स्व. नेम्वाङ नेपाली राजनीतिका मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेता | Khabarhub Khabarhub

स्व. नेम्वाङ नेपाली राजनीतिका मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेता


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हृदयघातका कारण आज बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएका संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिन एमालेको पार्टी कार्यालय, च्यासलमा पुगेका विशिष्ट व्यक्ति, राजनीतिक नेता र आम कार्यकर्ताले उनको अप्रत्याशित निधन  भएकामा दुःख व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा खेलेको भूमिकाको स्मरण गर्न भुलेका छैनन् । श्रद्धाञ्जली दिन आउनेको लाइन र घुइँचो देख्दा लाग्छ, नेम्वाङ कुनै एक पार्टीको मात्र नभइ मुलुककै साझा नेता थिए ।

मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प श्रद्धाञ्जली र समवेदाना दिन आउनेमा प्रकट भएको देखिन्थ्यो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी श्रद्धाञ्जलि दिएर च्यासलबाट फर्कँदै गर्दा आँशु झार्दै निस्कइन् । श्रञ्द्धाजली दिँदै गर्दा एमालेका अनुशासन आयोगका अध्यक्ष केशव बडालले आँशु थाम्न सकेनन् । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, एमाले नेता एवं पूर्वमन्त्री वसन्त नेम्वाङ र उनकी श्रीमती भूमिका सुब्बा धरधरी रुँदै पार्थिव शरीर राखिएको सभाहलबाट बाहिर निस्किए ।

यस्ता दृष्य आज बिहान शिक्षण अस्पताल र दिउँसो एमाले पार्टी कार्यालयमा देखिने क्रम रोकिएका छैनन । नेम्वाङको योगदान र उनको व्यक्तित्व कस्तो थियो भन्ने आँकलन गर्न उनलाई श्रद्धाञ्जलि दिएर एमालेको पार्टी कार्यालयबाट निस्कँदै गर्दा विशिष्ट व्यक्ति, नेतागत र कार्यकर्ताको आँखा रसाएबाट पनि झल्किएको बुझ्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत शीर्ष नेताले पार्टीको सचिवालय बैठकपछि सामूहिक रुपमा गहिरो मनका साथ माला र फूल चढाएर भावपूर्ण श्रद्धाञ्जली दिए । श्रद्धाञ्जलि दिएपछि एमालेका शीर्ष नेता विश्राम गरेको स्थलमा विशिष्ट व्यक्ति र अन्य पार्टीका नेता पुग्ने र समवेदना आदानप्रदान गर्ने क्रम जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, मन्त्रिपरिरषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षामान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताद्वय  पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वामपन्थी नेताहरु सिद्धिलाल सिंह, सिपी गजुरेललगायत श्रद्धाञ्जलीका लागि च्यासल पुगेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट कानुनी सल्लाहकार बाबुराम कुँवर, प्रेस सल्लाहकार किरण पोखरेल र छोरी अवज्ञा पौडेलले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिई एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट गरेका थिए । एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पहिलो संविधानसभा असफल भएपछिको दोस्रो संविधानसभामा पनि नेम्वाङ अध्यक्ष नभएको भए संविधान जारी हुन कठिन हुने टिप्पणी गर्छन् ।

पोखरेलले भने, ‘‘नेम्वाङको कुशल नेतृत्व, हिम्मत र दृढताका कारण संविधान जारी हुन सफल भएको हो ।’’ पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएपछि आफ्ना स्मरण सञ्चारकर्मीमाझ पस्कँदै भने, ‘‘दुई दुई पटक संविधानसभाका अध्यक्ष भइसकेका नेता नेम्वाङको निधनबाट नेपाली राजनीतिमा अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएका छौँ ।’’

उनले नेम्वाङलाई आफूले राजनीतिक नेता र संवैधानिक ज्ञातामात्र नभइ एक बहुआयामिक व्यक्तिका रुपमा बुझ्ने बताए । नेपाली कांग्रेसका नेता एवं सांसद् प्रदीप पौडेलले नेम्वाङ पार्टीगत गुटबन्दी र प्रभावबाटमुक्त रहेको उल्लेख गर्दै भने, ‘‘उहाँ विधिको शासनका पक्षधर र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’’ गत महिना सुन तस्करीको घटनामाथि उच्चस्तरीय छानबिनका लागि उनकै पार्टीले लगातार सङ्घीय संसद्का बैठक अवरोध गरिरहेका बेला नेम्वाङले यसरी सदन अवरोध गर्ने विषय नियमावलीविरुद्ध भएको सार्वजनिक प्रतिक्रिया दिएपछि उनको साझा व्यक्तित्व झन् उजेलिएको थियो । त्यसको केही दिनपछि प्रमुख दलबीच उक्त विषयमा सहमति भई सदन खुलाउने संयोग पनि बनेको थियो ।

नेम्वाङसँग लामो राजनीतिक सहकार्य गरेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाममा नेम्वाङ र आफूबीच एकै पार्टीमा रहँदा एकले अर्काको निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि भाषण गर्न हिँडेको कुरा सबैभन्दा बढी स्मरणीय रहने बताए । एमाले सचिव गोकर्णराज विष्टले एक अर्काविरुद्ध आरोप नलगाइकन आफ्ना कुरा निर्धक्क राख्न सक्ने र गाली राजनीतिबाट अलग रहेका कमै नेतामध्ये नेम्वाङलाई स्मरण गरे ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले नेम्वाङ एमालेका मात्र नभइ साझा नेता भएकाले मुलुककै लागि अपुरणीय क्षति भएको बताए । सोही पार्टीका सांसद् सूर्य थापाले नयाँ पिँढीलाई राजनीतिमा सधैँ प्रोत्साहन गर्ने नेताका रुपमा नेम्वाङलाई सम्झिए भने स्वतन्त्र सांसद् डा अमरेशकुमार सिंह नेम्वाङको निधनबाट निष्ठाको राजनीतिमा लामो समय उनको अभाव खड्किने उल्लेख गरे । एमाले केन्द्रीय कार्यालयले श्रद्धाञ्जली र अन्त्येष्टि कार्यक्रमको विवरणबारे आज साँझ सूचना प्रकाशन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ४ : ५२ बजे

अग्रजहरूको अनुभव नयाँ पिँढीलाई आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वसांसदहरुको अनुभव र क्षमता नयाँ

राजनीतिक दलबीच भएको छलफललाई सत्तासँगमात्रै जोडेर नहेरौँ : सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको

मेयर-वडाअध्यक्ष टकराव : अन्योलमा काठमाडौंको नीति तथा कार्यक्रम र बजेट

काठमाडौं–काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा

वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

खजुरा– वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको