‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै « Khabarhub

‘ह्युमन मिल्क बैंक’ मा दूधदान गर्ने बढ्दै


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा ल्याइएको  ‘ह्युमन मिल्क बैंक’ (बृहत् स्तनपान व्यवस्थापन केन्द्र) मा आमाको दूधदान गर्नेको सङ्ख्या बढेको पाइएको छ । अस्पतालले सञ्चालन गरेको परामर्श सेवाले गर्दा दूधदान गर्ने आमाको सङ्ख्या बढेको पाइएको हो । बैंकमा पहिले दैनिक औसत छ आमाले दूधदान गर्ने गरेकोमा हाल उक्त सङ्ख्या बढेर दैनिक औसत १० जनासम्म पुगेको छ ।

बैंकका व्यवस्थापक स्मृति पौडेलले पहिलेको तुलनामा दूधदान गर्ने आमाको सङ्ख्यासँगै दूध सङ्कलनको मात्रा पनि बढेको बताइन् । उनका अनुसार कुनै बेला दैनिक साढे दुई लिटरसम्म पनि दूध सङ्कलन हुने गरेको छ ।

गत वर्षको भदौमा औसत एक दिनमा एक हजार एक सय ६६ मिलिलिटर दूध सङ्कलन भएकामा यो वर्षको असारसम्म आइपुग्दा त्यो बढेर एक हजार ६ सय ९१ मिलिलिटर पुगेको उनले जानकारी दिइन् । यस्तै, गत वर्षको भदौमा ३६ जना आमाले दूधदान गरेकामा यो वर्षको असारमा उक्त सङ्ख्या ७० पुगेको छ ।

गत वषएको भदौमा ३६ जना आमाबाट २४ हजार पाँच सय ६५ मिलिलिटर दूध सङ्कलन भएकामा यो वर्षको असारमा ७० जना दूधदाता आमाबाट ३९ हजार दुई सय ५९ मिलिलिटर दूध सङ्कलन गरिएको छ । सबभन्दा बढी पुस महिनामा एक सय १९ जना दूधदाताबाट दूध सङ्कलन गरिएको छ ।  बैंकका अनुसार असोजमा ३५, कात्तिकमा ३१, मङ्सिरमा ७९, माघमा ६०, फागुनमा ४८, चैतमा ८५, वैशाखमा ४६, जेठमा ५५ जना आमाबाट बच्चाका लागि दूधदान गरेका थिए । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ ३ गते दूध खान नसक्ने शिशुलाई अरू आमाको दूध सङ्कलन गरेर खुवाउनका लागि बैंकको उद्घाटन गरेकी थिइन् ।

“आमाहरुमा त्यतिकै खेर गइरहेको दूध बैंकमा जम्मा गरेर अरू शिशुलाई खुवाउन सकिन्छ भनेर चेतना पनि बढ्यो”, उनले भनिन्, “हामीले पनि शैय्यासम्म पुगेर खेर गइरहेको दूधलाई बैंकमा जम्मा गर्न आग्रह गर्दछौँ ।” बैंकमा हालसम्म सात सय ४९ आमाबाट चार सय ५६ लिटर दूध सङ्कलन गरिएको छ । जसमध्ये ४४८ दशमलव ८८ लिटर आमाको दूध निर्मलीकरण गरी आठ सय ७३ शिशुलाई ३९९ दशमलव ८९ लिटर दूध शिशुलाई खुवाइएको पौडेलले बताइन् । निर्मलीकरण गरिएको आमाको दूध छ महिनासम्म शिशुलाई खुवाउन मिल्छ ।

अस्पतालले स्तनपान गर्न नसक्ने बच्चालाई दूधदाताबाट दूध सङ्कलन गरी शिशुलाई खुवाउनका लागि बैंक सञ्चालन गरेको हो । निर्धारित समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिने बित्तिकै रुन नसक्ने, हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आईसीयूमा रहेका बच्चा, आमाको दूध राम्रोसँग तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध दिने गरिन्छ ।

सघन उपचार कक्ष (आईसीयू) मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध सङ्कलन गरिन्छ । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले अस्पतालमा भर्ना भएका आमालाई दूधदानको महत्व बुझाउने गरेको बताउँछन । उनले प्रत्येक शैय्यामा गएर आमाहरुलाई खेर गइरहेको दूधदान गर्न आग्रह गर्ने गरेको बताए ।

“आमाको दूध बच्चाका लागि अमृतसरह हो भनेर जनचेतना जगाउँदै दूध सङ्कलन बढाएका छौँ”, उनले भने, “सातजना परामर्शदाताले बहिरङ्ग विभाग र शैय्या कक्षमा पुगेर आमाको दूधको महत्व बुझाएर दूधदान  गर्नका लागि आग्रह गर्नुहुन्छ ।” बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको उनको भनाइ छ । शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई ल्याक्टोजेन मुक्त गराइएको उनले बताए । एउटा बच्चालाई एक दिनमा न्यूनतम ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ ।

दुई–दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । बैंकमा एउटा आमाबाट सामान्यता एक पटकमा दुई सयदेखि तीन सय मिलिलिटर दूध सङ्कलन हुन्छ । एक जना आमाले एक दिनमा तीन घण्टाको फरकमा दूध दिन सक्नेछन् । साधारण विधिबाट प्रसूति भएका आमाबाट दूध सङ्कलन कम मात्रामा हुने गरेको उनको भनाइ छ ।

“सामान्य तरिकाबाट प्रसूति भएका आमाहरुको एक दिनमा नै डिस्चार्ज हुने गर्दछ”, उनले भने, “ती आमाबाट दूध सङ्कलन एकदमै कमै मात्रामा हुन्छ ।” यस्तै समय अगाडि नै जन्मेका शिशुका आमाबाट दूध सङ्कलन धेरै हुने गरेको छ । ती आमाले शल्यक्रियाबाट शिशु जन्माउने, आमा लामो समयसम्म अस्पतालमा बस्ने र बच्चाले पनि कम खाने भएकाले त्यस्ता आमाबाट दूध सङ्कलन धेरै हुने गरेको उनले बताए ।

त्यस्ता आमाहरु अस्पतालमा औसतमा १० देखि १५ दिनसम्म बस्छन् । अझै अपुग दूध बैंकमा दूधदान बढे पनि त्यो पर्याप्त नभएको बैंकको भनाइ छ । बैंकका व्यवस्थापक पौडेलले बैंकमा जम्मा भएको दूध भर्ना भएका ६० प्रतिशत शिशुलाई मात्र पुर्‍याउन सकेको बताए ।

“अस्पतालमा अझै पनि दूध खान नसक्ने सबै शिशुलाई दूध पुर्‍याउन सकेका छैनौँ,” उनले भने, “प्राथमिकताका आधारमा शिशुलाई दूध उपलब्ध गराउने गरेका छौँ ।”

बच्चालाई जन्मेदेखि छ महिना नपुग्दासम्म आमाको दूध मात्रै खुवाउनुपर्छ । अस्पतालमा हाल छ वटा इलेक्ट्रिक मेसिन र १२ वटा म्यानुअलबाट दूध सङ्कलन गरिन्छ । दूध दिने आमामा कुनै रोग भए नभएको पनि परीक्षण गरिन्छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  २ : ५१ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते