एजेन्सी – आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गरेको छ । जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो ।
नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै साइब्रांड एंगेलब्रेक्ट ४५,,ओपनर वेस्ली ब्यारेसी ४, म्याक्स ओडाउड ३०, कोलिन एकरम्यान ३५, स्कट एडवार्ड्स १७ रन बनाए ।
भारतका लागि कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराजले २ विकेट तथा विराट कोहली र रोहित शर्माले एक-एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतका लागि श्रेयस ऐर सर्वाधिक १ सय २८ रन बनाए । त्यस्तै लोकेश राहुलले १ सय २ रन, रोहित शर्माले ६१, शुभमन गिलले ५१ रन, विराट कोहलीले ५१ रन बनाए ।
नेदरल्यान्ड्सका बास डि लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक-एक विकेट लिए ।
अब भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया