तीज : मौलिकताभन्दा विकृति धेरै « Khabarhub

तीज : मौलिकताभन्दा विकृति धेरै


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– महिलाको महान चाड तीजको मौलिकतामा हिजोआज विकृति बढ्न थालेको पाइन्छ । विगतमा यस पर्वका अवसरमा चेलिबेटी माइत आउने मिठोमसिनो परिकार खाने, व्रत बस्ने, रातो, हरियो, पहेँलो रङ्गका कपडा तथा चुरा, पोते लगाउने, नाचगान गर्ने र गीतको माध्यमबाट मनको बह पोख्ने गरिन्थ्यो तर अहिले तीजको मौलिकता हराउँदै गएको छ ।

तीज नजिकिएसँगै बागलुङका बजारदेखि गाउँसम्ममा यसको रौनक बढेको छ । तीज आउन १५ दिन बाँकी छँदै यहाँ दर खाने र नाचगानका कार्यक्रम दिनदिनै भइरहेका छन् । हिजोआज तीज भड्किलो हुनाका साथै पश्चिमेली शैली पनि मिसिन थालेको बुढापाकाको  गुनासो छ । बागलुङकी ७३ वर्षीय तेजदेवी सापकोटालाई अहिलेको तीज मनै पर्दैन ।

तीजलाई परम्परागत र मौलिक रूपमा मनाउन छोडेर विदेशी संस्कारलाई अँगाल्दा  स्थानीय संस्कार, संस्कृति र परम्परा मेटिन थालेकामा उहाँमा चिन्ता छाएको छ । पहिले तीज आउनुभन्दा एक साता अगाडिदेखि गाउँमा नाचगान गरिन्थ्यो तर  अहिले एक महिना अगाडिदेखि दर खाने र त्यसमा पनि मदिराका साथै महँगा परिकार खान गरिएको सापकोटाको गुनासो छ ।

‘उतिबेला तीजमा टाढाटाढा भएका दिदीबहिनीसँग भेट हुन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर गीत आउने गर्थ्यौँ, घरमा पाएको दुःखसुखका कुरा तीजका गीतमा समेटेर गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि जीवनमा भएका घटनाका आधारित हुन्थ्यो,’ उनले भने, ‘अहिले त त्यस्ता गीत गाउनै छोडे, मादल, डम्फु र मुजुरा बज्नै छोडे, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही माया प्रेमका बाहेक अरु छैनन्, हामीले त दर भनेर केरा, दही मिसाएर खान्थ्यौँ, अहिले ठूलो–ठूलो होटलमा बसेर रक्सी खान्छन्, यस्तो चलनले हाम्रो संस्कृति नै मास्यो ।’

स्थानीयवासी तिलकुमारी खत्रीले परम्परादेखि धार्मिक शास्त्रअनुसार पतिको सु–स्वास्थ्य, दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गरिएकामा अहिले त्यो चलन हराउँदै गएको बताउँछिन्।

संस्कृतिका नाममा हुने छाडा गतिविधिले चाडपर्वको महत्वलाइ नै विकृत बनाइदिएको उनको भनाइ छ । महिलाको मनमा गुम्सिएका दुःख, वेदना पोख्ने मात्र नभइ, वर्षभरको दुःख भुलेर नयाँ ढंगले जीवन बाँच्न प्रेरित गर्ने गरी मनाउनुपर्नेमा खत्री जोड दिइन् ।

‘हाम्रा चाडपर्वलाई मौलिक रूपमै मनाउनुपर्छ, हामीहरूले विदेशीको नक्कल गर्ने होइन तर विदेशीलाई हाम्रो संस्कार संस्कृतिको नक्कल गर्न सिकाउनुपर्छ, पहिले–पहिले पतिको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन थियो, अहिले यो हराउँदै गएको छ, दरका नाममा दारु खाने, खर्चिलो र भड्किलो रूपमा मनाउने कुराले संस्कृतिलाई बदनाम गराउँदै गएको छ,’ उनले भनिन्, ‘अहिले त दिनदिनै दर खाने कार्यक्रम हुन्छ, दिनदिनै नयाँ कपडा लगाउनु पर्नेहुँदा हुने खानेले त लगाउलान्, खालान्, तर हुँदा खानेलाई कस्तो असर परेको होला ?’

बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी गाउँमाभन्दा सहरी क्षेत्रमा तीज भड्किलो बन्दै गएको छ भने । बुढापाकाले अहिले पनि पुरानै शैलीमा चाडपर्व मनाउने गरे पनि युवा पुस्ताले आधुनिकता अँगाल्दा तीज पर्वको मौलिकता हराउँदै गएको बताउँछन् । प्रविधिको बढ्दो प्रयोग र पश्चिमा संस्कृतिको अनुकरणले तीजलगायत चाडपर्व भड्किलो बनेको र अहिले बजारमा आएका गीत पनि परिवारसँग बसेर सुन्न र हेर्न नमिल्ने खालका हुन थालेको उनको भनाइ छ ।

‘चाडपर्व आफूसँग जे छ, त्यसैमा रमाउन जान्नुपर्छ, अरुको देखासिकीले क्षणिक रमाइलो त होला तर त्यसको असर धेरै लामो समय पर्नसक्छ, तीजको रमझम त जताततै छ, तर सहरमा बढी विकृति भयो भन्ने गुनासो आउँछ, यो साँचो हो, तर गाउँमा अहिले पनि दिदीबहिनी मादल बजार मौलिक गीत गाउनुहुन्छ,’ अध्यक्ष अधिकारीले भने,  ‘हाम्रा पुराना संस्कार, संस्कृतिलाई युवापुस्ताले ग्रहण गरेर पुरानै शैलीमा मनाउने हो भने युगौँसम्म संस्कृति जीवित रहन्छ, यही हिसाबले गयो भने त भावी पुस्ताले तीज वर्षको महत्त्व र इतिहास नै थाहा पाउने छैनन् ।’

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : ४५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये