नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त « Khabarhub

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति मात्रै ४१ दशमलव १७ प्रतिशत पुगेको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ गते शिलान्यास गरिएको सडकको पटकपटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।

गत २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि एक वर्षको समय पाएको निर्माण कम्पनीले थपिएको म्याद सकिँदा आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो ।

थपिएको एक वर्षमा पनि आयोजनाले अपेक्षित गति लिन नसकेको टिप्पणी भइरहेको छ । म्याद थपिएको एक वर्ष समय सकिँदासम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपिएको समयमा पनि काम नसकिएपछि २०८० भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ ।

गत भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा तीन प्रतिशत काम सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताए ।

‘पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक पाँच सय ९५ जना ले अहिले काम गरिरहेका  छन् भने १३ वटा स्काभेटर, सात  ग्रेडर, ११ वटा लोडर, चार वटा क्रेन २८ टिपर, १० पानी बोक्ने ट्याङ्की तथा पाँच कङ्क्रिट बोक्ने गाडीले नियमित काम गरिरहेका छन्’, उनले भने, ‘थप गरिएको समयमा काम सम्पन्न गर्ने गरी निर्माणलाई अगाडि बढाइएको छ ।’

आयोजनाले सडक कालोपत्रे गर्ने कामलाई समेत निरन्तरता दिएको आयोजना व्यवस्थापक झाले बताए । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डमा १६ किमि बाटो कालोपत्रे गरिएको छ ।

पूर्वी खण्डमा भएका साना पुलको काम सकिनुका साथै १२  ठूला पुलमध्ये ११ को सब स्ट्रक्चरको काम सकिएको सडक आयोजनाको पूर्वी खण्ड हेर्ने कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर धीरज ढकाले बताए । ‘पूर्वी खण्डमा ५० प्रतिशतको हाराहारीमा बिजुलीको पोल सार्ने काम सकिएको छ’, उनले भने, ‘बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न समस्या हुने गरेकाले बिदाको दिन मात्रै बिजुलीको पोल सार्ने गर्नुपरेकाले काममा ढिलाइ भएको छ ।’

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ ।

सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार सुरु गरिएको हो ।

लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते बुटवल नारायणगढ सडक खण्ड विस्तार आयोजनाको काम अगाडि बढेको थियो ।  

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ७ : ४२ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल