जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने अमेरिकाको तयारी « Khabarhub

जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने अमेरिकाको तयारी


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पेरिस- संयुक्त राज्य अमेरिका यस वर्षको जुलाईदेखि राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको उक्त निकायले सोमबार घोषणा गरेको छ । अमेरिकाले यसअघि सन् २०१८ मा युनेस्कोको सदस्यता समाप्त गरेको थियो । “यो युनेस्को र बहुपक्षीयताप्रतिको विश्वासको बलियो कार्य हो,” युनेस्कोका महानिर्देशक अड्रे अजोलेले पेरिसमा सङ्गठनका सदस्य राष्ट्रका प्रतिनिधिलाई उक्त निकायमा पुनः सामेल हुने अमेरिकाको निर्णयबारे जानकारी दिँदै भनिन् ।

युनेस्कोको संस्थापक सदस्य अमेरिकाले यस निकायले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गर्दासम्म अर्थात् सन् २०११ सम्म युनेस्कोको बजेटमा प्रमुख योगदान गरेको थियो । तर, प्यालेस्टाइनलाई सदस्य राष्ट्रका रूपमा स्वीकार गरेपछि अमेरिकाको उक्त निकायसँगको विवाद शुरू भएको थियो ।

सन् २०१७ मा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँगै युनेस्कोबाट अमेरिका पनि बाहिरिने घोषणा गरेका थिए । यसको बहिर्गमन सन् २०१८ मा लागू भएको थियो । सन् २०१७ देखि युनेस्कोको नेतृत्व गर्दै आएकी फ्रान्सकी पूर्व संस्कृतिमन्त्री अजोलेले अमेरिकालाई फिर्ता ल्याउनु आफ्नो म्यान्डेटको प्राथमिकतामा राखेकी थिइन् । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माले एएफपीलाई लेखेको पत्रमा ‘राजनीतिकरणको बहसमा ध्यान कम गर्ने’ लगायत ‘महत्वपूर्ण मुद्दा’ मा प्रगति गरेकोमा अमेरिका अजोलेप्रति कृतज्ञ रहेको बताएका छन् ।

सन् २०११ मा युनेस्कोको योगदान स्थगन हुनुअघिसम्म अमेरिकाले युनेस्कोको कुल बजेटको करिब २२ प्रतिशत अर्थात् सात करोड ५० लाख अमेरिकी डलर प्रदान गर्दै आएको थियो । तर, तत्कालीन राष्ट्रपति जो बाइडनको डेमोक्र्याटिक पार्टीको पूर्ण नियन्त्रण रहेको अमेरिकी कंग्रेसले डिसेम्बरमा संयुक्त राज्य अमेरिकालाई १५ करोड अमेरिकी डलर बजेटमा छुट्याएर आर्थिक सहायता पुनः स्थापना गर्न मार्ग प्रशस्त गरेको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत मार्चमा युनेस्कोबाट अमेरिका अनुपस्थित हुनुले चीनलाई आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नियम लेख्न मद्दत पुगेको बताएका थिए । “हामी युनेस्कोमा फर्कनुपर्छ भन्ने मेरो दृढ विश्वास छ । युनेस्कोमा भइरहेका कुराहरू वास्तवमा महत्त्वपूर्ण छन्,” ब्लिन्केनले बजेट प्रस्तुत गर्दा सिनेटको एक समितिलाई भनेका थिए । “उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि नियम, मापदण्ड र मापदण्डमा काम गरिरहेका छन् । हामी त्यहाँ बस्न चाहन्छौं,” उनले भने ।

अमेरिकाले यसअघि सन् १९८४ मा पनि युनेस्कोको सदस्यता स्थगन गरेको थियो र करिब २० वर्षपछि सन् २००३ को अक्टोबरमा युनेस्कोमा पुनः सामेल भएको थियो । सन् २०२३ मा पुनः सामेल हुने प्रस्तावित योजना अब अन्तिम स्वीकृतिका लागि युनेस्कोका सदस्य राष्ट्रहरूको महासभामा पेश गर्नुपर्नेछ । केही सदस्य राष्ट्रहरू निर्णय गर्न चाँडै असाधारण अधिवेशन होस् भन्ने चाहन्छन् ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : ५३ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा