विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

आज भदौ २७ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १३ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन
चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् ।

रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

रक्षामन्त्री साङ्फुले पछिल्लो पटक चीन–अफ्रिका शान्ति र सुरक्षा फोरमलाई सम्बोधन गरेका थिए । त्यसअघि उनी एसियाको प्रमुख रक्षा शिखर सम्मेलन सांग्रिला फोरममा सहभागी हुन रुस पुगेका थिए । सो क्रममा लीले ताइवानको विषयमा बोल्दै अमेरिकाले आगोसँग खेलिरहेको भन्दै चेतावनी दिएका थिए ।

यता, चिनियाँ राष्ट्रपति सी चिनफिङले भने देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् । त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।

यसअघि तत्कालीन चिनियाँ विदेशमन्त्री छिन काङ गायब भएका थिए ।

मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् ।

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ । लाखौं घरबारविहीन भएका छन् ।

भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पुर्‍याउने प्रयासलाई तीव्र गतिमा अघिबढाएका छन् । यद्यपि खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन् । राहत सामग्रीले भरिएका सवारी साधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन्

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ । उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ ।

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार नौ सय एक जनाको मृत्यु भएको तथा पाँच हजार पाँच सय ३० जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिन भएको छ । सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन् । यद्यपि अन्य प्रभावित स्थलमा युद्धस्तरमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन् ।

अन्तरराष्ट्रिय रेडक्रस, रेडक्रिसेन्ट, संयुक्त राष्ट्रसंघीय निकाय तथा केही स्वदेशी परोपकारी संस्था राहत सामग्री लिएर भूकम्प प्रभावित भेगमा पुगेका छन् । खोज तथा उद्धारका काम युद्धस्तरमा भइरहेका छन् । सरकारले सबै सामाजिक सङ्घसंस्थालाई सहायताका निम्ति आह्वान गरको छ ।

रुसी राष्ट्रपतिलाई भेटेर नेता किम स्वदेश प्रस्थान
आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरेर उत्तर कोरियाली सर्वोच्च नेता किन जोङ उन स्वदेश प्रस्थान गरेका छन् ।

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो अभेद्य रेलमा स्वदेश फर्किएका रुसी समाचार संस्था आरआईए नोवो स्तीले जनाएको छ । उनी राष्ट्रपति पुटिनको निमन्त्रणामा रुस भ्रमणमा थिए।वार्ताका क्रममा उत्तर कोरियाली नेताले राष्ट्रपति पुटिनलाई मस्कोका सेनाले आफ्ना शत्रुहरूमाथि ‘महान् विजय’ हासिल गर्ने आश्वासन दिएको रुसी समाचार समितिहरूले जनाएका छन् । उनले रुसी सेनाको प्रशंसा गर्दै युक्रेन युद्ध जित्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पुटिनले दुई देशबीचको सहयोग र मत्री भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै रुस र उत्तर कोरियाको समृद्धिको कामना गरेका थिए। उत्तरबाट हतियार आपूर्ति तथा रुसबाट जासुसी उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने प्रविधि हस्तान्तरण तथा खाद्यान्नलगायत सहयोगबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

लिबियामा तटबन्ध भत्किँदा मृत्यु हुनेको सङ्ख्या ५ हजार नाघ्यो, १० हजार बेपत्ता
लिबियामा आएको बाढीले तटबन्ध भत्किँदा धेरै सहरमा क्षति पुर्‍याएको छ । हालसम्म देशभर ५ हजार दुई सय भन्दा बढीको मृत्यु भएको बताइएको छ ।

सो बाढीमा परी १० हजार जना बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ । यहाँ वर्षा र बाढीले बाँध भत्काएर छिमेकी क्षेत्र पनि बगाएको छ । बाढीको सबैभन्दा बढी असर डेर्ना सहरमा परेको छ, जहाँ अहिलेसम्म सात सय मानिस पुरिएका छन् ।

भीषण बाढीका कारण उद्धार टोलीले शव फेला पार्न सकेको छैन । लिबियाको पूर्वी सरकारका स्वास्थ्य मन्त्री ओस्मान अब्दुल जलीलले अवस्था नाजुक रहेको बताए। डेर्ना घटनास्थल पुगेका उस्मान अब्दुल जलीलले सहरका विभिन्न अस्पताल शवले भरिएको बताए ।

डेर्ना सहरमा मात्रै २ हजार ३ सय मानिसको मृत्यु भएको अधिकारीहरूले अनुमान गरेका छन्। रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लागि लिबियाका राजदूत तामेर रमादानले अभूतपूर्व बाढीका कारण १० हजार मानिस बेपत्ता भएको बताए।

प्रधानमन्त्री ओसामा हमादले दुई बाँध भत्किँदा धेरै बेपत्ता भएका र धेरैजसो बाँच्ने सम्भावना कम रहेको बताएका छन्।

लिबिया सरकारका अनुसार क्षति भएका अन्य सहरहरूमा सुसा, मार्ज र शाहत पर्छन्। बेनगाजी सहर र पूर्वी लिबियाको अन्य ठाउँमा स्कुल र अन्य सरकारी भवनहरूमा शरण लिएका थिए। हजारौँ परिवार विस्थापित भएका छन् ।

डेर्ना सहरको मध्यभागमा रहेको पहाडबाट बग्ने वादी–डेरना नदीको तटबन्ध भत्किएपछि सबै आवासीय बस्ती ध्वस्त भएका हुन् ।

लिबियामा बाढी : एकै शहरका तीस हजार बढी विस्थापित
लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन(आईओएम) ले जनाएको छ ।

‘पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,’ आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ ।

गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ(शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गरेका थिए। नेता किमले राष्ट्रपति पुटिनलाई उनको व्यस्त कार्यतालिकाका बाबजुद पनि भ्रमणका निम्ति निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरे। यसबाट उत्तर कोरिया र रुसबीचको रणनीतिक सम्बन्ध र दुवै देशका समान प्राथमिकता प्रतिबिम्बित भएका उनले उल्लेख गरे ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय जगत्ले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रबल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार आफ्नो अभेद्य रेल चढेर रुस भ्रमणमा आएका नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा ल्याउनुको अर्थ हतियार वार्ता हो भन्ने स्पष्ट हुन्छ ।

राष्ट्रपति पुटिनले पनि हतियारलगायत सबै विषयमा छलफल हुने पत्रकारहरूलाई बताउनु भएको छ । हतियार आपूर्ति वा सैन्य–प्राविधिक सहयोगबारे छलफल हुन्छ कि भन्ने पत्रकारहरूको जिज्ञासामा उनले त्यस्तो जवाफ दिएका हुन् । नेता किमले उत्तर कोरियाको अन्तरिक्ष कार्यक्रम विकास गर्न चाहेको बताउँदै त्यसनिम्ति भूउपग्रह सहयोग गर्ने उल्लेख गरे ।

युक्रेनविरुद्धको युद्धमा रुसलाई गोला बारूदलगायत हतियारको धेरै आवश्यकता परेको छ । विश्वका सबैभन्दा धेरै सैन्य सामथ्र्य भएका देशमध्येको एक उत्तर कोरियाले रूसलाई आफूसँग भएका तोप, गोली र रकेट प्रस्ताव गर्ने सम्भावना छ । प्योङयाङले पुराना क्षेप्यास्त्र पनि प्रदान गर्नसक्ने विश्लेषकहरू बताउँछन् । उत्तर कोरियाको हतियार भण्डारमा रुसलाई चाहिने यथेष्ट उपकरण छन् किनभने उत्तर कोरियाले सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएयता कुनै युद्ध लडेको छैन ।

यसैबीच, उत्तर कोरियाली नेता रुसमा रहेका बेला दक्षिण कोरिया र जापानले उत्तर कोरियाको पूर्वी तटबाट प्योङयाङले छोटो दरीका दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ७ : ५९ बजे

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो

लिङ्देनको सुझाव : संसद् खोल्न समिति बनाऊँ, गृहमन्त्रीको राजीनामा पछिको कुरा हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र

चितवन निकुञ्जका जनावरको आक्रमणबाट सात जनाको मृत्यु

चितवन– जंगली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ ।

अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं- गत २९ बैशाखदेखि अनसन सुरु गरेका डा. गोविन्द केसीको

८ करोडको कोकिनसहित तीन विदेशी महिला पक्राउ, एकजनाको पेटमा भेटियो एक केजी २६० ग्राम

काठमाडौं- प्रहरीले युगान्डाबाट आएका दुईजना महिलालाई करिब ८ करोड रुपैयाँको