रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ? | Khabarhub Khabarhub

रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ?


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह नाताले सांसद प्रभु साहकी पत्नी हुन् । नेकपा एमालेका तर्फबाट २०७९ बैशाख ३० मा नगरप्रमुख निर्वाचित साहलाई एमालेले पार्टी परित्याग गरेको भन्दै नगरप्रमुखबाट हटाउन निर्वाचन आयोगमा निवेदन दियो । त्यही आधारमा आयोगले साहलाई २०८० असोज २९ गते स्वतः पदमुक्त भएको सूचना निकाल्यो । तर, शुक्रबार सर्वोच्च अदालतको अन्तरिम आदेशले साहलाई मेयर पदमा पुनर्बहाली गरिदियो ।

अदालतको यो आदेशसँगै स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गरेमा के हुन्छ ? र कस्तो अवस्थामा उनीहरू पदमुक्त हुन्छन् भन्ने कानुनी प्रश्न उब्जिएको छ ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा रहेका पूर्वमन्त्री प्रभु साहले गत संसदीय निर्वाचनका बेला एमालेबाट विद्रोह गरेर आम जनता पार्टी गठन गरेका थिए । नयाँ पार्टी खोलेर चुनावमा भाग लिएका सांसद साहले पार्टीलाई धोका दिएको एमाले नेताहरूले गुनासो गर्दै आएका थिए ।

श्रीमानले एमाले छाडेर अर्को पार्टी खोलेपछि एमालेले प्रभु साहकी श्रीमतीलाई मेयर पदबाट मुक्त गर्न निर्वाचन आयोगलाई पत्र लेखेको थियाे । मेयर साह श्रीमानकै पार्टीमा लागेको एमालेको जिकिर थियो । एमालेको यही जिकिरमा टेकेर निर्वाचन आयोगले रिनालाई मेयरबाट हटाएको थियो ।

त्यसो त बहुदलीय व्यवस्थामा श्रीमान एउटा पार्टीमा र श्रीमती अर्को पार्टीमा लाग्न सक्छन् । पतिले रोजेकै पार्टीमा पत्नी रहनुपर्छ भन्ने अनिवार्य छैन । बाबुआमा एउटा दलमा र छोराछोरी अर्कैमा लागेका उदाहरण समाजमा प्रशस्त भेटिन्छन् ।

उसोभए के प्रभु शाहले एमाले त्याग गरेकै आधारमा उनकी पत्नीलाई एमालेले मेयरबाट हटाउन निर्वाचन आयोगमा सिफारिस गरेको हो त ? कि रिना कुमारीले पनि एमाले छाडेर प्रभु साहकै पार्टी रोजेकी थिइन् ? यो प्रश्नको भने जवाफ आइसकेको छैन । सर्वोच्च अदालतले मुद्दाको टुंगो नलागेसम्मका लागि मात्र रिनालाई मेयरको जिम्मेवारी सम्हाल्न  भनेको हो ।

अदालतले आफ्नो अन्तरिम आदेशमा यो पनि भनेको छ कि रिनाले एमाले त्यागेको भरपर्दो प्रमाण नभएकाले उनले दल त्याग गरेको भन्न मिलेन । यसको अर्थ एमाले वा निर्वाचन आयोगले रिनाद्वारा पार्टी परित्याग गरेको भरपर्दो प्रमाणविनै उनीमाथि कारवाही गरेको हो त ? यो प्रश्न पनि अदालतमै विचाराधीन रहेको छ ।

अन्य प्रमाणविना, श्रीमानले एमाले छाड्दैमा श्रीमतीले पनि छाडेको मान्न चाहिँ नसकिने अदालतको आदेशबाट प्रष्ट भएको छ ।

कानुनमा के छ ?
राजनीतिक दलसम्बन्धी ऐन दफा ३१ ले जनप्रतिनिधिहरूलाई पदमा रहँदासम्म आफूले चुनाव जितेको पार्टी परित्याग गर्न नपाइने भनेको छ । सो अवधिमा दल त्याग गरेमा निर्वाचित जनप्रतिनिधिको पद स्वतः मुक्त हुने ३१ को उपदफा २ मा स्पष्ट व्यवस्था छ । कानुनको यो दफा संघ, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिमा लागू हुन्छ ।

रिना कुमारी साहले एमाले परित्याग गरेको पुष्टि भएमा यो दफा अनुसार उनको मेयर पद स्वतः जान्छ । तर, सर्वोच्च अदालतले रिनाले एमालेबाट राजीनामा नदिएको, आफू एमालेमै रहेको जिकिर गरेको र अर्को दलको सदस्य लिएको भन्ने देखिने आधिकारिक आधार प्रमाण पेश नभएको बताएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट २०८० कात्तिक  २४ गते शुक्रबार जारी आदेशमा साहलाई पूर्ववत् मौलापुर नगरप्रमुखको जिम्मेवारीमा काम गर्न दिनू भनिएको छ ।

रिनाका पतिसमेत रहेका सांसद प्रभु साह भने संविधानले संघ र प्रदेशका सांसदलाई पदमुक्त हुनसक्ने ठाउँ दिए पनि स्थानीय तहको हकमा दलत्याग गर्दा हटाउने व्यवस्था नगरेको दाबी गर्छन् । ऐनले पनि दलत्याग सम्बन्धी स्पष्टीकरण सोध्ने लगायतको प्रावधान नराखेका कारण स्थानीय जनप्रतिनिधिलाई हटाउन नसकिने उनको तर्क छ ।

साह प्रश्न गर्छन्, एमालेले कोशीमा नेपाली कांग्रेसलाई मुख्यमन्त्री बनाउने भनेर जनताबाट भोट लिएको हो र ? एउटा दलबाट जितेर अर्कोलाई सरकारमा पुर्याउन मिल्ने, अनि स्थानीय जनताका प्रतिनिधिले दलको कार्यकर्ता बनिरहनुपर्छ भन्न मिल्छ ?

नेकपा एमालेमा लाग्दा आफूलाई माओवादी केन्द्रले सांसद पदबाट हटाएको र अहिले एमालेले रिनामाथि त्यस्तै व्यवहार गरेको साहले सुनाए ।

मेयर रिना भने आफूले एमाले परित्याग नगरेको बताउँछिन् । उनले खबरहबसँग भनिन्, म एमालेमै छु । आइतबारदेखि आफूले कार्यालय गएर नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने उनले खबरहबलाई बताइन् । 

हेर्नुहोस् अदालतको आदेश

 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : २७ बजे

युद्धबिरामका बिचमा प्यालेस्टाइनी भूमिबाट इजरायलमा रकेट प्रहार

गाजा– इजरायली सेनाले गाजाबाट हानिएको रकेट अवरोध गरेको जनाएको छ

जनप्रतिनिधिहरूको विवादका कारण गाउँसभा अवरुद्ध

सर्लाही– सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरुबीच विवाद भएपछि गाउँसभा

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी– तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी– बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै