बलेवा विमानस्थल सञ्चालनको माग | Khabarhub Khabarhub

बलेवा विमानस्थल सञ्चालनको माग


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

बैठकको शून्य समयमा बोल्दै उनले भने, “मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।” करोडौँ लगानी र जनश्रमदानमा बनेको विमानस्थल सञ्चालनमा आउन नसक्नु दुःखद् रहेको प्रदेशसभा सदस्य पाठकले बताए ।

स्थानीयले पनि पटकपटक विमानस्थल छिटो सञ्चालनमा ल्याउनुपर्ने माग गर्दै आएका छन् । धावनमार्ग कालोपत्र भएर नियमित उडानका लागि तयार अवस्थामा रहे पनि विमानस्थल कहिले सञ्चालनमा आउँछ, कुनै टुङ्गो छैन ।

बागलुङ–१४ स्थित उक्त विमानस्थलको धावनमार्गलाई नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड २४ लाख खर्चेर गत वर्ष कालोपत्र गरेको थियो । विसं २०२२ मा बनेको विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । २६ वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन । केही महिना चलेर विमानस्थल फेरि बन्द भयो ।

त्योबेला नेपाल र तारा एयरलाइन्सको टुइनटर विमानले हप्ताको दुई दिन उडान गर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो ।

पछि यात्रु पनि घट्ने र नगरपालिकालाई आर्थिक बोझ पनि थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो । विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर ६ हजार पाँच सय तोकेपछि यात्रुले पनि महँगो भएको गुनासो गरेका थिए ।

विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावन मार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको र सडकको सहज पुग्दासमेत विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् ।

बन्द अवस्थामा रहेका विमानस्थलहरुको अध्ययनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले केही महिनाअघि उक्त विमानस्थलको स्थलगत अवलोकन गरेको थियो ।

भर्खर कालोपत्र भएर चिटिक्क परेको धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि उक्त अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको सुरुआती निचोड निकालेको थियो ।

नगरका पदाधिकारीसहित सरोकार भएका पक्षसँगको छलफलमा परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले टावर नियन्त्रण गर्ने कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताएका थिए ।

उनले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिए । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडक तरीय हुन सकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् ।

बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमी सडक अहिले पनि कच्ची छ । बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाइ हुने बताए ।

उनले विमानस्थलसम्म जोड्ने कालीगण्डकी करिडोर छिटो कालोपत्र गर्नुपर्ने बताए । १० किमी उक्त खण्ड कालोपत्र हुँदासाथ विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्ने उनको भनाइ छ ।

सरकारको चालू बजेटमा पनि बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने उल्लेख छ । बलेवा विमानस्थल चलेमा धवलागिरि क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने देखिन्छ । विसं २०२२ मा ४० हजारभन्दा बढीले श्रमदान गरेर बलेवा विमानस्थल बनाएका थिए । पहिले उक्त विमानस्थलबाट पोखरा, काठमाडौँ, भैरहवा र भरतपुरसम्म विमानले उडान भर्थे ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ०२ बजे

त्रिभुवन राजपथ दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं– त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–नौबिसे सडक सोमबारदेखि दिउँसो चार घण्टा

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका