आज वैशाख २९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे १२, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
इमरानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश
पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उनलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।
पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो । गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४ः३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५ः४० बजे उनलाई उपस्थित गराइएको थियो ।
पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उहाँलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।
खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधान न्यायाधीशले यस्तो टिप्पणी गरेका हुन् ।
इजलासमा पाकिस्तानका प्रधान न्यायाधीशका अतिरिक्त न्यायाधीश मोहम्मद अली मजहर र अताल मिनाल्लाह पनि छन् । एआरवाई न्यूजका अनुसार राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानको गिरफ्तारीलाई ‘वैध’ ठहर गर्ने इस्लामाबाद उच्च अदालत (आईएचसी) को निर्णयलाई चुनौती दिँदै पीटीआईले सर्वोच्च अदालतमा एक याचिका दायर गरेको थियो ।
खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।
इजरायली कारवाहीमा प्यालेस्टाइनी लडाकु कमाण्डरको मृत्यु
इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ ।
इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो । इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको छ ।
प्यालेस्टिनी मिलिसियाले पनि साढे चार सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ । इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ ।
बाख्मुतमा महत्वपूर्ण प्रगति गरेको युक्रेनी दाबी
युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुत शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाइँको केन्द्रबिन्दुको रूपमा रहेको छ।
शत्रुले जनशक्तिको ठूलो क्षति बेहोरेको छ। हाम्रा रक्षा बलहरू बखमुत नजिक दुई किलोमिटर (करिब एक माइल) अगाडि बढेका छन्। हामीले यस हप्ता बखमुतमा एउटा पनि स्थान गुमाउनु परेन’ उप रक्षामन्त्री गन्ना मल्यारले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।
ट्विटरको नेतृत्व महिलाले गर्ने
ट्विटरका प्रमुख कार्यकारी एलोन मस्कले एक जना महिलाले ट्विटरको नेतृत्व गर्ने बताएका छन् । यसका लागि एनबीसी युनिभर्सलमा ग्लोबल विज्ञापन र साझेदारीको अध्यक्ष लिन्डा याकारिनोलाई नियुक्त गर्न लागेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार नाम नछाप्ने शर्तमा एकजना अधकारीले यसको प्रक्रिया अगाडि बढेको बताएका छन् । उनका अनुसार याकारिनो र मस्कबीच यस विषयमा गत हप्तादेखि छलफल चलिरहेको छ।
गत महिना याकारिनोले मियामीमा एक विज्ञापन कार्यक्रममा मस्कसँग अन्तर्वार्ता लिएको समाचार सार्वजनिक भएको छ । यसअघि बिहीबार पनि मस्कले ट्वीटरका लागि प्रमुख कार्यकारी चयन गरेको तर परिचय भने नखुलाएको बताइएको छ ।
यस्तै वाल स्ट्रीट जर्नलले पनि याकारिनो मस्कसँग वार्तामा रहेको उल्लेख गरेको छ । गत वर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेका मस्कले फरक व्यक्तिलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गरेपनि कम्पनीमा बलियो पकड कायम राख्नेछन् ।
ट्विटरको मालिकको रूपमा उनले ७,५०० कर्मचारीमध्ये ७५ प्रतिशतभन्दा बढी हटाउने र अनेक किसिमका सेवा सुविधाहरू र रणनीति परिवर्तन गरेर यसमा आफ्नो पकड बलियो बनाएका थिए ।
निवर्तमान सीईओले भर्खरै ट्विटरमा अर्को अपडेट थप्ने घोषणा गरेका छन् जसले यसको प्रयोगकर्ताहरूलाई ईन्क्रिप्टेड सन्देश सेवामा प्रारम्भिक पहुँच गर्न अनुमति दिनेछ ।
अपडेट हाल प्रमाणित प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध छ । यसअघि मे ११ मा मस्कले इन्क्रिप्टेड मेसेजिङको प्रारम्भिक संस्करण सुरु भइरहेकोबारे अपडेट गर्दै ट्वीट सार्वजनिक गरिएको थियो ।
सुडानबाट दुई लाख मानिस पलायन
सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।
“सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल दुई लाख व्यक्ति विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका प्रवक्ता ओल्गा सारडोले जेनेभामा पत्रकारहरूलाई बताए ।
सुडानमा गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वका कारण थप सात लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ ।
सुडानमा ७५० भन्दा बढीको मृत्यु भएको र लाखौँ विस्थापित हुने गरी भएको द्वन्द्व सुरु भएको करिब एक महिनापछि बिहीबार साउदी अरबको जेद्दा शहरमा भएको वार्तामा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
वार्तामा उनीहरू युद्धविरामका लागि सहमत भएका छैनन्, तर उनीहरूले नागरिकहरूको रक्षा गर्ने कसम खाएका छन्, र गरिब देशमा सहायतालाई लक्षित गरी लुटपाट र आक्रमणपछि अति आवश्यक मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध भएका छन् ।
संयुक्त राष्ट्रसङ्घका सुडानका दूत भोल्कर पर्थेसले यो सम्झौता ‘पारस्परिक प्रतिबद्धता’ को प्रतीक भएकाले महत्वपूर्ण रहेको बताए ।
“मलाई लाग्छ यो पहिलो कदम हो र एक महत्वपूर्ण पहिलो कदम हो,” उनले पोर्ट सुडानबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भने । विशेष गरी दुवै पक्षले अमेरिका र साउदी मध्यस्थताअन्तर्गत ‘वार्ता जारी राख्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।
“युद्धविरामसम्बन्धी वार्ता आज वा भोलिबाट फेरि सुरु हुने अपेक्षा गरेका छौं,” उनले भने ।
यद्यपि तत्काल केही पनि परिवर्तन हुने देखिएन र दुई प्रतिद्वन्द्वी जनरलको फौजले शुक्रबार खार्तुममा फेरि गोली चलाएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले सुडानको राजधानीमा कुपोषणविरुद्ध लड्न उपचारात्मक खाना उत्पादन गर्ने कारखाना जलेर नष्ट भएको र १४ हजार ५०० बालबालिकाको जीवन रक्षक उपचार नष्ट भएको चेतावनी दिएको छ ।
युनिसेफका प्रवक्ता जेम्स एल्डरले जेनेभामा पत्रकारसँग भन्नुभयो, “यो द्वन्द्वले बालबालिकाको जीवनलाई विभिन्न माध्यमबाट कसरी खतरामा पार्छ भन्ने कुराको यो अहिलेसम्मको सबैभन्दा अध्यारो र विशिष्ट दृष्टान्त हो ।”
सार्राडोका अनुसार सुडानबाट भाग्नेमा बालबालिकाको सङ्ख्या पनि बढी छ ।
हालैका दिनहरूमा करिब ३० हजार शरणार्थीहरू चाड आइपुगेको र हालैका हप्ताहरूमा सुडानबाट आएका शरणार्थीहरूको सङ्ख्या ६० हजार पुगेको उनले बताए ।
“लगभग ९० प्रतिशत शरणार्थीहरू बालबालिका र महिलाहरू छन्, जसमा धेरै गर्भवती महिलाहरू पनि छन्,” उनले थपे ।
उनका अनुसार छ महिनादेखि पाँच वर्ष उमेर समूहका २० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ ।
मुलुकमा कुनै राजनीतिक कूको सम्भावना छैन : थाई सेना प्रमुख
थाइल्यान्डका सेना प्रमुखले मुलुकमा कुनै राजनीतिक कू को सम्भावना नभएको प्रष्ट पारेका छन् ।
सेनाले थाइल्यान्डमा दर्जनौं पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा पनि त्यस्तो नदोहोरिने वाचा गरेका थिए ।
मतदाताहरूले पूर्व सेना प्रमुख र विद्रोही नेता प्रधानमन्त्री प्रयुत चान-ओ-चाको सरकारको पराजय हुन सक्ने भविष्यवाणी गरिरहँदा सेना सत्तामा टाँसिने प्रयास गर्न सक्छ भन्ने डर भने आम जनतामा रहेको छ ।
तर नारोङपानले बिहीबार पत्रकार सम्मेलनमा विगतका विद्रोहहरू “धेरै नकारात्मक” भएको भन्दै सैन्य शासनमा फर्किने अवस्था नरहेको बताएका छन् । “त्यहाँ अब (कू) हुनु हुँदैन। मेरो लागि, यो शब्द शब्दकोशबाट मेटाइनुपर्छ,” उनले भनेका छन् ।
आइतबारको चुनाव पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३६ वर्षीया छोरीले नेतृत्व गरेको फेउ थाईको नेतृत्वमा रहेको विपक्षी र प्रयुतले मूर्त रूप लिएको पुरानो रूढिवादी शाहीवादी-सैन्य शक्तिबीचको भीडन्तको रूपमा हेरिएको छ ।
फेउ थाई चुनावमा अगाडि देखिएको छ र तल्लो सदनमा धेरै सिट जित्दा पनि सत्ता हात पार्ने कुनै निश्चितता भने छैन । प्रधानमन्त्रीलाई ५०० निर्वाचित सांसद र २५० सिनेटले छनोट गर्नेछन् – जसका सदस्यहरू सेनाको पक्षमा रहेका र प्रयुतको हुन्टाले नियुक्त गरेका थिए ।
फेउ थाईको मुख्य विपक्षी प्रतिद्वन्द्वी मुभ फर्वार्ड पार्टीले भने पुरानो राजनीतिक प्रणालीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्ने युवा समूहको को व्यापक समर्थन पाएको छ ।
यता ६९ वर्षीय प्रयुतले देशको यो जटिल कालखण्डमा राज्य सञ्चालनका निम्ति अनुभव भएका व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।













प्रतिक्रिया