कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

कर्णाली नदी बस्तीमा पस्ने जोखिम, उच्च सतर्कता अपनाउन आग्रह


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो ।

पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नम्बर ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए ।

नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ ।

टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ ।

नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुङ्गा) सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नम्बर ५ पार्क क्षेत्र, दौलतपुर र वडा नम्बर ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो । 

खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो । नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ । 

आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटकपटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए । ‘हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौँ’, उनले भने, ‘निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो । साथै ठूला ढुङ्गा पाउन पनि समस्या भएको छ ।’

नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । स्थानीय तहले मनोमानी नदी उत्खनन गरेकाले आज समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ । 

पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ । 

तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताए । 

जानकी गाउँपालिका वडा नं ९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन् । पालिकाले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ । 

जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ । 

पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका कार्य सुरु गरेको छ । वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताए । 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : १५ बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध