चेलाहरुबाटै फाल्गुनन्दको अपमान भयो | Khabarhub Khabarhub

चेलाहरुबाटै फाल्गुनन्दको अपमान भयो



फाल्गुनन्दको जन्म वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा भएको थियो । आज हामी फाल्गुनन्दको १३९ औं जन्मजयन्ती मनाइराखेका छौँ । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको चर्चा हुने गरेको छ । फाल्गुनन्दले गरेका सामाजिक-धार्मिक गतिविधि हेर्दा उनी नितान्त हिन्दु जोसमनि-पन्थबाट पूर्णरुपमा प्रभावित लाग्छ ।

फाल्गुनन्दलाई हामीले सामाजिक अथवा समाज सुधारकका रुपमा लिन्छौं । कसरी समाज सुधारक भन्दा हाम्रो लिम्बुवानमा त्योबेला किपट प्रथा थियो । किपट प्रथाभित्र भोगबन्दीको प्रथा चल्थ्यो । त्यतिबेला लिम्बुहरूले बाहुन र क्षेत्रीकहाँ आफ्नो जग्गा जमिन भोग बन्धकीमा राख्ने परम्परा थियो । भोग बन्धकी राखेको जग्गा साँवा फर्काएको दिन मात्र लिम्बुको हातमा फिर्ता हुन्थ्यो । मासी कट्टामा जग्गा लगेर साहुकोमा राखिन्थ्यो र साँवा जग्गाको आम्दानी अनुसार प्रत्येक वर्ष काँटिदै जान्थ्यो । 

यो प्रथाले लिम्बूहरूलाई निराश बनायो । भएका जग्गा जमिन सबै साहुकोमा राखिन्थ्यो । आफ्नो बाबु मर्दा साहुसँग ऋण काढ्ने, आमा मर्दा त्यो साँवा थपिने भयो । यसले गर्दा दिनदिनै आफ्नो पुर्ख्यौली भूमिसँग लिम्बुको सम्बन्ध टुट्दै गयो । यो भयानक दृश्यलाई विचार गरेर फाल्गुनन्दले यसरी भोग बन्धकमा जग्गा राख्नुपर्ने कारण लिम्बूहरूको खर्चालु संस्कृतिलाई औंल्याए ।

जस्तो– आफ्नो परम्परा र संस्कारमा बाख्रा मार्नुपर्ने, भैंसी मार्नुपर्ने, राँगा मार्नुपर्ने, सुँगुर मार्नुपर्ने एउटा संस्कारका कारण लिम्बुहरू ऋणमा फस्नु परेको र जग्गा गुमाउँदै गएको भनेर फाल्गुनन्दले जाँड खानु हुँदैन, मासु खानु हुँदैन, खर्चालु संस्कृतिलाई त्याग्नुपर्छ भनेर अभियान नै चलाए । फाल्गुनन्दले विसं १९८८ मा एउटा सत्य धर्म मुचुल्का गरे । त्यो पाँचथरको सिटौलीमा जस्तो लाग्छ । त्यहाँबाट धेरै लिम्बुहरूले जाँड, रक्सी र मासु खान छोडे । त्यसपछि लिम्बूहरूको आर्थिक अवस्थामा पनि सुधार आयो । यो अर्थमा चाहिँ मैले र धेरै मान्छेले फाल्गुनन्दलाई समाज सुधारकका रुपमा चिन्ने गर्दछौँ । 

फाल्गुनन्दको सुधारको पक्ष एउटा सकारात्मक पाटोका रुपमा आयो । समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो । लिम्बूहरूमा श्रीजंगा थेबेले चलाएको श्रीजंगा लिपि थियो । त्यो लिपिको उनले र उनका चेलाले प्रयोग गरे । तर, लिम्बुहरुको परम्परागत संस्कार छोडियो र हिन्दु धर्मबाट लिम्बुको संस्कारलाई अतिक्रमित गराइयो । 

हामी लिम्बूहरूको आध्यात्मिक ज्ञान भनेको मुन्धुम हो । त्यहाँ छुट्टै दर्शन छ । यो ब्रह्माण्ड सञ्चालनमा पशु, पन्छी, बोटविरुवा र मान्छेको अस्तित्व समान हुन्छ । यो भूमिका समान हुने कुरा लिम्बु वा याक्थुम्बा दर्शनले भन्छ । हाम्रो मुन्धुममा फाल्गुनन्दले हाम्रा पुर्खाको नाम लेखेनन्

बोटविरुवाको नाम लेखेनन् । हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । उनका चेला बद्रीनन्द तुम्बापो लगायतले त्यसलाई समेट्न सकेनन् । हाम्रो मुन्धुममा हाम्रो घर, आँगन, चुल्हो, मूल खाँबो, माथिल्लो तला, धुरी, आँगन, बारी, जंगल हुँदै हुँदै हिमालसम्मको व्याख्यात्मक वर्णन छ । सबै व्याख्या गरेर बलेंसी, आँगन, तितेपातीघारी हुँदै करेसा हुँदै, बाटाभरि चरा हुन्छन् । जनावर र पशुपन्छीको वर्णन हुँदै जान्छ । सबैको नामाकरण हुन्छ । 

त्यो भित्र पशुपन्छी, बोटविरुवा, पोखरी, खोलानालाको विषय समेटिएको हुन्छ । अहिलेको पर्यावरणको सबै व्याख्या त्यसभित्र छ ।  हाम्रा पूर्खासँग खेल्ने, हाँस्ने, प्राकृति विपत्तिको सामना गर्ने विषयमा चर्चा हुन्छ । मुन्धुमी ज्ञानमा प्राकृतिक विपत्तिबाट बच्न हाम्रा याक्थुम्बा, लिम्बु, फेदेङबाले सिकाएका हुन्छन् । हाम्रो उत्पत्ति थलोलाई महत्त्व दिएका छन् । 

बाढी, पहिरो, डढेलो लाग्ने विपत्तिबाट बच्नका लागि हाम्रा फेदाङ्बासाम्बाले स्तुति गर्छन् । तर फाल्गुनन्दले चलाएको ‘सत्यहाङ्मा मुन्धुम’ मा यी कुरा छैन । लिम्बूहरूको सातो बुझाउने संस्कार फरक हुन्छ । लिम्बुको थर र ठाउँ अनुसार विधि हुन्छ । तर, फाल्गुनन्दले लिम्बूहरूको पूर्खालाई बिर्सिएको देखिन्छ । त्यसैले फाल्गुनन्दलाई चिन्दा समाज सुधारकका रुपमा मात्र चिन्नु हुँदैन । उनले अहिले चलाएको जुन सत्यहाङमा मुन्धुम छ, त्यसले लिम्बुको परम्परा र संस्कृतिलाई छुटाएको छ । 

फाल्गुनन्दका चेलाले परम्परागत स्थलमाथि अतिक्रमण गरेका छन् । फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले सत्यहाङमाले लिम्बूहरूको उत्पत्तिस्थल ओढार, खोला, नाला र पाखामा लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङमा र उनका चेलाहरुले गरेका छन् ।

भाषा र लिपिमा फाल्गुनन्दले चलाएको अभियानलाई उनका चेलाले पनि निरन्तरता दिएका छन् । यसलाई हामीले मान्नुपर्छ । तर केही कुरा यसमा पनि कमजोरी छन् । लिम्बुहरुका देउतालाई शुक्र भनेका छन् । यसरी उनीहरूले अतिक्रमण गरेका छन् । किरात धर्मभित्र सत्यहाङमा चरु होम गर्छन् । जो बाहुनहरुले गर्छन्, त्यसलाई अनुशरण गरिएको छ ।

अर्कोतर्फ किराती धर्म मान्ने थाक्थुम चुम्लुङले पहिला लिम्बुले जे गर्दै आएका थिए, त्यही गर्ने चलन छ । सत्यहाङमाहरु जहाँबाट पैसा प्राप्त हुन्छ, त्यही लागेको देखिन्छ । युरोपमा पास्टरले भेटी दिने गरेको पाइन्थ्यो, त्यही कुरा आएको देखिन्छ । यसले लिम्बूहरूको संस्कृतिमाथि प्रहार भएको देखिन्छ । 

याक्थुम्बाहरुले मान्ने लिम्बू संस्कार छ । हामी लिम्बुहरू धर्म बोकेका समुदाय होइनौँ, लिम्बू जातिमा धर्म भन्ने शब्द नै छैन । हामी परम्परा र संस्कृतिवादी हौँ । राजनीतिक रुपमा अहिले किरात शब्दले लिम्बूहरूलाई समस्यामा पारेको छ । यसको प्रमुख कारण फाल्गुनन्दका चेलाले किरातको नाममा चलाएको हिन्दु संस्कार, संस्कृति हो । 

किरात याक्थुङ चुम्लुङले पनि आफ्नो धर्म र संस्कृतिका नाममा चलाएको अभियानमा खोट देख्छु । हाम्रो परम्परा, संस्कार र संस्कृतिलाई किरातले प्रहार गर्दै लगेको छ । यसको प्रमुख कारण फाल्गुनन्दले लिएको जोसमनिपन्थ हो । यसको प्रभावले हिन्दु धर्मको प्रभाव हामीमाथि परेको छ । अहिले हामी फाल्गुनन्दको ११६ औं जन्मजयन्ती मनाइराखेका छौँ । फाल्गुनन्दलाई समाज सुधारक मात्र बनाऔँ ।

 सरकारले राष्ट्रिय विभूति तोकेको छ । जसको राजनीतिक पहुँच हुन्छ, उसले विभूति बनाएको हो । राष्ट्रिय विभूति बनाउन सुवास नेम्वाङको ठुलो योगदान छ । इलाममा एमालेलाई भोट पाउनका लागि यो राजनीतिक रुपमा अगाडि बढेको प्रस्ताव हो । त्यसमा हाम्रो आपत्ति होइन । उनको समाज सुधारक र सादगी जीवन थियो । जुनसुकै पथ लिए पनि उनले केही सकारात्मक काम गरेका छन् । 

लिम्बुहरू खर्चालु संस्कृतिकै  कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न उनको भूमिका छ । लिम्बूहरूको संस्कार र संस्कृतिमा बेलायतमा म्याग्नाकार्टा भनेजस्तै लिम्बुहरूले उनका कुरालाई लिनुपर्छ । समाज सुधारकका रुपमा फाल्गुनन्दलाई चिन्नुपर्छ । फाल्गुनन्दको सादगी जीवनलाई हामीले अपनाउन सक्नुपर्छ । त्यसरी अगाडि बढ्दा मात्र फाल्गुनन्दप्रति श्रद्धाञ्जली र सम्मान हुन्छ भन्ने लाग्छ । 

(मुन्धुमविद् एवं तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १२ : २४ बजे

नक्कली इन्सपेक्टर बनेर ठगीमा संलग्न समातिए

काठमाडौं– नेपाल प्रहरीले नक्कली इन्सपेक्टर बनेर ठगी कार्यमा संलग्न व्यक्तिलाई

ओली सरकारले बढायो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरिका सार्वजनिक यातायातको भाडा

सबैभन्दा धेरै सुन भारतीय महिलासँग

काठमाडौं– सम्पत्ति जोड्नसँगै गरगहनाका लागि पनि सुनको प्रयोग हुन्छ ।

भुटानी शरणार्थी प्रकरण : प्रतीकको मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं– सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे

आफ्नो हरर फिल्ममा दर्शक नतर्सेर प्रियंकालाई ट्रमा

काठमाडौं – प्रियंका कार्कीको अभिनय रहेको फिल्म ‘ममी’ प्रदर्शनको संघारमा