तै, ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्दै जाने बताएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसीयू) मा र पाँच जना भेन्टिलेटरमा उपचाररत छन् ।
नेपालमा पनि छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखा परेको छ ।
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् ।
पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो ।
नगरपालिकाद्वारा स्वास्थ्य स्वयमसेविकालाई साइकल
कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो ।
नगरपालिका–७ ले १३ वटा वडाका स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए।
‘स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ’, अध्यक्ष भट्टले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।’ त्यसैगरी दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस् भनेर साइकल वितरण गरेको उनले बताए ।
स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताए। ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ वडा कार्यालयको एक लाख ५० हजार बजेटमा साइकल वितरण गरिएको हो ।
रूपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित
एचआईभी सङ्क्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ ।
राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुँदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने गरेको र सङ्क्रमितको उपचारको क्रममा स्वास्थ्य संस्थाबाट गोपनीयता भंग हुने गरेको देखिएको छ ।
एचआईभी सङ्क्रमितहरूको मानवअधिकारमध्ये बाँच्न पाउने अधिकार, भेदभावविरुद्धको अधिकार, महिलाहरूको मानव अधिकार, बालबालिकाको मानवअधिकार, विवाह गर्न पाउने अधिकार, गोपनीयताको अधिकारसँगै उपलब्धता र पहुँचअनुसार रोकथाम, उपचार, हेरचाह र समर्थनमा पहुँचको मूल्याङ्कन, स्वीकार्यता र गुणस्तर सहितको उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार छ । संक्रमितहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्यकर्मी र संस्थाको व्यवहार ठिक नभएको पाइएको हो ।
राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१-२०२६ ले सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, सङ्क्रमितको स्वास्थ्यसम्बन्धी परिणमहरुमा सुधार ल्याउने र असमानताहरुमा कमी ल्याउने लक्ष्य लिएको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव बुद्ध नारायण साहनी केवटले जानकारी दिए ।
रणनीति योजनाले २०२६ सम्म संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको उपसचिव केवटले जानकारी दिए ।
नेपालमा सन् २०२० को तथ्याङ्क अनुसार ३० हजार ३०० जना अनुमानित संक्रमित रहेका छन्, जसमध्ये महिला ४० प्रतिशत रहेको छ । संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिंगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरू ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागूऔषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ ।
भक्तपुर महोत्सवमा दुई करोड ५० लाखको कारोबार
प्रसिद्ध बिस्केट जात्रा तथा नयाँ वर्ष २०८० को अवसरमा सल्लाघारीमा सञ्चालन भइरहेको ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा सोमबारसम्म दुई करोड ५० लाख बराबरको कारोबार भएको छ ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज ब्यान्डको आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा यही चैत २३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा दैनिक ५० लाखभन्दा बढीको कारोबार भइरहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, सवारीसाधन, खेलौनालगायतका दुई सय कक्ष छन् ।
महोत्सवको करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । आगामी वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा करिब १० करोडको कारोबार हुने आयोजकको विश्वास छ ।
महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले विभिन्न क्षेत्रका व्यक्तिलाई नगदसहित पुरस्कृत गरिने बताए । महोत्सवमा हरेक दिन विभिन्न साङ्गीतिक समूहको प्रस्तुतिसमेत रहने गरेको छ ।
प्रतिक्रिया