राष्ट्रपति निर्वाचनको निमित्त फेरिएको गठबन्धनले अहिले उपराष्ट्रपतिका निमित्त एउटा साझा उम्मेदवार दिन सकेको छैन। त्यसैले उपराष्ट्रपतिको निर्वाचन पछाडि एउटा यो गठबन्धन नै फेरिन्छ भन्ने खालका आशंका अहिले भइरहेका छन्। जनताका दुःख समस्या एकातिर र राजनीतिक दलको राजनीति अर्कोतिर केन्द्रित छ। आखिर यो के भइरहेको हो ? किन देशमा राजनीतिक निकास हुन सकेको छेन ? यी र यस्तै विषयमा केन्द्रित भएर लेखक विश्लेषक जैनेन्द्र जीवनसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
अहिले देशको राजनीति समग्रमा के भइरहेको छ ?
राजनीतिज्ञलाई चुनावको बेलामा मात्र जनताका दुःख कष्ट सबै थाहा हुन्छ। सबै कुरा आफ्ना एजेन्डालाई राख्छन्। नबुझेको होइन। तर सत्ताको निमित्त आफू केन्द्रित राजनीतिक भयो। सत्तामा पुगेर सिद्धान्त निर्माण गरेको भए, इमानदारी पूर्वक काम गरेको भए जनताका सबै आकांक्षा पूरा हुन्थे। राम्रो काम गरे पनि सत्तामा जान सकिन्थ्यो। पहिला बाट नै राम्रो काम गरेको भए राजनीति यो अवस्थामा पुग्ने थिएन।
राम्रो काम भन्नुभयो। यत्तिबेला राजनीतिक दलहरूले के गर्नु पर्यो ?
भर्खरै चुनाव जितेर आएका नेता म यस्तो गर्छु र म यसलाई यसरी सम्पन्न गर्छु भन्नुपर्ने थियो। काम गरेर जनतालाई खुसी दिन सकेको भए सत्तामा जान सकिन्छ। विकास कार्यमा ध्यान दिनुपर्छ। हामीलाई एउटा असल नेता र राम्रो काम गर्ने मान्छे चाहिएको हो। राष्ट्रपतिको लागि यति धेरै हल्ला चल्नु उपयुक्त थिएन। अहिलेको राजनीतिमा नचाहिने पदहरूको लागि धेरै आयोग गठन गरेको छ। भनाइमा देशको राजस्वमाथि लैजाने भनेता पनि ठूलो राजनीतिक वर्गलाई रोजगारी दिन बनाएको मात्र हो जस्तो भयो । यस्तो कुरा सुधार्नु पर्ने, सुशासन गर्नु पर्ने, राम्रा नीति नियम बनाउनु पर्ने हाम्रो माग हो। सरकारले जनतालाई राहत दिने खालको बोल्ड निर्णय गर्नुपर्छ। जनतालाई समयमा डेलिभरी गर्ने, विकास दिने काममा राजनीति केन्द्रित हुनुपर्छ। स्थानीय सरकारलाई पर्याप्त मात्रामा स्रोत, साधन, तालिम र ज्ञान दिएर शक्तिशाली बनाउनुपर्छ। प्रदेश संरचना खारेज गर्दा हुन्छ। हामीलाई एक लाख आर्मी किन चाहियो ? पहिला माओवादीको विद्रोहलाई रोक्न राखेको हो। त्यो त सकियो। तर अब काम छैन। पुलिसको संख्या बढ्दै गएको छ। यस्तो कुरामा सुधार गर्नुपर्छ। अब देशको सानो तिनो सुधारले देश बन्दैन। ठूलो अप्रेसन नै गर्नु पर्छ।
पुरानाले केही गरेनन्। तपाईंले नयाँबाट केही आशा गर्नु भएको छ ?
हेर्न बाँकी छ। अहिले उनीहरूमा राजनीतिक परिपक्वता देखिएको छैन। उनीहरु पढेलेखेका राम्रा व्यक्ति छन्। त्यसैले उनीहरूले आफूले के बोलेर आएका छन्। सबैभन्दा पहिला त्यो गर्नुपर्छ। अपेक्षा धेरै भएकाले उनीहरुले काम गर्दा सचेत हुनुपर्छ।
खराब नेतृत्व दोहोरिएर देशको विकास नभएको हो ?
सत्ताले भ्रष्टाचार बढाउँछ। पहिला राम्रो गरेका व्यक्तिले पनि सत्तामा गएपछि भ्रष्टाचार गरे। त्यो वातावरणलाई परिवर्तन गर्नुपर्छ। त्यस्तो कार्य रोक्ने निकाय छन्। त्यो सक्रिय बनाउनुपर्छ। हरेक क्षेत्रमा राजनीति छिराएका छन्। यो सुधार एउटाले गरेर हुँदैन। सबै दल एक भएर गर्नुपर्छ।
यसरी बदलिँदो समीकरण र सत्ताको लोभमा नै घुमिरहने हो नेपालको राजनीति ?
अहिले सम्मको कुराबाट यही प्रस्ट हुन्छ। तर अब अहिले तत्काल त्यसो गर्दैनन् होला। प्रचण्डलाई ओलीसँग सङ्गतको अनुभव छ। कांग्रेसलाई जिताउने सम्मको ठाउँमा गए। त्यो त धोका दिएकै हो। ठूला प्रतिस्पर्धी एक भएर मिल्दैनन्। ओलीले प्रचण्डसँग प्रतिशोध राखेको भए पनि त्यो असफल भएको छ। अहिले तत्कालका लागि चलखेल कम हुने देखिन्छ।
नेपाली मतदाताको आइक्यु लेबल विश्वका १९८ औं मुलुकमध्ये अन्तिममा किन पुग्यो ?
म त्यो मान्दिन। किनभने ४८ सालमा प्रजातन्त्रको लागि जनताहरू उत्रिएका थिए। त्यो बेला नेपाली कांग्रेसको विवाद नभएको भए कांग्रेस र एमाले मात्र हुन्थ्यो। २००७, २०१७ को लागि कांग्रेसले गरेको आन्दोलन देश र जनताको लागि थियो। कुनै निर्दोषलाई मारेको थिएन। सम्पत्ति लुटेको थिएन। जनता सर्वसाधारणलाई एक झापड पनि हानेको छैन। तर एमालेका झापाली समूहले जनतालाई नै वर्ग शत्रुको नाममा पाँचदेखि ६ जना मारेको हो। माओवादीको त्यस्तै छ।
समस्या समाजमा नै छ, समाजले उत्पादन गरेको व्यक्तिमा समस्या छ ?
समाजको प्रकृति अनुसारका नेतृत्व हुन्छन्। तर समाजलाई डोहोर्याएर समाजको विकास गर्ने नेता पनि छन्। जनतालाई यस्तो नेता ल्याएको भनेर दोष दिनु हुँदैन।
अबको राजनीति के होला ?
सरकार देश विकास गर्नको लागि हो, जनतालाई सुविधा दिनु पर्ने हो। तर त्यता ध्यान दिएको छैन। अब यो गठबन्धनको काम हुर्नु पर्छ।
कांग्रेस एमालेको गठबन्धन बन्ला त ?
यो सफा नियतले आएको कुरा होइन। प्रचण्डसँग प्रतिशोध लिन ओलीले फैलाएको हल्ला मात्र हो। प्रचण्ड बालकोट पुगेकै समयमा ओलीले सहकार्यलाई अगाडि बढाउन सक्ने थिए। प्रदेश र संघमा आफै हुने थिए। अब उनीहरूले म कति बाँचौंला र अहिले पाएको खाऊ भन्ने मा गए भने चाहिँ एक होलान्। यो समीकरण पाँच वर्ष जान्छ।
जनताको अपेक्षा अनुसार गर्नु पर्ने के हो ?
जनताको ठूलो अपेक्षा छैन। सबैको चाहना काम होस् भन्ने नै छ। सरकारी कार्यालयमा लाइन बस्नु नपरोस् भन्छन्। बिचौलियालाई घुस नखुवाई काम बनोस् भन्छन्। आर्थिक विकास होस्, शान्ति सुरक्षा होस् भन्ने नागरिकको चाहना हो। म भएको भए सबै भन्दा पहिला आर्थिक विकासमा ध्यान दिन्थे। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : पुष्पाञ्जली बस्नेत
प्रतिक्रिया