वार्षिक चार करोडको चाकु बिक्री « Khabarhub

वार्षिक चार करोडको चाकु बिक्री


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको उत्तरी क्षेत्र टोखा बजारका चाकु व्यवसायीलाई चाकु बनाउन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको छ । अघिपछि फुर्सदिला हुने टोखाका चाकु व्यवसायीलाई माघे सङ्क्रान्ति पर्व आउन दुई दिन बाँकी रहँदा सञ्चालित १४ उद्योगबाट चाकु उत्पादन तथा बिक्री वितरण गर्न भ्याइनभ्याइ भएको हो । 

टोखा नगरपालिका वडा नं २ र ३ मा अहिले चाकु उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । यो टोखाको पुरानो बजारसमेत हो । टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरका नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । टोखामा उत्पादन हुने चाकुले नेपालको झण्डै ६० प्रतिशतभन्दा बढी मागको पूर्ति गर्दछ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ यहाँ उत्पादित चाकु जापान, अमेरिका र अष्ट्रेलियालगायतका देशमा समेत बिक्री वितरण हुँदै आएको बताउँछन् । टोखामा बर्सेनि झण्डै पाँच लाख चाकु उत्पादन हुने गर्दछ । टोखा चाकुको प्रसिद्ध सहर हो  । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखु खेती हुने ठाउँका रुपमा चिनिन्छ । परम्परागत समयदेखि उखुबाट चाकु उत्पादन गरिने टोखामा उक्त व्यवसायलाई अहिलेसम्म पनि निरन्तरता दिइँदै आएको छ ।

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन् । टोखामा उत्पादन भएको चाकु नेपालका विभिन्न सहरमा जाने भएकाले यसको माग व्यापक बढेको छ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष श्रेष्ठ टोखाका सञ्चालित उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौँ रुपैयाँ आम्दानी गर्छन् । उनका अनुसार टोखाको एक उद्योगले वार्षिक ३० लाखसम्म आम्दानी गर्छ । टोखाका १४ उद्योगले वार्षिक ३० लाखका दरले झण्डै चार करोडभन्दा बढी रकम आम्दानी गर्दा टोखाको समग्र अर्थतन्त्रमा समेत योगदान पुगेको छ ।

टोखा नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँ उत्पादन भएको चाकुलाई ब्रान्डिङ गर्ने घोषणा गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठक टोखाको पहिचान चाकुले दिएकाले यसको ब्रान्डिङका लागि नगरपालिकाले विशेष योजना अगाडि सारेको बताउँछन्। ‘टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध छ’, उनले भने ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो एक सय ३० देखि एक सय ३५ सम्म बिक्री हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने चलन छ । 

चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । यस्तै माघे सङ्क्रान्तिमा चाकुबाहेक सख्खर, तरुललगायतका खानेकुरा समेत खाने प्रचलन रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १२ : ४२ बजे

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

दशरथचन्द– जिल्लाका विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान

नबिल बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं– नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन रेमिट्यान्स सेवा सुरु गरेको

एनसेलका ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्मको छुट

काठमाडौं– एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरूको खरिदमा ६०

विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा- जिल्ला अस्पताल सङ्खुवासभामा आङ (पाठेघर) खस्ने समस्या भएका महिलाको

इजरायली सेनाद्वारा ७ महिने प्यालेस्टिनी बालकको हत्या, आमाबुबा घाइते

जेरुसलेम- इजरायलको सैन्य नियन्त्रणमा रहेको प्यालेस्टिनी भूभाग पश्चिमी किनाराको हेब्रोन