दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 8 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

आज दिनभर ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीकाे आग्रह, सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती, अर्थ मन्त्रालयकै बेरुजु अत्यधिक, उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित, नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टिलगायत समाचारले प्रमुख स्थान पाए ।

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् ।

लगानी बोर्ड नेपालको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’ उनले वैदेशिक पुँजी तथा प्रविधि भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेकोसमेत बताए ।

‘दीगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ, तर सरकारसँग लगानीका सीमित स्रोत रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ’, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको बताउँदै त्यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

‘विशेषगरी परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले त्यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु’, उनले भने ।

उनले ठूला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरण जस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्ने बताए ।

संसदबाट जनताका आशा र भरोसा धेरै रहेको सभामुख घिमिरेकाे भनाइ

सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् ।

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद् सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरूसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए ।

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए ।

दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए ।

‘विधेयकहरू समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद छ । समितिहरू ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरू अघि बढ्न सकेको छैन,’ उनले भने ।

मेयर शाहलाई जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न संघीय सरकारको सुझाव

संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ ।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् ।

संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु नहुने बताइन् । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनअनुसार चल्नुपर्ने बताइन् ।

काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।

‘देशका समस्या समाधान गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्धान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन,’ उनले भने।

‘अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो,’ उनले भने। रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए। नागरिकका आम समस्या समाधानमा आफूहरू लागिरहेको भन्दै उनले भने, ‘देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।’

उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे। ‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ’, उनले भने। राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सँधै विरोध गर्ने उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्यांकन गर्न आग्रह गरे। उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाए । ‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ’, उनले भने।

तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीलाई नेपाल बारको आग्रह

नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष गोपालकृष्ण घिमिरेले यदि प्रधानन्यायाधीश हप्ता दश दिनमा नियुक्त नभए आफूहरू आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँगको परामर्शमा तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा बारका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरेका सचिवालयले उल्लेख गरेको छ।

यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले दश दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने बताएको थियो।

सिंहदरबार सार्न सरकारलाई मेयर बालेनको चुनौती

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार सार्न चुनौती दिएका छन्।

यसअघि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि मेयर बालेनको विषयमा मन्त्रीपरिषद्को बैठकमासमेत छलफल भएको थियो।

बालेनको अभिव्यक्तिमा आपत्ति जनाउँदै सरकारले स्थानीय तहले त्यस्तो गर्न नमिल्ने बताएपछि मेयर साहले सिंहदरबार अरु पालिकामा सार्न चुतौती दिएका हुन्।

‘कि काठमाडौँको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’ उनले भने, ‘हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन , चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन ।’

अर्थ मन्त्रालयकै बेरुजु अत्यधिक

यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ ।

खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रहेको छ ।

जसअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ ।

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कुल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । जुन गत वर्ष भन्दा २१.४५ प्रतिशतले बढी हो ।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् ।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षीय प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गरे साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गरे । साथै आठ मत बदर भए ।

जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरे । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भएको थियो ।

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा

बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न बहानामा यौन हिंसा हुने गरेको जानकारी दिएकाे छ ।

नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना र २०७७/७८ मा ९० जना बालक यौन हिंसामा पर्ने गरेका छन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौन हिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागी गराउने गरेको उनको भनाइ छ । बालकमाथि हुने यौन हिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरूपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन ।

यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, बौद्धिक तथा मानसिक रूपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।

यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनु अधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।

बालकलाई गोप्य अङ्ग छोएर अर्थात् छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुमसुम्याउनु, अश्लील शब्द प्रयोग गरेर बोलाउनु, अश्लील तस्बिर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्व्यवहार हुन् ।

बालकलाई पनि यौन दुर्व्यवहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।

नेपालमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४८८ नमुनामध्‍ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यसैगरि कोरोनाका सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

तनाव व्यवस्थापन गर्ने ओशो महोत्सव भोलि टुँडिखेलमा

सीमित स्रोत र साधनका कारण मानिसहरूका लागि अवसर थोरै मात्र उपलब्ध छन्, तर पद, प्रतिष्ठा र अवसर प्राप्त गर्ने महत्वाकाङ्क्षा त्यो भन्दा धेरै छ । यसैकारण समाजमा असन्तुष्टि चुलिँदो छ भन्छन् समाजशास्त्रीहरू ।

समाजको पछिल्लो पुस्ता आफ्ना इच्छा, आकाङ्क्षा पूरा गर्न नपाउँदा मनोरोग (डिप्रेसन)को अवस्थामा पुग्दैछ । पहिले कोरोना महामारी र त्यसपछि सिर्जित आर्थिक मन्दीका कारण कैयौँ उद्योग, प्रतिष्ठान बन्द हुन पुगेका छन् । यसबाट बेरोजगार हुन पुगेका लाखौँ मानिसको मानसिक स्वास्थ्यमा असर परेको विभिन्न अध्ययनले देखाएका छन् ।

नेपालमा पनि आर्थिक सङ्कट दिनप्रतिदिन बढ्दो छ, सेयर बजार झन्भन्दा झन् खस्कँदै छ । मानिसका लागि अवसर खुम्चिँदै छन् । स्वदेशमा रोजगारीका अवसर सीमित हुँदा दिनहुँ हजारौँ युवायुवती विदेशिएका छन् । देशका अधिकांश क्षेत्र, पेसा या व्यवसायमा पनि सकारात्मक सञ्चार प्रवाह हुनसकेको छैन । यी विविध कारणले गर्दा मानिसमा निराशामात्र थपिँदै छ ।

यस्तो निराशा, कुण्ठा, असन्तुष्टि या डिप्रेसनउन्मुख अवस्थाको निदानका लागि ध्यान, साधनालाई उत्तम उपाय मानिएको छ । योग र ध्यान क्षेत्रका साधकहरूले मानिसमा यस्तो नैराश्यता हटाएर मानसिक स्वास्थ्यमा सुधार ल्याउन ध्यान र साधनाले औषधिको काम गर्ने सिफारिस गर्दछन् ।

नेपाली समाजमा पनि पछिल्लो समय युवा या विभिन्न उमेर समूहका मानिसमा पद, प्रतिष्ठा र सफलता प्राप्तिको आकाङ्क्षा बढ्दो देखिन्छ । तर आफूअनुकूलको वातावरण सिर्जना हुन नसक्दा उनीहरूमा निराशा बढ्दो छ । त्यसैले मानसिक स्वास्थ्यसम्बन्धी चिकित्सक या यस क्षेत्रका जानकारहरू ध्यान, योग, साधना गर्न सुझाउँछन् । मानिसको दिमागबाट डिप्रेसन र नैराश्यता हटाई उसमा आशावादिता जगाउन र सकारात्मक सोचको विकास गरी सुरक्षित र खुसी जीवनयापन गर्न उनीहरू ध्यान गर्न सुझाउने गरेका छन् ।

यही प्रयोजनका लागि अर्थात् मानिसमा पछिल्लो समय विकसित तनाव तथा नैराश्यताको व्यवस्थापन गर्न नयाँ वर्षको पहिलो दिन भोलि विसं २०८० वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सवको आयोजना गरिएको छ । शुक्रबार बिहान ९ देखि राति ९ बजेसम्म आयोजित सो महोत्सवमा सबैलाई खुला आमन्त्रण पनि गरिएको छ ।

सो महोत्सवका प्रमुख संयोजक भवन भट्टले नेपाललाई समृद्ध र अध्यात्मिक बनाउने स्वामी आनन्द अरुणको चाहनाबमोजिम ओशो तपोवनको आयोजनामा गत वैशाख १ देखि हरेक नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव सुरु गरिएको जानकारी दिए ।

उनले भने, “अहिले नेपाली समाजमा विविध कारणले विशेषगरी युवा वर्ग या विभिन्न पेसा व्यवसायका मानिसमा व्याप्त तनाव, नैराश्यता एवं प्रतिदिन बढ्दो डिप्रेसनको व्यवस्थापन गरी हरेक मानिसमा अध्यात्मिक चिन्तनको विकास गरेर उनीहरूलाई योग र ध्यानतर्फ आकर्षित गर्न यो महोत्सवको आयोजना गरिएको हो ।”

कैलालीबाट १५ जना जुवाडे पक्राउ

कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ बस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ बस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का विक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

त्यस्तै सोही ठाउँकै वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटेलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

कैलाली टिकापुर नगरपालिका १ बस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल, वर्ष ४९ को देव बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साउँद, ५८ वर्षका हिरालाल कोइराला र ६३ वर्षका लोक बहादुर साउँद रहेका छन्।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ९ : ०२ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३