विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २६ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १३, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश

इजरायली सेनाले शुक्रबार गाजाका २३ लाख जनतामध्ये करिब आधालाई उक्त सहर खाली गर्न आदेश दिएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । इजरायलमाथि हमासको भयानक आक्रमणपछि हमास लडाकु समूहलाई निमिट्यान्न पार्ने लक्ष्यका साथ जमिन आक्रमण गर्नुअघि सेनाले उक्त आदेश दिएको हो ।

उक्त आदेशले यस अघिदेखि नै इजरायली हवाई हमला र नाकाबन्दीको सामना गरिरहेका सर्वसाधारण र सहायताकर्मीहरू आतङ्कित भएका छन् । इजरायली सेनाले गाजा सिटीका लाखौँ नागरिकलाई गहिरो दक्षिणी गाजा पट्टीतर्फ भाग्न चेतावनी दिँदै बिहान गाजा सिटी खाली गर्ने आदेश दिएको थियो ।

गाजा सिटीका सुरुङमुनि हमास लडाकुहरू लुकेर बसेको इजरायलको आदेशमा आरोप लगाइएको थियो । “यो निष्कासन तपाईं आफ्नै सुरक्षाका लागि हो”, गाजा सिटीका नागरिकहरूलाई पठाइएको चेतावनीमा इजरायली सेनाले भनेको छ । बिहीबार संयुक्त राष्ट्रसङ्घले इजरायली सेनाबाट न्यूयोर्कमा उत्तरी गाजाका सबै ११ लाख सर्वसाधारणलाई दक्षिणतिर भाग्न २४ घन्टाको समय दिएको एउटा छुट्टै निर्देशन प्राप्त गरेको बताएको छ ।

सन् २००७ देखि गाजामा शासन गरेको हमासले उक्त आदेशलाई खारेज गरेको छ । उसले प्यालेस्टाइनीहरूलाई आफ्नो घरमै रहन र कब्जा गरेर छेडिएको मनोवैज्ञानिक युद्धको सामना गर्न दृढ रहन आह्वान गरेको छ । “यो अराजकता हो, के गर्नुपर्ने कसैले बुझेको छैन”, गाजा सिटीमा संयुक्त राष्ट्रसङ्घ प्यालेस्टिनी शराणार्थी एजेन्सीकी अधिकारी इनास हमदानले भने । उनले गाजा सिटी र उत्तरी गाजामा रहेका राष्ट्रसङ्घका सबै कर्मचारीहरूलाई दक्षिणी रफाहमा जान भनिएको बताए ।

चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार

चीनमा इजरायली कूटनीतिज्ञमाथि छुरा प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो ।

यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थीर रहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

एक्सले हटायो हमास सम्बद्ध सयौँ खाता

इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (यसअघिको ट्विटर) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान नरहेको भन्दै कम्पनीले ती खाता बन्द गरेको हो ।

“एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ”, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, “आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।”

युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ ईयू अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।

ईयूको नयाँ डिजिटल सेवा कानूनअन्तर्गत एक्स र मेटाको फेसबुक जस्ता ठूला अनलाइन प्लेटफर्मलाई अवैध सामग्री हटाउन र सार्वजनिक सुरक्षाका साथै नागरिक बहसमाथिको खतरालाई सम्बोधन गर्न सक्रिय उपाय अवलम्बन गर्न आवश्यक छ । थिएरी ब्रेटोनले गत सोमबार इजराइलमा भएको हमलापछि आफ्नो प्लेटफर्ममार्फत भएका दुष्प्रचारको सामनाका लागि गरिएका कारवाहीका बारेमा जानकारी दिन मेटा (फेसबुक) लाई पनि २४ घन्टाको समय दिएका थिए ।

इजरायलमाथि हमासको आक्रमणपछि अमेरिकी विदेशमन्त्री ब्लिङ्केन अरबको देशको भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गरेका छन् । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजा पट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब राष्ट्रहरूको दबाब बढाउने खोजीमा उनले अरब मुलुकहरूको भ्रमण सुरु गरेका हुन् ।

उनले लामो समयदेखिको अमेरिकाको साझेदार जोर्डका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग अम्मानमा भेट गर्नेछन् । त्यसपछि उनले कतार, साउदी अरेबिया, इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नेछन् ।

गत शनिबार हमासको आश्चर्यजनक हमलापछि अमेरिकी सहयोगी इजराइलसँग अटुट एकताको प्रतिबद्धता व्यक्त गर्दै विदेशमन्त्री ब्लिङ्केनले बिहीबारको दिन तेल अभिभमा बिताएका थिए । हमासको उक्त आक्रमणमा इजराइलमा एक हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने एक सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ ।

हमासको आक्रमणपछि इजराइलले गाजा पट्टीमा गरेको हमलामा एक हजार चार सयभन्दा बढीको मृत्यु भएको छ । साथै इजराइलले गाजा पट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ । हमासको लामो समयदेखि सम्बन्ध रहेको कतारलाई बन्धकहरूलाई मुक्त गराउन मध्यस्थकर्ताको रूपमा हेरिएको छ । विदेशमन्त्री ब्लिङ्केन जोर्डनपछि तुरुन्तै कतार जानेछन् ।

“द्वन्द्वलाई थप चर्काउनबाट रोक्न सहयोग गर्न र बन्धकहरूलाई बिनाशर्त तुरुन्त रिहा गर्न हमाससँग आफ्नो प्रभावको प्रयोग गर्न अरब मुलुकहरूमाथि दबाबलाई जारी राख्नेछौँ”, तेल अविवमा बिहीबार अबेर ब्लिङ्केनले भने, “अरब क्षेत्रलाई अधिक शान्तिपूर्ण, अधिक समृद्ध, अधिक सुरक्षित र अधिक एकीकृत बनाउनका लागि हाम्रो सकारात्मक दृष्टिकोणलाई कसरी साकार बनाउन सक्छौँ भन्नेबारेमा पनि हामी छलफल गर्नेछौँ, वास्तवमा यो एउटा विकल्प हो र केही हदसम्म यो विकल्प हमासको कामभन्दा पनि स्पष्ट भएको छ ।”

हमासको आक्रमणभन्दा केही साताअघि साउदी अरेबियाले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गर्ने अमेरिकी नेतृत्वको कूटनीतिको प्रगतिबारे उल्लेख गरेको थियो । इस्लाम धर्मका दुई पवित्र स्थलको संरक्षकसमेत रहेको साउदी अरेबियाका लागि उक्त कूटनीतिक प्रयास ऐतिहासिक कदम हो । इजरायलसँग शान्ति कायम गर्ने पहिलो अरब मुलुक इजिप्टसँग अमेरिकी अधिकारीहरूले गाजाबाट बन्धकहरूलाई बाहिर निकाल्न सुरक्षित कोरिडोरको योजनामा काम गरिरहेका छन् ।

इजिप्ट गाजाको सीमा पनि हो । गाजा छोड्न वा त्यहाँबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सुरक्षित बाटोको सम्भावनाबारे इजरायलसँग आफूले कुरा गरेको ब्लिङ्केनले बताए । हमासको लामो समयदेखिको शत्रु र झण्डै ८८ वर्ष पुग्नुभएका महमुद अब्बासको प्यालेस्टिनी अथोरिटीले पश्चिम किनारमा सानो स्तरको स्वायत्तता पाएको छ ।

पश्चिम किनारमा रहेको गाजापट्टीमाथि हमासको नियन्त्रणका कारण इजरायलले १७ वर्षदेखि गाजा पट्टीमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट्सहरूको नेतृत्वमा रहेको अमेरिकाले प्यालेस्टिनी अथोरिटीलाई ठूलो मात्रामा समर्थन गर्दै आएको छ । प्यालेस्टिनी अथोरिटीलाई इजरायलसँगको दीर्घकालीन शान्तिका लागि उनीहरूले उत्तम विकल्पका रूपमा हेर्दै आएका छन् ।

तर हिंसा रोक्न अब्बास यथेष्ट रूपमा प्रतिबद्ध नभएको भन्दै इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी अथोरिटी र अब्बासलाई पन्छाउन खोजेका छन् । उनको उग्र दक्षिणपन्थी सरकारले दुई राज्य समाधानको सम्भावनालाई अस्वीकार गर्दै आएको छ ।

जोर्डनका राजा अब्दुल्लाहसँगको भेटपछि बिहीबार अब्बासले द्वन्द्वका बारेमा सार्वजनिक टिप्पणी गरेका थिए । उनले प्यालेस्टिनी जनतामाथिको व्यापक आक्रमणलाई तुरुन्त अन्त्य गर्न आह्वान गर्दै दुवै पक्षबाट भएको नागरिकहरूको हत्या वा उनीहरूमाथि हुने दुर्व्यवहार अस्वीकार्य रहेको जनाए ।

यसअघि अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले हमासले गरेको हमलाका बारेमा अब्बाससँग टेलिफोनमा कुराकानी गर्दै हिंसाको भर्त्सना गर्न र पश्चिम किनारमा स्थिरता कायम राख्न आग्रह गरेका थिए ।

रुसी ओलम्पिक समिति निलम्बन

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यद्यपि पेरिस–२०२४ मा रुसी खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिने वा नदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । “युक्रेनको राष्ट्रिय ओलम्पिक सङ्गठन (एनओसी) को अधिकारमा रहेका क्षेत्रीय खेल सङ्गठनहरू (डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिज्जिया) लाई सदस्यका रूपमा सन् २०२३ अक्टोबर ५ मा रुसी ओलम्पिक समिति (आरओसी) ले समावेश गर्न लिएको एक पक्षीय निर्णय ओलम्पिक चार्टरको उल्लङ्घन हो किनकी ओलम्मिक चार्टरअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) द्वारा मान्यताप्राप्त युक्रेनको एनओसीको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको छ’, आईओसीले एक विज्ञप्तिमा भनेको छ ।

आईओसीको उक्त निर्णयसँगै ओलम्पिक चार्टरले परिभाषित गरेअनुसार अब आरओसीलाई राष्ट्रिय ओलम्पिक समितिका रूपमा सञ्चालन गर्ने अधिकार हुने छैन । विज्ञप्तिमा अब आरओसीले ओलम्पिक अभियानबाट कुनै रकमसमेत प्राप्त गर्न सक्ने छैन ।

विज्ञप्तिमा आईओसीले भनेको छ, ‘पेरिस–२०२४ ओलम्पिक प्रतियोगिता र मिलानो कोर्टिना–२०२६ शीतकालीन ओलम्पिक प्रतियोगितामा रुसी राहदानीधारी व्यक्तिगत तटस्थ खेलाडीहरूको सहभागिताबारे उचित समयमा निर्णय गर्ने अधिकार समितिले सुरक्षित गर्दछ ।’

इजरायलमाथि आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछ : हमास

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरबारविहीन भएका छन् । गत शनिबार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथि आक्रमण गरे पछि उत्पन्न विषम परिस्थितिका कारण लाखौं मानिस घरबार विहीन भएका छन् ।

इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रमण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रमण रोकिने वाला छैन । यसैबीच, हमासको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।

हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन्, ‘हामी हाम्रो भूमि रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायलमाथीको हमलालाई दोहोर्‍याउँछौं’

‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ अब शत्रुहरूले हाम्रो आक्रमणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको