मनलाग्दी सवारी भाडा असुल्दा सर्वसाधारण मर्कामा | Khabarhub Khabarhub

मनलाग्दी सवारी भाडा असुल्दा सर्वसाधारण मर्कामा


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको सल्लीसल्लादेखि ताजाँकोट गाउँपालिकाको कबाडीसम्म सडकको दूरी ३९ किलोमिटर मात्र छ । तर, यो सडकमा यात्रा गर्दा एक हजार दुई सय रुपैयाँसम्म भाडा बुझाउनुपर्छ । यात्रुसँग चर्को भाडा असुल्ने यिनै यातायात व्यवसायीकै सहमतिमा १६ फागुन ०७८ मा जिल्ला प्रशासन कार्यालयले तीन सय १३ रुपैयाँ भाडादर निर्धारण गरेको थियो । निर्धारित दरभन्दा व्यवसायीले यात्रुसँग उठाउँदै आएको भाडा झन्डै चार गुणाले बढी हो ।

गत साता सुर्खेत झर्ने क्रममा चंखेली गाउँपालिका– ३ का धनमान ऐरीले सल्लीसल्लादेखि कबाडीसम्म जिपमा यात्रा गर्दा एक हजार दुई सय भाडा तिरेको बताए । ‘सल्लीसल्लादेखि कबाडीसम्म जिपले एक हजार दुई सय भाडा लियो । १६ फागुन ०७८ मा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जिल्लाका सरोकारवाला निकाय र यातायात व्यवसायीसमेतको बैठकले अस्थायी रुट परमिट र जिल्लाभित्रका सडकखण्डको भाडादर निर्धारण गरेको थियो । तर, उक्त भाडादर कार्यान्वयन भएको छैन ।

 सर्केगाड गाउँपालिका केन्द्रदेखि चंखेली गाउँपालिकाको सल्लीसल्लासम्म १० किमि कच्ची सडकको भाडादर ८० रुपैयाँ तोकिएकोमा व्यवसायीले पाँच सय असुल्दै आएका छन् । त्यस्तै, सर्केगाड– १ को खच्चादेखि भुज्माधारासम्म पाँच किमि कच्ची सडकमा ४० रुपैयाँ भाडा तोकिएकोमा व्यवसायीले तीन सयसम्म लिने गरेका छन् । अदानचुली गाउँपालिकाको गल्फागाडदेखि श्रीनगर बजारसम्म १० किमिको ८० रुपैयाँ भाडा निर्धारण भएकोमा व्यवसायीले दुई सय असुल्दै छन ।

ताजाँकोट गाउँपालिकाको कबाडीदेखि ताजाँकोट गाउँपालिका केन्द्र छप्रेला चाँखुरेसम्म ११ किमि छ । जसको भाडादर ८८ रुपैयाँ निर्धारण गरिएकोमा व्यवसायीले तीन सय उठाउँछन् । त्यस्तै, लयटादेखि काडागाउँसम्म ५६ र छप्रेलादेखि नैकालासम्म ३२ रुपैयाँ भाडादर कायम गर्ने सहमति गरेको व्यवसायीले दुई सयका दरले असुल्दै आएका छन्।

हुम्ला सदरमुकामा सिमकोटदेखि हिल्सासम्म पनि भाडादरमा ठगी अचाक्ली छ । जिल्ला प्रशासन कार्यालयले यातायात व्यवसायीसँगकै सहमतिमा ९५ किमिको यो सडकको भाडादर नौ सय ५० रुपैयाँ कायम गरेको थियो । तर, अहिले व्यवसायीले दुई हजार रुपैयाँ असुल्ने गरेका छन् । सिमकोट–खार्पुनाथ खण्डको १२ किमि कच्ची सडकको भाडादर एक सय २० रुपैयाँ तोकिएको थियो । तर, व्यवसायीहरूले आठ सय रुपैयाँसम्म लिने गरेका छन् ।

सर्केगाड–उनापानीकी बाली फडेराले ४ माघमा सर्केगाडको पालिका केन्द्रदेखि सल्लीसल्लासम्म पाँच सय रुपैयाँ र सल्लीसल्लादेखि बाजुराको धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको गुनासो गरिन् । धुलाचौरबाट बाजुराकै पिलुचौर पुग्दा थप पाँच सय तिरेको उनले बताइन् । त्यस्तै, पिलुचौरदेखि कालिकोटको लालिघाट पुग्दा अर्को दुई हजार भाडा लागेको सुनाइन् । हुम्लाका नागरिक प्रदेश राजधानी सुर्खेत आउन बाजुरा, कालिकोट हुँदै यात्रा गर्नुपर्छ । ‘पालिका केन्द्रबाट प्रदेश केन्द्र सुर्खेतसम्म पुग्दा सात–आठ हजार खर्च भयो । होटेलमा पनि बस्नुपर्ने भएपछि गाडीभन्दा त जहाज नै चढ्दा पो सस्तो पर्नेजस्तो देखियो,’ फडेराले भनिन् ।

 हुम्लाकै चंखेली गाउँपालिका– ४ का झक्क रोकायाले पनि सल्लीसल्लादेखि धुलाचौरसम्म एक हजार सात सय भाडा तिरेको बताए । धुलाचौरदेखि बाजुराको जगन्नाथ गाउँपालिका– १ पिलुचौरसम्म थप तीन सय र त्यहाँबाट नयाँ गाडी फेरेर कालिकोटको लालिघाट बजारसम्म ६१ किमिका लागि सुर्खेत बुलबुले यातायात प्रालिले प्रतिव्यक्ति दुई हजार लिएको गुनासो गरे ।

बाजुरा जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका सडकखण्डमा भाडादर निर्धारण गरेकोमा यात्रुमाथि ठगी उस्तै छ । बुढीनन्दा नगरपालिकाको कोल्टीदेखि जिल्लाकै हिमाली गाउँपालिकास्थित धुलाचौरसम्म १७ किमि कच्ची सडकमा जिल्ला प्रशासनले दुई सय चार रुपैयाँ भाडा तोकेको छ । तर, व्यवसायीले पाँच सय रुपैयाँ लिँदै आएका छन् ।

त्यस्तै, कोल्टीदेखि कवाडी सम्म १९ किमि कच्ची सडकको भाडादर दुई सय २८ तोकिएकोमा जिपले हजार असुल्ने गरेका छन् । कोल्टीदेखि पिलुचौरसम्म ६ किमि दूरीमा पनि ७२ रुपैयाँ भाडादर निर्धारण भएकोमा दुई सय लिने गरेका छन् । कोल्टीदेखि कालिकोटको लैफु २३ किमि छ । भाडादर दुई सय ७६ निर्धारण गरिएकोमा व्यवसायीले पाँच सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २२ किमि खण्ड निर्माणका लागि ९ चैत ०७१ मा सेनालाई जिम्मा दिइएको थियो । ६ वर्षमा ट्र्याक खुलेपछि गाडी गुड्न थालेका हुन् । सल्लीसल्लादेखि सर्केगाड गाउँपालिका दुल्लीकुनासम्म ११ किमि सडकको ट्र्याक भने ‘हिल्सा–सिमकोट सडक योजनाले खोलेको छ । यहाँ पनि गाडी गुड्छन् । 

तर, सर्केगाड-२ को रिपदेखि खार्पुनाथ गाउँपालिका– १ लालीबगरसम्म सात किमिमा सेनाले ठेक्का लिएर काम गरिरहेको छ । यहाँ चट्टानी भाग भएकाले कामको गति केही सुस्त छ । लालीबगरदेखि सिमकोटसम्म हिल्सा–सिमकोट सडक योजनाले नै ट्र्याक खोलिसकेको छ । यो सिंगो सडकखण्डमा हाल एक सय ३७ किमिमा गाडी गुड्छ ।

तर, ट्र्याक खोलिएको सडकको स्तरोन्नति छैन । व्यवसायीलाई मनपरी भाडा तिर्नुपर्ने यात्रुले ज्यानको समेत बाजी लगाउनुपरेको छ । जोखिमयुक्त सडकमा गाडीले क्षमताभन्दा बढी यात्रुसमेत बोक्ने गरेका छन् । ‘भाडामा मनपरी त छँदै छ, कोचाकोच यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँछन्,’ बाजुराका पत्रकार उमेश शाहीले भने । कर्णाली करिडोरको यो सडकमा दैनिक १५ देखि २० जिप र ४० देखि ५० सम्म मालवाहक ट्रक बाजुराबाट आउजाउ गर्छन् । 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ५ : १२ बजे

भक्तपुरमा ब्रह्मायणी जात्राको रौनक

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

ब्राजिलमा डढेलोले दुई करोड २० लाख हेक्टर वन क्षेत्र जलेर नष्ट

ब्रासिलिया – ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस

विजयादशमीका दिन आज पोखरामा निःशुल्क बस सञ्चालन

कास्की – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीद्वारा दशैँको शुभकामना

नयाँदिल्ली– भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले विजयादशमीका

राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभसाइतमा