विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी

चीनले बेलायतलाई ताइवानसँग सम्बन्ध विस्तार नगर्न चेतावनी दिएको छ । लण्डनस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चेतावनी दिएको हो ।

बेलायत र ताइवानबीच विस्तृत व्यापारिक साझेदारीमा हस्ताक्षर गरेपछि चीनले यस्तो चेतावनी जारी गरेको हो । त्यसैगरी हालै बेलायती व्यापारमन्त्री नाइजल हडलस्टनसन र ताइवानी उपअर्थमन्त्री चेन चेर्न–चीबीच लण्डनमा वार्तासमेत भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लण्डनस्थित चिनियाँ दूतावासले चीनसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकलाई ‘चीनको ताइवान क्षेत्र’ सँग कुनै प्रकारको औपचारिक सम्पर्क स्थापना नगर्न आग्रह गरेको छ । दूतावासले भनेको छ– ‘हामी संयुक्त अधिराज्यलाई एक चीन नीतिमा कायम रहन र व्यापारिक साझेदारीका नाममा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्न आग्रह गर्दछौँ ।’

ताइवान र बेलायतबीच कार्यगत स्तरमा सम्बन्ध रहेपनि औपचारिक रुपमा बेलायतले ताइवानलाई आधारिक रुपमा मान्यता दिएको छैन ।

गत वर्ष बेलायतले ताइवानलाई उल्लेखनीय स्तरमा पनडुब्बीका पार्टपुर्जा तथा प्रविधिको व्यापक निर्यातलाई स्वीकृति दिएको थियो । रोयटर्सले जनाएअनुसार पछिल्लो समय ताइवानले नौसैनिक शक्तिलाई विस्तार गर्नका लागि पनडुब्बीको विकासमा ध्यान केन्द्रित गरिरहेको छ ।

भारतीय सेनाद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास

भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ । भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन् ।

‘पूर्वी आकाश’ नाम दिइएको यो सैन्य अभ्यास इस्टर्न एयर कमाण्ड (ईएसी) ले ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यस अभ्यासले इस्टर्न एयर कमाण्डको सैन्य तयारी क्षमतालाई दर्शाएको एएनआईले जनाएको छ ।

यस अभ्यासका क्रममा ‘सुदर्शन’ एस ४०० हवाई प्रतिरक्षा प्रणाली पनि सम्मिलित रहेको एएनआईले जनाएको छ । वायुसेनाको अभ्यासमा अत्याधुनिक प्रविधिको एस ४०० हवाई प्रतिरोधी प्रणाली, रफायल तथा तेजस लडाकु विमानका साथै प्रचण्ड लडाकु हेलिकोप्टर पनि समावेश थिए ।

इजरायल–गाजा युद्धविरामका लागि लण्डनमा विशाल प्रदर्शन

जरायल र गाजापट्टी द्वन्द्वमा युद्धविरामको अपिल गर्दै बेलायतको राजधानी लण्डनमा विशाल प्रदर्शन भएको छ ।

लण्डनको मेट्रो पुलिसका अनुसार युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा १२६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा झडप हुँदा केही प्रहरी घाइते भएको बताइएको छ ।

इजरायलले गाजापट्टीमा स्थल तथा हवाइ हमला जारी राखेको छ । पछिल्लो हमलाले गाजाको सबैभन्दा ठूलो अल शिफा अस्पताल क्षतिग्रस्त भएको छ ।

अस्पतालमा खाद्यान्न, पानी र इन्धनको संकट भएको चिकित्सकहरुले बताएका छन् ।

विरोध प्रदर्शनपछि बङ्गलादेशमा तयारी पोशाक श्रमिकको मृत्यु

सरकारले गरेको पारिश्रमिक वृद्धि प्रस्ताव अत्यन्त कम भएकाले उचित पारिश्रमिकको माग गर्दै बङ्गलादेशका सयौँ तयारी पोशाक श्रमिकले आइतबार जुलुस निकालेका छन् । गत महिना सुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या बढेर चार पुगेको छ । एक दशकमा सबैभन्दा खराब श्रमिक अशान्तिले बङ्गलादेश स्तब्ध छ ।

न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका (दुई सय आड अमेरिकी डलर) बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक प्रहरीसँगको झडपमा परेका छन् । प्रदर्शनका क्रममा सयौँ कारखाना क्षतिग्रस्त भएका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् । तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ ।

यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो ।

श्रमिकहरूले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन् । पारिश्रमिकको वृद्धि प्रस्तावपछि तिनीहरूको विरोध प्रदर्शन बढ्दै गएको छ र यस अवधिमा कम्तीमा ७० कारखानामा तोडफोड गरिएको छ ।

लागूपदार्थ तस्करी गरेको अभियोगमा भियतनाममा २ दक्षिण कोरयालीसहित १८ जनालाई मृत्युदण्ड

भियतनाममा लागूपदार्थ तस्करी गरेको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागूपदार्थसम्बन्धी कानूनहरू छन् र यसबारे सुनुवाइ एवम् अन्य अदालती प्रक्रिया अत्यन्त गोप्य तरिकाले हुने गरेको छ ।

सरकारी मिडियाले जनाएअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन–होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो ।

५८ वर्षीय चिनियाँ नागरिक ली तियान र कथित भियतनामी नेता ३६ वर्षीय ले हो वुलाई पनि मृत्युदण्डको सजाय दिइएको छ । हो चि मिन्ह सहर पिपुल्स कोर्टअन्तर्गतको पारिवारिक तथा किशोर अदालतमा सुनुवाइपछि उक्त मामिलाका अन्य १४ जनालाई पनि मृत्युदण्डको सजाय दिइएको थियो ।

उक्त समूहले सन् २०२० को मे र जुनको बीचमा ‘अवैध रूपमा २ सय १६ किलोग्रामभन्दा बढी लागूपदार्थको भण्डार, तस्करी र कारोबार’ गरेको सरकारी समाचार साइट काङ एन न्हान डानले बताएको छ ।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागूपदार्थ’ बरामद गरिएको उल्लेख छ । समाचारमा जनाइएअनुसार उक्त लागूपदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सहरसम्म गरिएको थियो । तीमध्ये केही उक्त सहरमै प्रयोग गरिएको थियो भने अरु दक्षिण कोरिया तस्करी गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ०२ बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई