देश/प्रदेश

एमालेको मधेश प्रदेशमा नेतृत्वका लागि चारजना आकांक्षी

By खबरहब

October 12, 2023

धनुषा– नेकपा एमालेको प्रथम मधेश प्रदेश अधिवेशनमा नेतृत्वका लागि चारजनाले आकांक्षा देखाएका छन् ।

हिजो जनकपुरधाममा सुरु भएको अधिवेशनमा सर्लाहीका राजनारायण साह, सिरहाका चन्देश्वर मण्डल, बिचारी यादव तथा धनुषाका राजकिशोर यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका हुन् ।

वर्तमान प्रदेश अध्यक्ष रामअवतार यादव सिराहा, सुखीपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकाले उनी अध्यक्षमा दोहोरिन नपाउने पार्टीको निर्णयअनुसार अन्य नेता प्रतिस्पर्धामा उत्रिएका हुन् ।

उद्घाटनसत्र पश्चात् जारी बन्द सत्रमा प्रदेशको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको पार्टीका  केन्द्रीय सचिव तथा मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए ।

त्यसैगरी सचिवका लागि सोमप्रसाद शर्मा, लक्ष्मीनारायण यादव र आरती भण्डारी आकांक्षी छन् । प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माका अनुसार गएराति अबेरसम्म सहमतिमा नै नेतृत्व चयन गर्न छलफल भएको र अहिले पनि छलफल जारी रहेको छ । 

छलफलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, मधेश इन्चार्ज योगेश भटृराई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लीलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोलगायत पोलिटब्युरो सदस्य सहभागी छन् ।

सचिव भट्टराईले मधेस प्रदेशको नेतृत्वका लागि चार नेता आकांक्षी देखिए पनि सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा भइरहेको र पार्टीमा तलदेखि माथिसम्म सबै एक ढिक्का रहेको सन्देश दिने उद्देश्यका साथ सर्वसम्मत गराउने प्रयास भइरहेको बताए । सहमति नभए लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने उनको भनाइ छ । 

अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ३५ जना निर्वाचित हुने छन् । प्रदेश कमिटीमा एक तिहाइ महिला अनिवार्य गरिएकामा दलित, महिला, मुस्लिम, मजदुर, जनजाति र खुला भूगोलबाट प्रतिनिधित्व गरिने भएको छ ।

अधिवेशनमा प्रदेशका आठ जिल्लामा चार–चारवटा निर्वाचन क्षेत्रबाट २० सदस्य र सङ्गठनको आधारमा पाँचदेखि १० जना थप गरी अधिवेशनका लागि खुला तथा विभिन्न क्लस्टरबाट एक हजार २७ प्रतिनिधि सहभागी छन् ।