राजनीति

सरकारले समितिको निर्देशन कार्यान्वयनबारे अध्ययन गर्ने

By खबरहब

January 12, 2023

काठमाडौँ– संघीय संसदरअन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठकले आर्थिक वर्ष २०७८-०७९ सम्म भएका निर्णय-निर्देशनहरूको सरकारले कार्यान्वयनको अवस्थाबारे प्रतिवेदन एक महिनाभित्र तयार गर्न सांसद महेशकुमार महराको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

 समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज बसेको बैठकले बनाएको उक्त समितिमा सदस्यहरू नन्दा चपाई र शारदादेवी भट्ट छन् । समितिको बैठक एवं काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा समितिका सभापति पन्थको संयोजकत्वमा परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त कार्यदलमा सदस्यहरू कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे र सिंहबहादुर विश्वकर्मा रहेका छन् ।

समितिका सभापति पन्थले समितिले गत आर्थिक वर्षका गरेका निर्णय निर्देशनको कार्यान्वयनको अवस्थासम्बन्धी प्रतिवेदन एक महिनाभित्र तयार गरेर बुझाउन उपसमिति गठन गर्ने र बैठकका कामकारबाही प्रभावकारी बनाउन कार्यदल बनाउने निर्णय गरेको बताए।