विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज साउन २७, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पाकिस्तानमा कामचलाउ प्रधानमन्त्रीका रुपमा सिनेटर अनवार उल हक काकर नियुक्त

 पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।

राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४अनुसार काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न उक्त स्वीकृति प्रदान गरेका हुन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले नेशनल एसेम्बली वा संसदको तल्लो सदनका विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि यससम्बन्धी सारांश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काकर मार्च २०१८ देखि पाकिस्तानीे सिनेटका सदस्य रहँदै आएका छन् । उनी सन् २०१८ को पाकिस्तानी सिनेट चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा पाकिस्तानको सिनेटमा निर्वाचित भएका थिए ।

स्कटल्याण्डको एक विद्यालय जहाँ पढ्छन १४८ जुम्ल्याहा
जुम्ल्याहा बच्चाको जन्मदरका लागि स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा रहेको मानिन्छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने त्यहाँ धेरै जुम्ल्याहा बच्चा जन्मिन्छन् । त्यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा बालबालिकाले सँगै विद्यालय पढ्न थालेका छन् ।

समाचार एजेन्सी पीएका अनुसार यस वर्ष इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयमा १७ जुम्ल्याहा भर्ना भएका छन् ।

स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्रका प्राथमिक विद्यालयहरूमा १४८ भन्दा बढी जुम्ल्याहाहरू पढिरहेका छन् । यसपछि अब थप १७ जुम्ल्याहाले भर्ना लिएका छन् । जसका कारण इन्भरक्लाइड क्षेत्रमा जुम्ल्याहाको संख्या बढेको छ । इन्भरक्लाइड यस वर्ष जुम्ल्याहा प्रवेशको दोस्रो उच्च दर रेकर्ड गरेको छ ।

भर्नाको पहिलो दिन १५ जुम्ल्याहा बच्चाहरूले ड्रेस रिहर्सलको लागि ग्रीनकको सेन्ट प्याट्रिक प्राइमरीमा भाग लिएका थिए । सेन्ट प्याट्रिक स्कूल र अर्डगोवन प्राइमरी स्कूल सबैभन्दा ठूलो संख्यामा जुम्ल्याहा जोडीहरूलाई स्वागत गर्न तयार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यी प्रत्येक विद्यालयमा तीन जुम्ल्याहा बच्चाहरू पी वान कक्षाहरूमा सामेल हुनेछन् ।

प्रोभोस्ट ग्रीम ब्रुक्सले भने, ‘यो इनवरक्लाइडको लागि आफ्नो जुम्ल्याहालाई प्राथमिक कक्षामा स्वागत गर्ने वार्षिक परम्परा भएको छ ।’ आगामी साताबाट नयाँ सिजन सुरु हुनेमा उत्साहित रहेको उनले सुनाए । ‘यहाँ विद्यार्थीहरूलाई पोशाकमा हेर्न पाउनु साँच्चिकै राम्रो अनुभव हो । यो भन्दा राम्रो के हुन सक्छ रु’ उनले भने, ‘हामी भाग्यमानी छौं कि हामीसँग इन्भरक्लाइडमा धेरै स्कूलहरू छन् जहाँ जुम्ल्याहाहरू उपस्थित हुन्छन् ।’

केरला राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव विधान सभामा पेस

केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहीरहेको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधान सभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेस गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिवर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए ।

सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेस गरिएको छ, केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौँ अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु।’

मुख्यमन्त्रीले भने, ‘हाम्रो राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध छ। यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछु, यो सदनले हाम्रो राज्यलाई संविधानको आठौँ अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछु’।

आम आदमी पार्टीका राज्यसभा सदस्य चड्डा निलम्बित

भारतको आम आदमी पार्टीका राज्यसभा सदस्य राघव चड्डा पनि निलम्बित भएका छन् । सांसदको हस्ताक्षर किर्ते गरेको आरोपमा सांसद चड्डालाई राज्यसभाबाट निलम्बित गरिएको हो ।

विशेषाधिकार समितिको प्रतिवेदन नआउन्जेलसम्मका लागि उनी निलम्बित रहने भारतीय मिडियाहरूले जनाएका छन् ।

यसअघि आम आदमी पार्टीकै सांसद सञ्जय सिंहलाई पनि राज्यसभाबाट निलम्बित गरिएको थियो ।

अमेरिकी जङ्गलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ६७ पुग्यो

अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । आगलागीबाट सबैभन्दा बढी हवाईको माउ काउन्टी क्षेत्रमा धेरैको मृत्यु भएको हो ।

धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताएका छन् । हवाईका गभर्नरले भनेका छन् कि मृत्युहरू खुला ठाउँमा भएको हो र भवनहरू भित्र होइन। मृतकको संख्या अझै बढ्न सक्ने उनको भनाइ छ ।

हवाई प्रशासनले आगलागीको अनुसन्धान र सर्वेक्षण गर्न आदेश दिएको छ। चेतावनीको साइरन किन बजेनन् भन्ने पनि छानबिन हुनेछ, जसका कारण बासिन्दा सचेत हुन सकेका छैनन् । गत हप्ताको सुरुमा हवाईमा आगलागी भएको थियो, जुन अनियन्त्रित अवस्थामा पुगेको थियो ।

हवाईका गभर्नर जोस ग्रीनले लाहाइना नजिकैको आगो पहिले निभाइएको र त्यसपछि दमकल विभागले अन्य क्षेत्रमा ध्यानाकर्षण गराए पनि पछि आगोले लाहाइना सहरलाई ध्वस्त पारेको बताए।

आगलागीका कारण दूरसञ्चार प्रणालीमा क्षति पुगेको गभर्नरले जनाएका छन्, जसका कारण मानिसले एकअर्कालाई सचेत गराउन पनि सकेनन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार हवाईका गभर्नर जोस ग्रीनसँग कुरा गरेका छन्। उक्त कुराकानीमा गभर्नरले राष्ट्रपतिलाई अवस्थाबारे जानकारी दिँदै सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए ।

अमेरिकी सरकारले हवाईमा भएको आगलागीबाट प्रभावितलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी सरकारले हवाईमा घरहरू पुनर्निर्माण र मर्मत गर्नेछ र मानिसहरूलाई किफायती ब्याज दरमा ऋण पनि उपलब्ध गराइनेछ।

सिरियामा आइएसको आक्रमणमा २० सैनिकको मृत्यु

सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू सवार बसमा आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा २० जना सैनिकको मृत्यु भएको बताइएको छ । घटनामा घाइते भएका छन् ।

आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ। सिरियाका केही भागहरूमा आईएस स्लिपर सेलहरूले सन् २०१९ मा पराजित भए पनि अझै पनि घातक आक्रमणहरू गरिरहेका छन्।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी सहर मायादिन नजिकैको मरुभूमि सडकमा भएको आक्रमणमा २३ सिरियाली सैनिकको मृत्यु भएको र १० जना घाइते भएको बताएको छ ।

यस आक्रमणमा सिरियाली सेना वा सरकारबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु

टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् ।

आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ ड्रोन हमला हो।

चिनियाँ जेलमा रहेकी अष्ट्रेलियाली महिला पत्रकार भन्छिन्– ‘एक वर्षमा १० घन्टा मात्रै घाम देखेँ’

जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनको जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन् ।

चेङ लेईले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी छन् । महिला पत्रकारका अनुसार उनलाई वर्षमा १० घण्टा मात्र घाममा उभिन दिइन्छ । लेईले जेलबाट आफ्ना पार्टनर निक कोललाई पत्र लेखेकी छन्, जसको नाम उनले प्रेम पत्र राखेकी छन् ।

४८ वर्षीय चेङलाई सन् २०२० को अगस्टमा चीनको गोप्य कुरा अर्को देशसँग बाँडेको आरोपमा पक्राउ गरिएको थियो । चेङ त्यतिबेला चिनियाँ सरकारी टेलिभिजनका लागि व्यावसायिक टेलिभिजन एङ्करको रूपमा काम गर्दै थिइन् ।

पक्राउपछि उनको यो पहिलो सार्वजनिक बयान हो । आफ्नो पत्रमा महिला पत्रकारले लेखेकी छिन्, ‘मेरो कोठरीको झ्यालबाट सूर्यको किरण आउँछ तर म वर्षमा १० घण्टा मात्र घाममा उभिन सक्छु ।’

उनले आफ्नो चिठ्ठीमा लेखेकी छन्, ‘विगत तीन वर्षदेखि मैले एउटा रुख पनि देखेको छैन । म नदी, ताल, समुद्री तट र पिकनिक स्थल मिस गर्छु। म मेरा बच्चाहरूलाई धेरै मिस गर्छु। उनको सन्देश हालै चेङका पार्टनर निक कोलले अस्ट्रेलियाली समाचार आउटलेटहरू र सोसल मिडिया प्लेटफर्महरूमा साझा गरेका थिए।

चीन र अष्ट्रेलियाबीच तनाव बढ्दै गएको बेला चेङलाई हिरासतमा लिइएको थियो । अष्ट्रेलिया सरकारले पनि उनको हिरासतका बारेमा बारम्बार चिन्ता व्यक्त गरेको छ। तर, चेङको मुद्दामा अहिलेसम्म कुनै निर्णय आएको छैन । योसँगै चीनले पत्रकारको कथित अपराधको कुनै विवरण सार्वजनिक गरेको छैन।

चेङ लेईको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि अष्ट्रेलियाका विदेशमन्त्री पेनी वङले भने, ‘सम्पूर्ण देश चेङलाई ‘आफ्ना बच्चाहरूसँग पुनर्मिलन भएको’ हेर्न चाहन्छ।’ उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाले लगातार चेङको वकालत गरेको बताए । साथै, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मानव व्यवहारको आधारभूत मापदण्ड पूरा गर्न चीनलाई दबाब दिइएको जनाएका छन् ।

युक्रेनले गर्‍यो सैन्य अधिकारीहरूलाई बर्खास्त

युद्धको बीचमा कुनै देशका सैन्य अधिकारीहरूलाई हटाउने घटनाहरू विरलै देख्न सकिन्छ। यदि यस्तो भयो भने त्यसको पछाडि केही ठोस कारण हुनुपर्छ ।

यस्तै घटना अहिले युक्रेनमा देखिएको छ, जहाँ राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्ना सबै सैन्य अधिकारीहरूलाई बर्खास्त गरेका छन्।समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भ्रष्टाचारको आरोप लगाउँदै देशको बिभिन्न क्षेत्रबाट सैन्य भर्ती गर्ने अधिकारीहरूलाई बर्खास्त गरेका छन्।

उनले युद्धकालमा भ्रष्टाचार गर्नु देशद्रोह बराबर भएकोसमेत बताए । युक्रेनमा भ्रष्टाचार व्याप्त छ । युद्धअघि पनि भ्रष्टाचार जस्ता समस्याको सामना गर्नु परेको थियो । यो पटक सेनामा पनि देखिएको छ ।सो विषयलाई लिएर जेलेन्स्कीले वरिष्ठ सैन्य अधिकारीहरूसँग बैठक गरेका थिए । यसपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी सबै स्थानीय सैन्य आयुक्तहरूलाई हटाइरहेका छौँ। यो प्रणाली युद्ध के हो र किन संदिग्धता र घुसखोरीलाई युद्धको समयमा देशद्रोह मानिन्छ भन्ने थाहा भएका मानिसहरूले चलाउनु पर्छ।’ युक्रेनले गत वर्ष फेब्रुअरीदेखि रुससँग युद्ध गरिरहेको छ ।

रुससँग चलिरहेको युद्धमा लड्न युक्रेनका विभिन्न भागबाट युवाहरू भर्ना भइरहेका थिए । जसलाई अहिले भ्रष्टाचारको आरोपमा जागिरबाट हटाइएको छ, उनीहरूको काम युक्रेनको सेनामा विभिन्न क्षेत्रका युवाहरूलाई भर्ना गर्ने थियो । युक्रेनले भर्ना प्रक्रियामा भइरहेको भ्रष्टाचार रोक्नु पर्छ भन्ने पश्चिमी देश र युरोपेली संघजस्ता संस्थाबाट निरन्तर माग भइरहेको थियो ।

युक्रेनी सरकारले सैन्य अधिकारीहरूलाई बर्खास्त गर्नु यस एपिसोडको सुरुवात मात्र हो। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सैनिक अधिकृतहरूले नियुक्तिमा भ्रष्टाचार गरेकोले देशको राष्ट्रिय सुरक्षामा ठूलो खतरा रहेको उल्लेख गरिएको छ । जसका कारण देशका संस्थाहरूको विश्वसनीयतामा असर परेको छ । अब सेना प्रमुखले सैन्य भर्ती प्रक्रिया पूरा गर्न अधिकारी छनोट गर्नेछन्।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : ५९ बजे

अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप तीन दिन बन्द

बर्दिया– बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप

नेपालले कोलोम्बो प्लान अन्तर्गत सहयोग बढाउने

काठमाडौं– कोलोम्बो प्लानको कन्सल्टेटिम कमिटीको ४८औँ बैठक मंगोलियाको उलानबाटोरमा सम्पन्न

सबैभन्दा टाढाको आकाशगंगा फेला परेको नासाको दावी

काठमाडौं– नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले

सेनाद्वारा वृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन

रौतहट– तीन हजार बिरामीको लक्ष्यसहित रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाले

गृहमन्त्रीजी ! राजनीतिक दरार बढाएर अव्यवस्था किन ?

देशको कानून कार्यान्वयन गराउने मुखिया गृहमन्त्री जी ! सहकारी छानबिनमा