खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ | Khabarhub Khabarhub

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ।

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेको छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन्।

पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए। “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन”, उनले भने।

जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो। केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो। तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ। लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए।

“यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन। गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ”, उनले भने,  “यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ। बीउ सुकेर खेर जान लागिसक्यो।”

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन्। पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ।

जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ। करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो। जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो। मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ।

जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ। मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ। मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन्।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ९ : ०२ बजे

मुग्लिन–नारायणगढको वैकल्पिक सडक

तनहुँ– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले

गाडी चढ्दा लाग्ने रिङ्गटा र वान्ता कसरी रोक्ने ?

दशैँ सुरु भइसकेको छ । यतिबेला दशैँ मनाउन घर जानेको

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू