सुन तस्करीमा राज्य प्रणालीकै दुरुपयोग भयो | Khabarhub Khabarhub

सुन तस्करीमा राज्य प्रणालीकै दुरुपयोग भयो



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शृङ्खलाबद्ध रूपमा सुन तस्करी भइरहेको छ। कहिले भन्सारको एक्स-रे ले काम गर्दैन, कहिले भन्सारमा खटेका गुप्तचरका अधिकारीले काम गर्दैनन्। भन्सारका कर्मचारीबाट सुन तस्करीका सन्दर्भमा कुनै पनि काम हुँदैन। त्यहाँ रहेका सबै संयन्त्र असफल साबित हुन्छन्। तस्कर मौलाइरहेका छन्। कसरी हुन्छ विमानस्थलबाट शृंखलाबद्ध सुन तस्करी ? भन्सारको एक्स-रे मेसिनबाटै कसरी हुन्छ सुन पास ? यी र यस्तै विषयमा जोडिएर नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र शाहसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको सुन तस्करीका घटनालाई कसरी हेर्नुभएको छ ?
पटक पटक भइराखेको तस्करी नियन्त्रण र नियमनमा विभिन्न निकाय र विभागका व्यक्ति तैनाथ छन्। तैनाथ भएका व्यक्तिमा पनि कसको जिम्मेवारी के भन्ने होला। त्यो प्रणाली हुँदाहुँदै पनि सुधारका पक्ष रहेका छन्। कुनै पनि अपराध नियन्त्रण गर्न तीन पक्षमा ध्यान दिनुपर्छ। पहिलो अपराध नै हुन नदिने, अर्को अपराध भएपछि अनुसन्धान गरेर दोषीलाई अदालतमा उभ्याउने र सजाय दिने। अर्को सुन तस्करी नेपालमा हुनु पर्ने कारण के हो भनेर त्यसलाई हामीले केलाउनुपर्छ। मेरो विचारमा हामी यो तिनै पक्षमा चुकेका छौँ। नेपालमा सुन किन आइरहेको छ ? नेपाल ट्रान्जिट मात्र हो कि होइन ? ट्रान्जिट भए त्यसलाई कसरी रोक्ने भन्ने उपाय अपनाउनुपर्छ। अपराधको कारण पत्ता लगाएर समस्या समाधान गर्नुपर्ने हो तर त्यो भएको छैन।

यसको कारण के होला त ?
नेपालको माग के हो ? हाम्रो विवाहको मौसममा सुनको माग बढी होला। त्यसैले नेपालको मागलाई हेरेर आपूर्तिका लागि अनुमति दिनुपर्छ। अर्को पक्ष विदेशमा तस्करी भएर जाने कुरामा खुला सिमानाको कारणले तस्करी रोक्न समस्या परिरहेको छ। तर यो समस्या समाधान गर्न नसक्ने नै अवस्था होइन। त्यसमा सबै संयन्त्रको संयुक्त प्रयास हुनुपर्छ। सीमा सुरक्षा भन्ने कुरा एउटालाई मात्र दोष दिएर एउटालाई मात्र जिम्मा दिएर हुँदैन। यसमा सबै पक्ष परिचालन हुनुपर्ने देखिन्छ। जुन नेपालमा अभ्यास भएकै छैन। किनभने भन्सार र प्रहरीले आ-आफ्नै काम गरिरहेका छन्। सबैले एक ठाउँमा आएर काम गरेका छैनन्। सीमा सुरक्षा सम्बन्धी ऐन पनि छैन। सीमा सुरक्षा सम्बन्धी योजना पनि देखिएको छैन। यो कुरा नीति निर्माण पक्षले ध्यान दिनुपर्छ। यो व्यक्तिको कमजोरी भनेर कारबाही गरेर मात्र हुँदैन, प्रणालीको पनि गल्ती हुनसक्छ।

हामीले संयन्त्रमा सुधार गर्न नसक्ने भयौँ, सुन तस्करी प्रकरणपछि राजनीतिमा आएको कोकोहोलो, त्यसपछिको बनेको आयोग र त्यो भन्दा पछाडिका घटनाक्रम हेर्दा यथास्थितिमा नै चलिराखेको देखिन्छ। राज्य आफै संलग्न नभए यसरी टनका टन सुन हाम्रो विमानस्थलबाट छिर्न सक्दैन भन्न पाइयो नि ?
पुरै राज्य संयन्त्र लागेको भन्न सकिँदैन। राज्य संयन्त्रमा काम गर्ने सबै व्यक्तिले यो गरेको भन्न पनि मिल्दैन। तर त्यसमा रहेका केही नराम्रा व्यक्तिहरूले हाम्रो अहिलेको प्रणालीलाई दुरुपयोग गरेको अवस्था देखिन्छ। राज्य संयन्त्र, प्रशासन संयन्त्र र सीमा सुरक्षा वा विमानस्थल सुरक्षामा खटिएकै केही व्यक्तिले राज्य प्रणालीको दुरुपयोग गरेको देखिन्छ। तस्करी छानबिन गर्न विभिन्न समिति बने, तर त्यो बाट केही भएको हामीले देखेका छैनौँ।

टनका टन सुन विदेशबाट किनेर ल्याउन सक्ने आर्थिक हैसियत भएका नेपाली कति छन् भन्ने कुरा त नेपालको राज्य संयन्त्र भित्रको कुनै प्रणालीले पत्ता लगाएको होला नि ?
अन्तरदेशीय अपराधमा नेपालका मात्र व्यक्ति संलग्न हुँदैनन्। देश विदेशका आपराधिक गिरोह र तस्कर यसमा सामेल हुन्छन्। सुन कहाँबाट आउँछ, कहाँ जान्छ, बजारको अवस्था कस्तो छ भन्ने कुरा पनि अनुसन्धानका विषय हुन्छन्। हामीले पहिला ११ करोडको सुपारी रोकेका थियौँ। त्यो पैसा भारतको भएको पत्ता लागेको थियो। त्यसैले यसलाई अन्तर्राष्ट्रिय पृष्ठभूमिमा रहेर हेर्नुपर्छ।

राज्यका संयन्त्र परिचालित भएर एउटा निष्कर्षसहित अपराधको जालो पहिचान गर्ने हो भने यस्ता घटना दोहोरिनेक्रम र विमानस्थललाई लिएर राष्ट्रिय प्रतिष्ठामा लज्जा महसुस हुने अवस्था हुने थिएन होला कि ?
आज कुनै तस्करी हुनसक्छ भने भोलि अरु पनि अवाञ्छित क्रियाकलाप हुनसक्छन्। यसले हाम्रो देशको क्षमतामा विदेशी राष्ट्रका सुरक्षा संयन्त्रले प्रश्न उठाउन सक्छन्। यसले राष्ट्रिय सुरक्षामा पनि प्रश्न उठ्न सक्छ। त्यसैले यसको कारणमा गएर समाधान गर्ने र दोषीलाई कारबाही गरेर तस्करी रोक्नुपर्छ।

हामी प्रयोग गरेका प्रविधिको विषयमा सचेत भइदिने हो भने पनि यो समस्या नआउने होला नि ?
प्रविधिहरू पनि निरन्तर प्रयोगमा आउनुपर्छ। प्रविधिमा ‘अप टु डेट’ भइरहनु पर्छ। हाम्रो एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ। त्यहाँ पनि ‘अप टु डेट’ प्रविधि राख्न नसक्नु भनेको लज्जास्पद कुरा हो।

विमानस्थल भित्रको सरसफाइको ठेक्का कसलाई दिने भनेर करोडौँको चलखेल हुन्छ भनिन्छ। यी सबै संयन्त्र तस्करी प्रकरणमा संलग्न छन् भन्ने सानो संकेत पछिल्लो घटनाक्रमले दियो। यसलाई कसरी सुधार गर्न सकिन्छ ?
जसले अर्बौं खर्च गरेर तस्करी गर्छ। उसले नेपालभरको कुन सिस्टमलाई कहाँबाट लैजान सकिन्छ भनेर हेरेको हुन्छ। भित्रको व्यक्ति कसलाई प्रयोग गर्नुपर्छ भनेर हेरिरहेको हुन्छ। हाम्रोमा त्यो सिस्टम तोड्नको लागि भन्सारले मात्र हेरेको छ। यो विषय प्रहरीलाई जिम्मा दिएको छैन भनेको छ। यी र यस्ता कुराको मूल्याङ्कन हुनुपर्छ। मेरो विचारमा एकीकृत दृष्टिकोण हुनुपर्छ। एउटा व्यक्तिलाई जिम्मा दिएर तिमी यसो गर भनेर भन्ने होइन। त्यसमा सबैको एउटै कमान्ड भएर त्यसले सबैलाई परिचालन गर्ने हो।

संयुक्त कमान्ड नभएपछि निगरानी गर्ने निकाय पनि भएन, एउटासँग सहमति गरेपछि तस्करी गर्न सक्छु भन्ने मनोबलबाट विमानस्थल नियन्त्रित भयो ?
हो। यसले गर्दा उनीहरूले किन्नु पर्ने व्यक्ति कम भए। एउटा कुनै संस्थाले यहाँ यस्तो गर्छ भनेपछि त्यसलाई मनाए भयो। एउटै कमान्ड भयो भने त्यसको आदेश भन्सारले दिने होला, प्रहरीले दिने होला।

प्रहरीसहितको संयुक्त निगरानी टोली परिचालन गर्नका लागि गृह प्रशासन तत्पर नहुनुको कारण के होला ?
गृह र अर्थ मन्त्रालय मार्फतका निकाय त्यहाँ परिचालित हुन्छन्। त्यो मन्त्रालयबाट त्यहाँको कमान्डमा एउटा व्यक्तिलाई दिनुपर्यो। अर्थ मन्त्रालयको प्रशाकीय कुरा गर्छ। तर त्यहाँ रिपोर्ट गर्ने एउटै ठाउँ हुनुपर्छ। त्यसैले सीमा सुरक्षा सम्बन्धी ऐनको व्यवस्था हुनुपर्यो। ऐन बनाउन सकिँदैन भने कुनै निर्देशिका राज्यले बनाउनु पर्यो। त्यसरी विमानस्थलमा सबै संस्था परिचालित हुनुपर्यो।

अहिले अन्तर्राष्ट्रिय विमानस्थलमा धेरैले ग्राउण्ड ह्यान्डिलिङ नेपाल वायु सेवा निगमलाई नै प्रयोग गरेर गरेको जस्तो देखिन्छ। यो काम पनि ठेक्कामा निजी क्षेत्रलाई दिनुपर्छ भन्ने तर्फबाट बहस चलिराखेको छ। यो पक्षले तस्करीमा अर्को भूमिका खेल्ने रहेछ, यो प्रयोग र सन्दर्भ किन आयो ?
जति बढी संस्थालाई विमानस्थलको घेरा भित्र लगिन्छ त्यत्ति नै बढी सुरक्षाको जोखिम बढ्दै जान्छ। त्यसैले यो कम गर्नुपर्छ। त्यहाँ खटिने गृह वा अर्थ मन्त्रालयले त्यसलाई हेर्ने संयन्त्र बनाउनु पर्छ। छिर्ने कुराहरू एउटै ठाउँबाट छिर्नु पर्यो। अन्तर्राष्ट्रिय व्यक्तिले नयाँ पात्र र बाटो खोजिरहेको छ। त्यसमा हामी त्यो भन्दा माथि हुनुपर्यो। हामीले यो अवस्थालाई रोकेनौँ भने हाम्रो सुरक्षामा विदेशीले खिल्ली उडाउने नै भए। यसमा सबै संस्थाले आफूलाई विकास गर्दै लानुपर्छ। व्यक्तिहरूलाई पनि कसरी अगाडि बढाउने भनेर पनि सोच्नु पर्छ।

लामो सुरक्षा संयन्त्रसँग काम गरेर बस्दाको अनुभव र अनुसन्धान प्रक्रियासँग जोडिएको अनुभवका आधारमा अहिले तपाईंलाई विमानस्थल कसको नियन्त्रणमा छ जस्तो लाग्छ ?
विमानस्थलमा अहिले जो जो जहाँ खटिएका छन् राम्रै खटिएका होलान् ! तर पनि हाम्रो प्रणालीमा केही तस्करहरूले लुट गर्ने ठाउँ भेटेका छन्। त्यसका लागि कुनै व्यक्तिलाई परिचालन गरेका छन्। संस्थाको नाममा होस् वा व्यक्तिको नाममा उनीहरूको त्यहाँ पहुँच छ भन्ने कुरा प्रस्ट भएको छ। त्यसलाई अब फाल्नु पर्यो र नियन्त्रण गर्नुपर्यो।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १२ : ०७ बजे

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म

सप्तरीका अग्निपीडितलाई खानेपानी र शौचालयको व्यवस्था गरिने

राजविराज– सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टी बस्तीमा अग्निपीडितका लागि खानेपानी र

टीकाबहादुरकाे टिप्पणी- ‘ठेकीको व्यापार बढे युवाले विदेशी भूमिमा दुःख गर्न पर्दैन’

ढोरपाटन– शिरमा ढाका टोपी, शरीरमा पसिनाले लुथ्रुकमा भिजेका कपडा ।

क्रोएसियामा मात्रै २५ हजार नेपाली, कन्सुलर कार्यालय नहुँदा अनेकन सास्ती

काठमाडौं- पछिल्लो समय पोर्चुगलपछि छिमेकी मुलुक क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै

भक्तपुरको कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोडको प्लाई कार्पेट कारखानामा आगलागी