के कारणले हुन्छ पायल्स ? | Khabarhub Khabarhub

के कारणले हुन्छ पायल्स ?

के खायो भने पायल्सको जोखिम बढी हुन्छ ?


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

गलत खानपान र जीवनशैलीले निम्त्याउने पायल्सको समस्याबाट धेरैजना ग्रसित हुन्छन्। पायल्स, निकै कष्टकर समस्या हो। तर, लाजको कारण धेरैले रोग लुकाउँछन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्तशिरालाई तन्काइदिन्छ। यो क्रमस फैलन थाल्छ र गिर्खा बन्छ। पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। जबसम्म समस्याले जटिल रुप लिँदैन, तबसम्म उपचार खोजिदैन। मलद्वार र मलाशयका भित्तामा रहेका रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो। पायल्स हुनुको कारण के हो ? उपचार पद्धति के कस्ता छन् ? पायल्स हुँदा घरैमा के गर्ने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि आयुर्वेदिक चिकित्सक डा. विजेन्द्र शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :

पायल्सको समस्यालाई हामीले कसरी बुझ्ने ?
मलद्वारमा विभिन्न किसिमका रोग लाग्न सक्छन्। मलद्वारको परीक्षण गरेर प्रत्यक्ष रुपमा हेरिसकेपछि मात्र पायल्स हो होइन थाहा हुन्छ। आयुर्वेद विधि पायल्सको लागि एकदमै राम्रो हुन्छ। मलद्वार र मलाशयका भित्तामा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो।

पायल्स के कारणले हुन्छ ?
पायल्सको प्रमुख कारणको रुपमा कब्जियतलाई नै राखिन्छ। कब्जियत हुँदा दिसा गर्दा बल पर्छ। त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्किनेक्रम फैलन थाल्छ। विस्तारै गिर्खा बन्न थाल्छ। पायल्स वंशाणुगत पनि हुन्छ। यदि कसैको परिवारमा एक जनालाई छ भने अरु सदस्यमा पनि सर्ने हुन्छ। अहिलेको समयमा धेरै मानिस ट्वाइलेटमा गएर मोबाइल हेर्ने, पत्रिका पढ्ने गर्छन्। लामो समय फिस्टुला ट्वाइलेटमा बस्दा भेनहरु फुल्छन। जसले गर्दा पायल्स हुने सम्भावना बढ्छ। खानेकुराको कारणले पनि पायल्स बढिरहेको छ।

मैदाबाट बनेका खानेकुरा धेरै खानाले पनि पायल्स हुनेगर्छ। अनियमित खानपान पनि यसको कारण हुनसक्छ। भोक लागेको बेला नखाने, राति अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत हुनसक्छ। अपच हुने खानेकुरा जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फुड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छन्। यस्तो अस्वस्थ्यकर खानेकुरा खाने तर, पर्याप्त पानी नपिउने, व्यायाम नगर्ने, फाइबरयुक्त खानेकुरा, फलफूल सेवन नगर्ने, लामो समयसम्म दिसा रोक्ने, मोटोपन, पेटको समस्या भएका, गर्भवती र गर्भपात गर्नेमा कब्जियतको समस्या हुनसक्छ।

पायल्सका लक्षण कस्ता देखिन्छन् ?
पायल्स हुँदा ट्वाइलेट बस्दा दिशामा रगत आउने, मलद्धारमा मासुको डल्लो पलाउने, मलद्वारबाट सिँगान जस्तो बग्ने, मलद्वारबाट पानी बग्ने र मलद्वार चिलाउने दुख्ने, सुन्निने लगायतका लक्षण देखिन्छन्।

कस्ता मान्छेमा पायल्सको जोखिम बढी हुन्छ ?
आर्मी पुलिसमा पायल्सको समस्या धेरै देखिएको छ। यसका साथै जसले धेरै धेरै गह्रौ चिज उठाउछ, जसलाई कब्जियत छ त्यस्तो व्यक्तिलाई बढी समस्या भएको पाइन्छ। ट्वाइलेटमा बसेर मोबाइल हेर्ने, पत्रिका पढ्ने व्यक्तिमा यो समस्या धेरै हुनेगर्छ। जंक फुड धेरै खाने, रातो मासु खाने र अदुवा खाने व्यक्तिमा बढी देखिएको छ।

पायल्सको लक्षण देखिएर पनि समयमा उपचार नगर्दा पछि कस्तो जोखिम निम्तिन्छ ?
पायल्सको सुरुको अवस्थामा उपचार गरिएन भने यसले पछि थप समस्या निम्तिने गर्छ। जसमा रगत धेरै बगिरहने भयो भने हेमोग्लोबिनको कमी हुनसक्छ। पायल्सको समस्या मलद्वारमा हुने भए पनि मुख्य जड पेट हो।

समयमा उपचार नगर्दा पायल्सको अप्रेसनसँगै पेटको पनि उपचार गर्नुपर्ने हुन्छ। पायल्सको अप्रेसन गरे पनि पेट ठिक भएन भने फेरि पायल्स बल्झिन सक्छ। जसले गर्दा पैसा पनि धेरै खर्च हुने र रोग पनि पूर्ण रुपमा निको नहुनसक्छ।

पायल्सको लामो सयमसम्म उपचार नगर्दा क्यान्सर हुन्छ कि ?
पायल्स र क्यान्सर छुट्टै रोग हुन्। पायल्समा मासुको प्रकार नै छुट्टै हुन्छ। यी दुबै रोगको लक्षण फरक छन्। त्यसैले आफूलाई के भएको छ भनेर चिकित्सकलाई देखाउनुपर्छ।

पायल्स हुँदा के खाने के नखाने ?
पायल्स भएका व्यक्तिले सधै फाइवरयुक्त खाना खानुपर्छ। घरमा बनाएको खाना खानु उपयुक्त हुन्छ। खाना तोरीको तेलमा बनाउनु राम्रो हुन्छ। प्रर्याप्त मात्रामा पानी खानुपर्छ। दैनिक रुपमा सागपात, हरियो तरकारी, फलफूल धेरै खानुपर्छ। बाहिरको प्याकिङ गरिएको, मैदाबाट बनेको खानेकुरा सकेसम्म खानु हुँदैन। अदुवा, रातो मासु, सुख्खा खानेकुरा खानु हुँदैन। धुम्रपान मद्यपानको सेवन गर्नु हुँदैन।

अस्पतालमा पायल्स भएर जाँदा कसरी उपचार गरिन्छ ?
पायल्सको उपचारको प्रक्रिया फरकफरक हुन्छन्। पायल्स भएको सुरुको अवस्थामा छ भने औषधि खाएर पनि निको हुन्छ। तर, समस्या बढिरहेको र मासु बाहिर निस्किएको छ भने छारसुत्र विधिबाट निकाल्न सकिन्छ। लेप लगाउने विधिबाट पनि निको बनाउन सकिन्छ। यदि भएन भनेर अप्रेसन गर्न सकिन्छ। हामीले उपचार गर्दा मासुमा मात्र ध्यान नदिएर पेटको कारणले भएको छ भने पेटलाई ठिक राख्नुपर्छ। पेटलाई ठिक राख्यो भने एकपटक अप्रेसन गरेपछि फेरि हुने सम्भावना कम हुन्छ। तर, ठिक भयो भने जे खानेकुरा पनि खानु हुँदैन।

यस्तो समस्या आउनै नदिन के गर्ने ?
यसको लागि सबै जनाले बिहान चाँडै उठ्ने, बेलुका छिटो सुत्ने बानी बसाल्नु राम्रो हुन्छ। बेलुका १० बजे सुत्नुपर्छ। बिहान उठेर एक्सरसाइज गर्ने, दौडिने, बिहान हल्का नास्ता गर्ने, बिहानको खाना हेभी खाने, दिउँसोको समयमा हल्का खाने र सूर्यास्त भइसकेपछि खानेकुरा नखाँदा स्वस्थ्य बन्न सकिन्छ। पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दूधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रिकं आदिको सेवन गर्नु हुँदैन। मदिरापान, धुम्रपानले पनि यसलाई जटिल बनाउँनसक्छ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ७ : ०१ बजे

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४