बेइजिङ- चीनमा सञ्चालित जापानी कम्पनी होण्डाको कारखानाले ९ सय कामदारलाई बर्खास्त गरिदिएको छ । पछिल्लो समय विद्युतीय सवारीको उत्पादन बढिरहेको अवस्थामा होण्डाले चिनियाँ कारखानाका ९ सय कामदारलाई बर्खास्त गरेको हो ।
चिनियाँ कम्पनी गुवाङ्झोउ अटोमोबाइल ग्रुपसँग मिलेर होण्डाले चीनमा खोलेको कारखानाबाट ती कामदारलाई बर्खास्त गरिएको हो ।
पछिल्लो समय आफ्नो कारखानाबाट उत्पादन पनि घट्दै गएकाले सोहीअनुसार कामदार पनि कटौती गरिएको होण्डालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
उक्त कारखानामा १३ हजार कामदार कार्यरत रहेको रोयटर्सले जनाएको छ । यद्यपि कुन विभागका कामदार कटौती गरिएको हो भन्नेबारे कम्पनीले केही जानकारी दिएको छैन । टोयोटापछि जापानको सबैभन्दा ठूलो कार निर्माता होण्डाले चिनियाँ बजारमा अपेक्षाअनुसार कमाइ गर्न सकेको छैन ।
प्रतिक्रिया