काठमाडौँ- चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले विश्ववद्यालय, प्रतिष्ठान, सीटीईभीटी लगायतको स्वायतत्तामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरुमा तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।
चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।
उनले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पठाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सीटीईभीटी मातहतका नर्सिङ कलेजहरु बन्द हुन पुगेको उल्लेख गरे ।
आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरुको अभाव हुन सक्ने उनले बताए ।