विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज चैत २८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल ११, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

चीनद्वारा ताइवानको जल तथा हवाई क्षेत्रमा युद्धपोत र लडाकु विमान तैनाथ

चीनले ताइवानको जल तथा हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ ।

मंगलबार ताइवानको जल क्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए ।

सोमबार तीन दिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान आफ्नो वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ ।

ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेटेपछि क्रुद्ध भएको चीनले गत शनिबारदेखि सैन्य अभ्यास सुरु गरेको थियो ।

राष्ट्रपति साईले आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अमेरिकी सभामुखलाई क्यालिफोर्नियमा भेटेकी थिइन् । गत अगस्टमा तत्कालीन सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणपछि गरिएको सैन्य अभ्यासभन्दा तुलनात्मक रूपमा पछिल्लो अभ्यास कम स्तरको रहेको बताइएको छ ।

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै चीनले दुई नेताबीच भेटवार्ता भए त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो । देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनै पनि गतिविधि सह्य नहुने चीनले बताएको थियो ।

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ ।

चीनले हिजो आफ्नो सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको थियो । ताइवानी रक्षा मन्त्रालयले हिजै टापु वरपर १२ वटा चिनियाँ युद्धपोत र ९१ वटा विमान तैनाथ गरिएका दाबी गरेको थियो । ताइवानी सेनाले आफ्नो सुदृढीकरणको प्रयासलाई निरन्तरता दिने बताउँदै आएको छ ।

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तर्राष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ ।

अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि हो । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भएपनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स लीले बताएका छन् ।

अमेरिका र फिलिपिन्सबीच सैन्य अभ्यास सुरु

कटु आलोचनाका बीच फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले बृहत् संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सुरक्षा विश्लेषकहरूका अनुसार यो अभ्यास एक दशक यताकै सबैभन्दा बृहत् हो ।

संयुक्त सैन्य अभ्यास र गतिविधिले यस क्षेत्रमा शान्ति र स्थायित्वको सट्टा तनाव बढाएको विश्लेषकहरूले बताएका छन् । बालिकाटन नामको १८ दिने उक्त अभ्यासमा पाँच हजार चार सय जना फिलिपिन्सका तथा १२ हजार दुई सय जना अमेरिकी सैनिक सहभागी रहेको फिलिपिन्सको सेनाले जनाएको छ । सैन्य अभ्यासमा अष्ट्रेलियाको सशस्त्र सेनाबाट एक सय जना सदस्य तथा जापान, बेलायतलगायत दर्जनौँ देशले पर्यवेक्षकका रूपमा भाग लिएका छन् ।

‘बालिकाटन २०२३’ उत्तरी लुजोन टापु, पलावान प्रान्त, बाटानेस टापु र जाम्बाालेस प्रान्तलगायत धेरै स्थानमा आयोजना हुनेछ । उक्त अभ्यास सामुद्रिक सुरक्षा, ‘साइबर डिफेन्स’, प्रतिआतङ्कवाद, मानवीय सहायता, प्रकोप व्यवस्थापन तथा उद्धारमा केन्द्रित हुनेछ । अभ्यासका क्रममा फिलिपिन्स र अमेरिकी सेनाले हाइ मोबिलिटी आर्टिलरी रकेट सिस्टमसहित अत्याधुनिक हतियार प्रणालीलाई पनि सक्रिय पार्नेछन् ।

यसैबीच, लिगअफ फिलिपिनो स्टुडेन्ट्सले उक्त अभ्यासको विरोध गरेको छ । सैन्य अभ्यास औपचारिक रूपमा प्रारम्भ हुनु केहीबेर अघि उक्त सङ्गठनका सदस्यले विरोध प्रदर्शन गरेका थिए । विरोधका क्रममा उनीहरूले फिलिपिन्स सरकारलाई अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्न माग पनि गरेका थिए ।

प्रदर्शनकारी सैन्य अभ्यासको निन्दा गरिएका प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै उनीहरूले फिलिपिन्सका नागरिकहरूलाई उक्त अभ्यासको विरोध गर्न आह्वान पनि गरेका थिए । केही प्रदर्शनकारीले यहाँस्थित अमेरिकी राजदूताबास बाहिर रहेको अमेरिकाको प्रतीक चिह्नमा रङले भरिएका औजारबाट प्रहार गरी प्रतीक चिह्नलाई विकृत पारेका थिए । अभ्यासको औपचारिक कार्यक्रम भइरहेका बेला सैनिक मुख्यालय र अन्य सैनिक क्याम्पका गेटमा अर्काथरि प्रदर्शनकारीले अभ्यासको विरोध गरेका थिए ।

विद्वत् वर्गको समूह एसियन सेन्चुरी फिलिपिन्स स्ट्राटेजिक स्टडीज इन्स्टिच्युटका उपाध्यक्ष अन्ना मालिन्डोग उयले वालिकाटन अभ्यासबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) क्षेत्र र विशाल एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता सृजना गर्ने टिप्पणी गरेका छन् । उनले अमेरिकालाई हतियारमा खर्च गर्नुको सट्टा यस क्षेत्रका देशलाई आर्थिक सहयोग गर्न सुझाएका छन् ।

गोप्य दस्तावेज बाहिरिएपछि अमेरिका तनावमा

रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्सा तथा सूचनाहरू इन्टरनेटमा चुहावट भए पछि पेन्टागन तनावमा फसेको हो ।

चुहावट भएका दस्तावेजहरू मध्ये २० वटा दस्तावेज भने बीबीसीको हातमा परेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी गोप्य दस्तावेज चुहावट स्वीकार गर्दै सो विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

उसका अनुसार चुहावट भएका दस्तावेजमा ६ हप्ता पुरानो जानकारीसमेत रहेको छ । चुहावट भएको दस्तावेजहरू कसले इन्टरनेटमा हाल्यो रु भनेर खुलाइएको छैन तर यसका बारेमा अमेरिकी रक्षा मन्त्रालयले गम्भिर रुपमा अनुसन्धान सुरू गरेको छ ।

चुहावट भएका ती दस्तावेजहरूमा सैन्य ब्रिगेड्स, बख्तरबन्द सवारी, गोलाबारुद, गोप्य रूपमा गरिएका आर्थिक सहयोगको जानकारीसहित रुस र युक्रेन दुवैलाई पश्चिमा राष्ट्रबाट दिइने हतियार तथा गोलाबारुदको अभिलेखसमेत उल्लेख भएको उक्त दस्तावेजहरू चुहावट भएका हुन ।

रुस र युक्रेनबीच युद्धबन्दी आदानप्रदान

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।

रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् ।

रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका रूसी सेनाको सङ्ख्या बारेमा उनले कुनै विवरण दिएका छैनन् ।

यसैबीच, युद्धबन्दीको उपचारका निम्ति समन्वय गर्ने युक्रेनी कार्यालयले गम्भीर घाइते भएका पाँच जना रुसी सैनिकलाई रुससमक्ष हस्तान्तरण गरेको छ ।

युक्रेनले उनीहरूलाई जेनेभा अभिसन्धिअनुसार रुससमक्ष हस्तान्तरण गरेको हो । मार्च २०२२ देखि रुससँगको बन्दी आदानप्रदानअन्तर्गत हालसम्म दुई हजारभन्दा बढी युक्रेनी मुक्त भएका छन् ।

पाकिस्तानमा चार प्रहरीको मृत्यु

दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँग भएको झडपमा परी चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएको पाकिस्तानका कानून कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादी गतिविधिबारे गुप्तचर सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाइरहेका बेला दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।

सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको थियो । घटनामा १९ जना घाइते भएका थिए । घटनापछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आक्रमणको जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।

पेरुमा सडक दुर्घटना

पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुवाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

लिमा जाँदै गरेकाे बस चट्टानबाट चिप्लिएर करिब सात मिटर तल रिमाक नदीमा खसेको थियो । पेरुभियन रेडियो स्टेशन रेडियो प्रोग्रामास डेल पेरुका अनुसार बसमा छ जना नाबालिग सहित ६० जना यात्रु सवार रहेको र तीमध्ये तीन जना घाइते भएका थिए ।

घाइते २५ जना मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा परी घाइते भएका बस चालकलाई दुर्घटनाको कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय चिक्लाकाे हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ७ : ५८ बजे

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले