विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जिम्बाबेमा खडेरीले सय हात्ती मरे
जिम्बाबेमा खडेरीको कारण कम्तिमा एक सय वटा हात्ती मरेका छन् । जिम्बाबेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समुहले सोमबार जनाएको छ ।

पशु कल्याणको लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको विज्ञप्ति अनुसार हाल सो खडेरीका कारण ग्रीष्मकालीन वर्षा सामान्यभन्दा पाँच हप्ता ढिलो शुरु भएको छ । जसका कारण झण्डै ४५ हजार हात्तीको बास स्थान रहेको जिम्बाबेको सबैभन्दा ठूलो संरक्षित क्षेत्र ह्वान्गे राष्ट्रिय निकुञ्जमा दर्जनौं हात्तीहरू मरेका छन् ।

कम्तीमा पनि एक सय हात्तीहरू पानीकै अभावका कारण मृत्यु भएको कोषले उल्लेख गरेको छ । संस्थाको पार्कमा रहेका १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल चरम तापक्रमसँग मिलाउन अपर्याप्त रहेको बताईएको छ ।

खडेरीले गर्दा पानीका मुहान सुक्दै गएको र वन्यजन्तुलाई खाना र पानीको खोजीमा लामो दूरीसम्म हिँड्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पुमाले इजरायलको राष्ट्रिय फुटबल टोलीको प्रायोजन बन्द गर्ने
जर्मन खेलकुद सामग्री निर्माता पुमाले गाजामा युद्ध सुरु हुनुभन्दा अघि गरिएको निर्णयमा इजरायली राष्ट्रिय फुटबल टोलीसँगको प्रायोजन सम्झौता अन्त्य गर्ने बताएको छ ।

सन् २०२२ को अन्त्यमा गरिएको रणनीति समीक्षापछि आगामी वर्षदेखि इजरायली टोलीलाई सामग्री उपलब्ध गराउन बन्द गर्ने कम्पनीले बताएको छ ।

सन् २०१८ मा इजरायलसँग हस्ताक्षर गरिएको सम्झौताले पुमा ब्रान्ड बहिष्कार गर्न प्रेरित गरेको छ । अभियानकर्ताहरूले पुमामाथि इजरायली एफएसँग उसको सम्झौतामार्फत पश्चिम किनारमा अवैध इजरायली बस्तीहरूको समर्थन गरेको आरोप लगाएका छन् । इजरायली एफएमा कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका टोलीहरू समावेश छन् ।

अक्टोबरमा गाजामा इजरायल र हमासबीचको युद्धको प्रारम्भले इजरायलको समर्थन गर्ने उत्पादनहरू बहिष्कार गर्ने लामो समयदेखिको मागलाई बलियो बनाएको छ ।

हमासका लडाकुहरूले गाजाको सैन्यकृत सीमा तोडेर करिब एक हजार दुई सय मानिसको मृत्यु र दुई सय ४० बन्धकहरू अपहरण गर्ने गरी अक्टोबर ७ मा अभूतपूर्व आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध सुरु भएको छ । बन्धक बनाइएकामध्ये एक सय ३७ जना गाजामा रहेका छन् ।

जवाफमा इजरायलले हमासलाई समाप्त पार्ने वाचा गरेको छ र गाजामा व्यापक बमबारी र स्थल कारबाही सुरु गरेको छ । इजरायलको जबाफी आक्रमणमा अधिकांश महिला र बालबालिकासहित गाजामा कम्तीमा १८ हजार दुई सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण, २३ जनाको मृत्यु
पाकिस्तानी सेनाको आधार शिविरमा मंगलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरू सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।

विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउँदा अन्य २७ जना घाइते भएको समेत बताइएको छ । विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आँकलन गरिएको छ ।

बिहानको २ः३० मा हमला शुरु गरेको तालिवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको विश्लेषकहरूले बताउँदै आएका छन् । पाकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्यपि सो आरोप तालिवान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ ।

घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

युक्रेनी राष्ट्रपतिले अमेरिकी राष्ट्रपतिलाई भेट्दै, थप सैन्य सहयोगको आग्रह गर्ने
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्सकीले आज अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्दैछन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेस्रो पटक वासिङ्टन पुगेका जेलेन्स्कीले भेटका क्रममा थप सैन्य सहयोगका लागि औपचारिक आग्रह गर्ने बुझिएको छ ।

यसअघि अमेरिका भ्रमणका क्रममा अमेरिकी सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन आफ्नो स्वतन्त्रता रक्षाका लागि मात्रै नभइ विश्वको प्रजातन्त्र बचाउन युद्ध लडिरहेको जिकिर गरे ।

राजनीतिक विवादका कारण दशौँ लाख डलरको सहायता प्याकेज सम्बन्धी विधेयक अमेरिकी संसदमा अल्झिएको प्रति संकेत गर्दै उनले यस्तै अवस्था रहने हो भने त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको समूहलाई मात्रै फाइदा पुग्ने बताएका थिए ।

राष्ट्रपति सी भियतनामको राजकीय भ्रमणमा
चीनका राष्ट्रपति सी चिनफिङ राजकीय भ्रमणका सिलसिलामा मंगलबार भियतनाम पुगेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङलाई भियतनामले मंगलबार रातो कार्पेट ओछ्याएर न्यानो स्वागत गरेको छ ।


द्विपक्षीय सम्बन्ध र सहयोग विस्तार गर्ने उद्देश्यले उनको राजकीय भ्रमण आयोजना गरिएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ०० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार