फाइल तस्वीर

अन्तर्राष्ट्रिय

उइगुर अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको आग्रह

By खबरहब

October 11, 2023

वाशिङ्टन डीसी- अमेरिकाले चीनलाई उइगुर अधिकारकर्मी राहिल दाउतलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । उनलाई चीनमा आजीवन कारावासको सजाय सुनाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

अमेरिकाको हाउस सेलेक्ट कमिटिले उनलाई आजीवन कारावास पठाउने चीनको निर्णयको ‘कडा निन्दा’ गरेको उक्त अखबारले जनाएको छ ।

उनलाई गैरकानूनी हिसाबमा बन्दी बनाइएको भन्दै अमेरिकाले उनीसँगै बन्दी बनाइएका अरुलाई पनि तत्काल रिहा गर्न अमेरिकाले आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उइगुर पहिचान र संस्कृतिलाई मास्ने चिनियाँ प्रयासको रुपमा दाउतलाई आजीवन कारावासको सजाय दिइएको टिप्पणी गरेका छन् ।

उइगुर मानवशास्त्री एवम् संस्कृतिकर्मी दाउत सन् २०१७ को डिसेम्बर महिनायता बेपत्ता छिन् । बेपत्ता हुनुअघि उनी सिन्जियाङ विश्वविद्यालयमा अध्यापन गर्दै आएकी थिइन् ।