सुन्तला उत्पादन बढेपछि किसान उत्साहित | Khabarhub Khabarhub

सुन्तला उत्पादन बढेपछि किसान उत्साहित


२५ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

धरान– सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक, भोजपुरलगायत ठाउँबाट किसानले धरानस्थित कृषिउपज बजारस्थलमा सुन्तला ल्याइरहेका छन् ।

कात्तिक १५ यतामात्र दुई हजार मेट्रिकटन सुन्तला बिक्री भइसकेको छ । अझ पुसमा सबैभन्दा धेरै सुन्तला आउने अनुमान गरिएको छ । किसानले यसपटक बारीमा सुन्तला धेरै फलेकाले पुसमा ठूलो परिणाममा सुन्तला बजारमा आउने बताएका छन् ।

धरान बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकेजी एक सयदेखि रु एक सय २० सम्म छ । मौसमअनुसार सुन्तलाको मूल्य घटबढ हुने गर्छ । घाम लागेको बेला सुन्तलाको मूल्य वृद्धि हुने र नलागेको दिन घट्ने व्यापारीको भनाइ छ । यसपटक केही दिनअघि घाम नलाग्दा कृषिबजारमा प्रतिकेजी रु ८० सम्ममा किनबेच भएको थियो । यसपटक पनि बजारमा गत वर्षकै हाराहारी मूल्यमा सुन्तला किनबेच भइरहेको छ । 

कृषिउपज बजार स्थलको तथ्यांकअनुसार गत वर्ष पूर्वी पहाडका विभिन्न जिल्लाबाट धरानमा सात हजार मेट्रिकटन सुन्तला खरिद बिक्री हुँदा  ७० करोड हाराहारीको कारोबार भएको थियो । यसपटक पहाडी क्षेत्रमा सुन्तलाको उत्पादन बढेकाले साढे आठ हजार मेट्रिकटन कृषि बजारमा आइपुग्ने र त्यसबाट करिब रु एक अर्बबराबरको कारोबार हुने अनुमान गरिएको कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

पूर्वी पहाडको धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर र खोटाङसम्मका सुन्तला धरानको कृषिउपज बजारस्थल आइपुग्छन् । धनकुटा क्षेत्रका सुन्तला प्रायः किसान आफैँले बजारसम्म ल्याए पनि अन्य क्षेत्रका एजेन्टले बजारसम्म ल्याउने गरेका छन् । उनीहरूबाट थोक व्यापारी र त्यहाँबाट खुद्रा व्यापारी हुँदै उपभोक्तासम्म सुन्तला पुग्ने गरेको छ ।

धरानबाट व्यापारीले पूर्वी तराईका बजारहरू इटहरी, इनरुवा, विराटनगर, बिर्तामोड, दमकदेखि मधेस प्रदेशका विभिन्न जिल्लासम्म पुर्‍याउने  गरेका छन् । पूर्वी पहाडका रसिला सुन्तला अनौपचारिकरुपमा व्यापारीले भारतका बजारसम्म पनि पुर्‍याउने गरेका छन् तर औपचारिकरुपमा भारत लैजाने बाटो खुलेको छैन । त्यसका लागि भारतस्थित महावाणिज्यदूतावासको सहयोग लिएर भारतीय बजारमा सूचीकृत गर्नसके पूर्वी पहाडका किसानले राम्रो आम्दानी गर्नसक्ने कृषिबजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताएका छन्। 

उनले भने, ‘हालसम्म सूचीकृत गर्ने काम भएको छैन । त्यसका लागि व्यापारी व्यवसायी र सरकारले पनि चासो दिनसके देशलाई फाइदा हुन्छ ।’

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ४ : ५२ बजे

‘५०० टेक’ चर्चाबारे मिस पबीको स्पष्टीकरण यस्तो, ‘माग्ने राजा’ फिल्म नै नहेर्ने !

काठमाडौं – ‘माग्ने राजा’मा ‘अभिनय गर्न नसकेका कारण पवित्रा सान्की

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७

 स्थानीय तहमा निमित्त राख्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : प्रशासनमन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तह

प्रधानमन्त्रीबाट मनहरपुरमा सडक शिलान्यास

जनकपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं  प्रधानमन्त्री केपी