झोलुङ्गे पुलले फेरियो दैनिकी | Khabarhub Khabarhub

झोलुङ्गे पुलले फेरियो दैनिकी


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । 

तमानखोलामाथि बिसमरघोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ । वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो । 

गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । 

पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

आफ्नो बारी खोलापारी र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताइन् । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाइन्। पुलले गाउँलेको दैनिकी नै फेरिएको उनको भनाइ छ ।

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा बगेर कसैले ज्यान गुमाउन नपर्ने बताए । उनले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गरे । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उनको भनाइ छ ।

उनले भने, ‘पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गर्‍थ्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौँ, नेताहरूलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ११ : ०० बजे

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना