भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र | Khabarhub Khabarhub

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन् । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर उनले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै  पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ ।

‘पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ’, विश्वकर्माले भने, ‘भोजपुरे खुकुरी बनाउने हाम्रो पुर्ख्यौली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्‍याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।’

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जंगबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए । तत्कालीन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चढाएवापत एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए ।

‘भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ’, उनले भने, ‘मैले त्यही पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।’

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसा गर्दै आएका विश्वकर्माले आफूले बनाएको खुकुरी एक हजार पाँच सयदेखी ३० हजारसम्ममा बिक्री गर्दै आएको बताए । यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको सुनाए । आफूले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए ।

अठार वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताए । ‘भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु’, उनले भने,  ‘गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महंगा छन् । अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ । पहिलोपटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ ।’

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए । गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । पुर्ख्यौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्याउने लक्ष्यले स्नातक तह पढेका उनी कालिगड पेसा गर्दै आएको बताउँछन् । मिहिनेत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउँछन् ।

‘यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ’, उनले भने, ‘हाम्रो गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ । यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु । यसबाट आम्दानी पनि राम्रै छ ।’

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ । खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा संकटमा पर्ने अवस्था छ । व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

‘यो व्यवसाय सञ्चालन गर्न धेरै नै समस्या छन्’, विश्वकर्माले भने, ‘दैनिक कामकाजका लागि कोइला, बिँड र दापका लागि चाहिने काठसँगै गुणस्तरीय फलाम पाउन मुस्किल पर्छ । बनाएको खुकुरी बिक्रीका लागि उपयुक्त बजार छैन । बिचौलियाको मारमा हामी उत्पादक परेको अवस्था छ । सरकारले बजारीकरणका साथै आवश्यक सहयोग दिए सहज हुने थियो ।’

एउटा सादा खुकुरी बनाउन दुई जनालाई एक दिन र ठूलो तथा बुट्टा भएको खुकुरी र दाप बनाउन चारदेखि पाँच दिनसम्म लाग्ने गरेको छ ।

‘भोजपुरे खुकुरी भन्नेबित्तिकै बनावट र आकार नै विषेश प्रकारको हुन्छ’, विश्वकर्माले भने, ‘घरेलु औजारको प्रयोग गर्दै हातको सहायताले निर्माण गरिने भएकाले यो खुकुरी गुणस्तरीयसँगै  आकर्षक देखिन्छ । तर उपभोक्ताले सस्तो खोज्ने चलन छ । बजारमा पाउने खुकुरी र हामीले बनाएको भोजपुरे खुकुरीमा फरक छ ।’

खुकुरी बनाउने पराम्परागत शैलीलाई यथावत राख्दै पेसालाई जोगाउन राज्यले समस्याको पहिचान गरी आवश्यक सहयोगसँगै प्रोत्साहनका कार्यक्रम सञ्चालन गरे यसलाई बचाइराख्न टेवा पुग्ने कालिगड विश्वकर्मा बताउँछन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ९ : ०८ बजे

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको