दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 9 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज दिनभर प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड, जनताको पक्षमा काम गरे रास्वपाले सरकारलाई सहयोग गर्ने, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन, नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो, ठूलो आकारको बजेट ल्याउन नसकिने, मदन राईको पार्टीमा आबद्धता छैन, विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए,थप ३७ जनामा कोरोना संक्रमण पुष्टिलगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी गर्नुपर्नेमा एमालेको जोड
नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा संकटतर्फ उन्मुख हुँदै गएको भन्दै प्रमुख राजनीतिक दलबीच न्यूनतम समझदारी कायम गर्नुपर्ने जनाएको छ ।

तीन दिनसम्म चलेको पार्टीको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गर्दै भ्रष्टाचार सङ्क्रामक रोग जसरी फैलिँदै गएको, राष्ट्रिय हितको रक्षाको प्रश्न चुनौतीपूर्ण बन्दै गएको र अस्थिरता र अराजकताका प्रवृत्तिहरू झाँगिन खोजेको भन्दै सामाजिक सद्भाव र एकता कायम गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच न्यूनतम समझदारी बन्नु आवश्यक रहेको जनाएको हो । राष्ट्रिय राजनीतिक दलहरूका बीचमा समझदारी निर्माणका लागि एमालेले पहलकदमी लिने निर्णय समेत बैठकले गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।बैठकले बिभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ, जसमा शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने, भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानविन हुनुपर्ने, राष्ट्रघाती नीति र कदमहरूलाई रोक्नुपर्ने लगायतका रहेका गुरुङले बताए । बैठकले कतिपय तत्व संघीयता नै लोकतान्त्रीक प्रणालीमाथि नै प्रहार भएको प्रति ध्यानाकर्षण भएको भन्दै संविधानविरोधी हर्क बन्द गर्न सजग गराएको गुरुङले जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक कार्ययोजना पनि पारित गरेको छ ।

बैठकले भौतिक रुपमा नै उपस्थिति भएर असार १५ गतेसम्ममा जिल्ला कमिटीले पार्टीको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको गुरुङले बताए ।

बैठकका समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले संघीयता नमान्ने हल्लाको प्रतिवाद गर्दै संघीयतामाथि पुनर्विचार नगर्ने स्पष्ट पारेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले पार्टीलाई शसक्त बनाउनका लागि युवा परिचालनलाई जोड दिने निर्णय समेत गरेको छ ।

जनताको पक्षमा काम गरे सरकारलाई सहयोग गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् ।

आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा उनले आफ्नो पार्टी नागरिकको पक्षमा काम गर्ने सरकारलाई सहयोग गर्ने प्रतिपक्षका रुपमा उभिने बताए ।

सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एकपछि अर्को खोल्नुस्, जुनसुकै दलका नेता परे पनि जोगाउन नलाग्नूस्, दोषीमाथि कारबाही गर्नुस्, हाम्रो पार्टीबाट नागरिकका पक्षमा काम गरे सहयोग गर्छौ ।’

उनले सरकारलाई दोषीमाथि कारबाही र पक्राउ गर्न खुट्टा नकमाउन आग्रह गर्दै नक्कली भुटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको तथा वाइडबडी, यति, ओम्नी लगायतका सबै काण्डहरूको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने औँल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाए ।

रास्वपाका केन्द्रीय सदस्य डा तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भए पनि शासकीय सोच परिवर्तन नभएको भन्दै व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताइन् ।

सङ्घ–संगठन विधि प्रक्रियामा चल्नुपर्छपर्नेमा जोड

नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले हरेक काम गर्दा विधि र नियममा चल्नुपर्ने बताएका छन् । उनले सबै सङ्घ–सङ्गठन विधि प्रक्रियामा चल्नुपर्ने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँको सातौँ अधिवेशनको उद्घाटन समारोहमा आफ्नो भनाइ राख्नुहुँदै सिंहले युनियन कांग्रेसले विगतदेखि नै विधिअनुसार आफ्नो कार्यलाई अगाडि बढाउँदै आएको बताए । नेपाल ट्रेड युनियनले श्रम र शक्तिको सम्मान सबैभन्दा बढी ट्रेड युनियन कांग्रेसले नै गर्न सक्नुपर्ने उनको धारण छ ।

उनले भने, ‘ट्रेड युनियन कांग्रेसले श्रमिकहरूलाई केही गर्न नसकेको भन्ने नकारात्मक सन्देश गइरहेको छ । आगामी दिनमा नकारात्मक हल्ला, प्रचार भए पनि आलोचना र चुनौतीको सामना गर्दै ट्रेड युनियन कांग्रेस अघि बढ्नुपर्छ । श्रम र श्रमिकको सम्मान गर्दै गलत सन्देशहरू रोक्न सक्नुपर्छ ।’

त्यस्तै, विधिगत रूपमा चलेका कारण ट्रेड युनियन चलेको सांसद सिंहले बताए । आगामी हुन लागेको सातौँ अधिवेशनमा उम्मेदवारहरूले प्रतिस्पर्धाको भावना नभएर ट्रेड युनियनलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने ऐक्यबद्धता हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल टे«ड युनियन बागमती प्रदेशका कार्यवाहक अध्यक्ष घनश्याम चापागाईं पार्टीले श्रमिक मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । कोभिड–१९ पश्चात् श्रमिकहरूले धेरै घाटा बेहोर्नुपरेको र जसको कारण श्रम दिने श्रमिहरूले नै आत्मदाह गर्नुपरेको भन्दै यस्ता समस्या समाधान गर्न पार्टीले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका अध्यक्ष मुकुन्दबहादुर सुवेदीले पार्टीले स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मका श्रमिकलाई सम्मानका साथ सहयोग गर्नुपर्ने बताए । उनले श्रमिकका नाममा हुने गरेका विभिन्न सेवासुविधा पार्टीले उपलब्ध गराउनुपर्ने जोड दिए। हाल मजदुरहरूको अवस्था निकै दयनीय रहेको र श्रमिकहरूले न्यूनतम तलब पनि पाउन नसकेको गुनासो गर्दै अध्यक्ष सुवेदीले स्थानीय तहबाट नै श्रम र श्रमिकको सम्मानमा सुरुआत गर्नुपर्ने जनाए ।

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौँ प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्यविरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू जम्मा भएका थिए ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरियो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको बताएका छन् ।

राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली भुटानी शरणार्थी बनाउने जस्तो घृणित कार्यमा संलग्नलाई कानुनको कठघरमा ल्याएर कडाभन्दा कडा सजाय दिनुपर्ने उनले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भ्रष्टाचारविरुद्ध आम नागरिकसँग एकाकार भएर राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको पनि बताएका छन्।

‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ तसर्थ जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।’ उनले लेखेका छन्, ‘यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढ्दो छ, यसले हामीले दशकौँ सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।’

ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०(८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव संकलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका हुन् ।

‘अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्’, उनले भने । अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ । ‘अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् । तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमानदार प्रयास हुनेछ’, अर्थमन्त्री महतले भने ।

उनले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताए । ‘धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन’, उनले भने, ‘अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।’ उनले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताए ।

अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको उनले बताए। त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड रहने उनको भनाइ छ ।

‘हाम्रा संरचनामा धेरै ठूलो सुधार आवश्यक छ । बजेटको प्रभावकारिता बढाउनु पर्नेछ । अहिलेको समस्या पुँजीगत खर्च नहुँदा बजारमा चाहिए जति पुँजी प्रवाह भएको छैन’, उनले भने , ‘अर्कोतर्फ बैंकिङ प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको छैन ।’ आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको महतले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताए । त्यस्तै बजेटमा समेटिन नसकेका विषयहरू १६औँ आवधिक योजनामा समेटिने बताए।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा भएको लगानीले पुँजी निर्माण गर्न र रोजगारी सिर्जना गर्न नसकेको बताए । ऋण लिएको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उनले बताए । अहिले अर्थतन्त्रमा देखिएको समस्या अहिले एकैपटक आएको नभई पछिल्लो तीन दशकयताका नीतिको नतिजा रहेको उनको भनाइ छ । ‘विगत तीन दशक देखिका नीतिको साङ्गो–पाङ्गो नतिजा अहिले देखिएको हो । गलत नीतिका कारण थुप्रिएका समस्या हुन्’, उनले भने।

बढ्दो चालु खर्च र खुम्चिएको राजस्वका कारण सिर्जित वित्तीय असन्तुलन अहिलेको चुनौती भएको उनको भनाइ छ । त्यस्तै, अब पूर्वाधार केन्द्रित बजेट नभई जनताका आधारभूत आवश्यकता केन्द्रित बजेट बनाउन आवश्यक रहेको उनले बताए । आयोजना र कार्यक्रमको प्राथमिकीकरण हुन नसकेको उनले बताए।

कार्यक्रममा प्राडा शिवराज अधिकारीले नेपालमा भइरहेको लगानीअनुसार आर्थिक वृद्धिदर देखिन नसकेको र आर्थिक वृद्धिदरको तुलनामा रोजगारी सिर्जना हुन नसकेको बताए । ‘लगानी बढेको छ तर त्यसको तुलनामा आर्थिक वृद्धिदर बढेको देखिँदैन । रोजगारी पनि बढेको छैन । सार्वजनिक ऋण र लगानी बढ्ने तर आर्थिक वृद्धिदर नबढ्ने भनेको पक्कै यहाँ केही समस्या छ’, अधिकारीले भने ।

छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप भोलि

सरकारले यसअघि छुटेका पाँच वर्षमुनिका बालबालिकालाई भोलि खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार भिडियो सन्देश जारी गरी यसअघि छुटेका सबै बालबालिकालाई वैशाख ३१ गते देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउने बताएका हुन्।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिना उमेरसम्म दिइने नियमित छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिइँदैछ’, बस्नेतले भनेका छन्, ‘त्यसैले आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउन अनुरोध गर्दछु।’

खोप नलगाउँदा बालबालिकाका हुनसक्ने रोगको संक्रमण, अपांगता तथा मृत्यु हुनबाट बचाउन सबैले खोप लगाउन आवश्यक रहेको उनले बताएका छन्। आफ्ना टोल गाउँका बालबालिका र विद्यार्थीले खोप लगाए नलगाएको यकिन गरि अभियानमा सहभागीमा भई दिन पनि उनले आग्रह गरेका छन्।

कालापानीबाट भारतले सुरक्षाफौज फिर्ता गर्नुपर्छ : वामदेव गौतम

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारी र डा। अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लोमेसी इन रिफ्रेन्स टु काली रिभरस् पर्स्पेक्टिभ अफ इन्टरनेसनल लुको विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् ।

नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारे ।

नेपालको सिंगो संसद्‌मा सबै राजनीतिक दलहरूको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए ।

नेपाल ४ हजार वर्षदेखि स्थापित रहेको तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।

मदन राईको पार्टीमा आबद्धता छैन : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले किशोर किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका कृषि विज्ञ मदन राईसँग पार्टीको कुनै किसिमको सम्बन्ध नभएको जनाएको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा राईले किशोर किशोरीमाथि गरेको यौन दुर्व्यवहार निन्दनीय भएको समेत जनाइएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग कृषि विज्ञ मदन राईको सम्बन्धका बारेमा आएका प्रश्न र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो पार्टीले २०७९ साल भदौ ११ गते खुलामञ्चमा गरेको उपत्यका भेलामा उहाँलाई अतिथि वक्ताका रूपमा स्थान दिइएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यसमेत नरहेका राईलाई अध्ययन र अनुभवले कृषि विज्ञका रूपमा निम्ता गरिनु तत्कालीन अवस्थामा अस्वाभाविक थिएन, सो कार्यक्रमपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीसँग मदन राईको कुनै पनि किसिमको सम्बन्ध नरहेको जानकारी गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यसै गरी राईले किशोर किशोरीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको र निजलाई कानुनबमोजिम कारबाही हुनुपर्ने विज्ञप्तिमार्फत जनाइएको छ ।

विद्युत प्रसारण लाइनको पोलमा चढेका माझी बल्ल तल ओर्लिए

मोरङमा विद्युत प्रसारण लाइनको पोलमा चढेका पुरुष बल्ल तल ओर्लिएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकामा सडकको टेवा पर्खाल निर्माणको काम रोक्न माग गर्दै विद्युत प्रसारण लाइनको पोलमा चढेका सोही गाउँपालिका ७ डंग्राहाका ४० वर्षीय दिनेश माझी ११ घण्टापछि तल ओर्लिएका हुन् । उनी बिहान ६ बजे १ लाख ३२ हजार भोल्टको विद्युत प्रसारण लाइनको पोलमा चढेका थिए । उनी बल्ल अपराह्न साढे ४ बजे पोलबाट तल ओर्लिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृताकुमारी गच्छदारले सडकको टेवा पर्खाल निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपछि उनी तल ओर्लिएका हुन् ।

वाग्मतीमा फोहर फाल्नेलाई जरिवाना
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ । वाग्मती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामंगल पुलमुनिको नदी किनारमा फोहर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई १०( १० हजार गरी २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ ।

महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

जनताले महसुस गर्ने गरी काम गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए ।

‘आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले देख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ’, उनले भने ।

साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ।

सरकारको मुख्य कार्यभार सुशासन
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरूप अघि बढेको छ ।’ भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए। उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।

‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ’, उनले भने। शरणार्थीको विषयमा दबाब आइरहेको बताउँदै उनले भने , ‘जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।’

नेपाली काङ्ग्रेसका उपसभापति समेत रहनु भएका गुरुङले भ्रष्टाचारको मुद्दामा नेताहरू मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए। नेपाली काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिनमा होस भन्ने रहेको उनको भनाइ छ । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले जानकारी दिए ।

अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टाचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए।

नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७ जनामा पीसीआर परीक्षण गर्दा ११ जना र दुई हजार १६७ जनामा एन्टिजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । सोही समयमा १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको संख्या १२६ रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ०० बजे

सत्ता समीकरण फेरिने हल्ला मात्र हो : गृहमन्त्री लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक,

देशभरका पत्रकार महासंघमा प्रेस युनियनको धर्ना

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनले सोमबार देशभर

विदेशमा भारतको वित्तीय सम्पत्ति १ खर्ब ९ अर्ब ८० करोड अमेरिकी डलरले वृद्धि 

काठमाडौं– सन् २०२४ मा भारतको वाह्य दायित्वभन्दा विदेशमा रहेका भारतीय

सीआईबी प्रमुख भन्छन् : ६० किलो सुन तस्करीमा महरा र दीपेश पुनको संलग्नता देखिएन

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एवम्