'एमाले भित्रबाट भ्रष्टाचार भए सरकारले छानबिन गर्नुपर्छ' | Khabarhub Khabarhub

‘एमाले भित्रबाट भ्रष्टाचार भए सरकारले छानबिन गर्नुपर्छ’

जनताको साथमा एमालेको संकल्प यात्रा



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्य पहाडी लोकमार्गको संकल्प यात्रामा छ। समृद्धिका लागि संकल्प यात्रा नाम दिएर एमाले अध्यक्ष केपी ओलीको अगुवाइमा चलिराखेको अभियान २६ जिल्लामा केन्द्रित छ। एमालेको यो यात्रालाई आगामी चुनावको तयारीका रुपमासमेत हेरिएको छ। एमालेले स्पष्ट रूपमा जनतालाई २०८४ सालको चुनावमा केन्द्रित भएर लाग्न आह्वान गरेको छ। नेकपा कालको बहुमत सरकार, पार्टी विवाद र कम्युनिस्ट विभाजनको दागबाट एमाले मुक्त हुन सकेको छैन। यी समस्याबाट एमाले ०८४ सालमा मुक्त हुने आधार के छन् ? एमालेले ‘मिसन ग्रासरुट’ पछि चलाएको अहिलेको मध्य पहाडी लोकमार्ग अभियान सत्ता नपाउँदाको छटपटी हो कि २०८४ को चुनावी त्रास ? यी र यस्तै विषयमा केन्द्रित भएर एमाले स्थायी कमिटीका सदस्य शेरबहादुर तामाङसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

एमालेले सत्ता नपाएपछि जिल्ला पस्यो भन्छन्। सत्ता नपाएको छटपटी नै तपाईंहरुको यो अभियान हो ?
मानिसले अनुमान गर्न सक्छन्। तर हामीले निर्वाचनलाई लक्षित गरेर यो अभियान गरेको होइन। नेपाली जनता र नेपाल राष्ट्र अहिले विस्तारै जुन ढंगले माथि बढ्नुपर्ने हो त्यो भएको छैन। हामीले २०७४ सालदेखि साढे तीन वर्ष सरकार चलायौँ। त्यतिबेला राष्ट्रमा सकारात्मकता बढेको थियो। आर्थिक गतिविधि बढेको थियो।

देशका धेरै सूचक सकारात्मक थिए। विश्वमा तीव्र आर्थिक वृद्धि गर्ने मुलुकमा नेपाल परेको थियो। तर पछि जब केपी ओलीलाई विस्थापन गर्यो त्यसपछिदेखि राष्ट्रको अवस्था धेरै तल झर्न थाल्यो। यसको परिणाम स्वरूप आम जनतामा निराशा पैदा भएको छ। त्यो निराशाले प्रणालीमा पनि प्रश्न उठ्न थालेको छ।

राज्य सत्ता यसरी मात्र चल्दैन भनेर हामीले एउटा सन्देश दिन खोजेका हौं। मुलुकमा हामीले राजनीतिक परिवर्तन त गर्यौँ। अब आर्थिक परिवर्तन पनि गर्नुपर्छ। त्यही आर्थिक परिवर्तन वा समृद्धिको एजेन्डा बोकेर नेकपा (एमाले) जनताको साथमा गएको हो। हामी जनताको साथमा छौँ है भन्ने सन्देश दिन यो अभियानमा लागेका हौँ।

स्याङजामा भाषण गर्दै केपी शर्मा ओली

अब २०८४ को चुनावमा केन्द्रित हुनु भनेर पार्टी अध्यक्षले आह्वान गर्नुभएको छ। यत्ति चाँडै तपाईंहरुको अभियान चुनाव केन्द्रित किन ?

जनतासँग जोडिने कुरा हो। हामीले जति बेला सरकार सञ्चालन गरेका थियौँ त्यो अवधिमा केही सकारात्मक विकासका काम भए। अहिले पनि हामीले मध्य पहाडमा हिँड्दै गर्दा के सम्भावना देखेका छौं। आज मध्य पहाडी पुष्पलाल लोकमार्ग हामीले निर्णय गरेर सुरुवात गर्यौँ। आज ती बस्तीलाई केन्द्रीकृत गरेर त्यहाँ नयाँ सहरको परिकल्पना गरिएको छ।

त्यसमा अरु १५ देखि २० वटा थप प्रस्ताव छन्। ती प्रस्ताव गरेर नयाँ सहरको परिकल्पना गर्ने, पहाडी भेगमा के त्यस्तो परियोजना बन्नसक्छ। जसले गाउँ मै बसेर केही गर्न सक्छु भन्ने भावना विकास गर्ने हो। यो अभियानमा जाने क्रममा एमाले बाहेक अर्को विकल्प नभएको कुरा जनतालाई जानकारी दिँदै हिँडेका छौं। एमालेलाई विश्वास गर्नुहोस्।

हामी फेरि मध्यावधि भन्दै नयाँ डम्फु बजाउँदै हिँड्ने वाला छैनौँ भन्ने सन्देश दिएका छौं। ०८४ सालमा एमालेलाई एकचोटी विश्वास गर्नुहोस् र हामी गर्छौ भन्ने हाम्रो प्रतिबद्धता हो। हिजो हामीले एकलौटी रूपमा सरकार सञ्चालन गर्न पाएका पनि छैनौँ। त्यसैले एक पटक एमालेलाई विश्वास गर्नु भनेर पार्टी अध्यक्षले बोल्नु भएको हो।

यो भन्दा अगाडिको चुनावमा जनताले सरकार चलाउन झन्डै दुई तिहाइको म्यान्डेट पनि दिएको हो। तपाईंलाई मध्यावधि जानुपर्यो, संसद् भङ्ग गर्नुपर्यो अब फेरि हामीलाई दुई तिहाइ नजिकको बहुमत देऊ हामी स्थायित्व दिन्छौँ भनेर गयो भने जनताले पत्याउँछन् त ?

०७४ सालमा हामीलाई जनताले किन म्यान्डेट दिए भने हामी दुई कम्युनिस्ट पार्टी मिलेर जानेछौँ भनेर तालमेल गरेर गएका थियौँ। त्यसलाई जनताले रुचाएका थिए। पछि हामीले नेकपा बनायौँ।

पछि प्राविधिक सत्ता स्वार्थ र केही व्यक्तिको निहित स्वार्थको कारण त्यो पार्टीमा समस्या आयो। नेकपा भित्र रहेका सत्ता स्वार्थको कारणले समस्या पैदा भयो। त्यसैले हामीले लामो समय त्यो एकीकरण टिकाउन सकेनौँ। यसको जिम्मा हामीले लिएका छौँ। तर पार्टी भित्र एमालेलाई जसरी पनि सिध्याउने खालको खेल भएपछि हामीले त्यो बहुमत टिकाउन सकेनौँ। त्यसपछि हामी जब छुट्यौँ। उहाँहरू गठबन्ध गर्न लाग्नुभयो तर समृद्धिको बाटो छोड्नुभयो।

समृद्धिको नेतृत्व गरेको भए जनताले स्वीकार गर्थे। तर निर्वाचनमा स्वीकार गरेनन्। त्यो बेलाको एकीकरणलाई टिकाउने कुरामा हाम्रो भागको दोष जति छ त्यो लिन तयार छौँ। तर त्यति बेला टिकाउन सकेनौँ। नेकपा एकीकरण टुट्यो भनेर मुलुकलाई त्यत्तिकै छोड्नु हुँदैन। त्यो खालको भावना हाम्रो रहेन।

त्यसैले मुलुकलाई निर्माण गर्नु हाम्रो पनि दायित्व हो। हामी राज्यको प्रमुख राजनीतिक दल हुनुको नाताले जनतालाई जागरुक गरौँ र जनतालाई आशाको सन्देश दिऊँ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका छौँ।

यसबाट हामीले जनतालाई खुसी देखेका छौं। ज्येष्ठ नागरिकले पनि मध्य रातमा आफ्नो प्रिय नेतालाई स्वागत गरेका छन्। हामी यत्तिकै हिँडेको छैनौँ। कहाँ के सम्भावना छ भनेर पनि हाम्रो टोली हेर्दै हिँडेको छ।

तपाईंहरू ७४ सालको चुनावपछि एउटा रक्षात्मक अवस्थामा पुग्नु भयो। त्यहीबाट पाठ सिकेको भए हुन्थ्यो, फेरि पुस १० गते तिर रक्षात्मक बनेर सरकारमा जान प्रचण्डलाई बोक्नुभयो, त्यहाँ पनि भएन धोका खानु भयो, फेरि कोशी प्रदेश तिर रक्षात्मक बन्नु भयो। त्यही समयमा सत्ता र शक्तिबाट पर बस्न किन सक्नु भएन ?
यसमा कुन दृष्टिकोणबाट हेर्ने भन्नेमा फरक पर्छ। हामीले प्रस्ट रूपमा भनेका छौँ। त्यति बेला सरकार गठन गर्दा पनि गठबन्धन गरेर चुनावमा जाँदा पनि उहाँहरूले बहुमत ल्याउनु भएन। को प्रधानमन्त्री बन्ने भनेर बस्नु भयो। हामी पनि बनाओस् भनेर बस्यौँ तर उहाँहरूको सत्ता स्वार्थको चलखेलमा मुलुक छ। मध्यावधिमा जाने संकेत हामीले पायौँ। त्यो नहोस् भनेर प्रचण्डलाई समर्थन गरेका हौँ। त्यो फिल्ड नै भत्किएपछि खेल त चल्दैन। त्यसैले हामी लिक भन्दा बाहिर जान लागेको रेललाई लिकमा ल्यायौ। त्यसपछि उहाँहरू त्यहाँ गुड्न लागेपछि पो फेरि लाइनमा उभिनु भयो र गठबन्धन बन्यो।

कोशीमा पनि त्यो बेला हामीले सरकार गठनको पहल नगरेको भए त्यो मध्यावधिमा जाने बाहेक अर्को विकल्प थिएन। अहिले त मध्यावधिको रन्को हुन्थ्यो कोशीमा। हामी सत्ताको लागि होइन मुलुकको दायित्वबोध जिम्मेवारीका साथ लागेका छौं। मुलुकलाई मध्यावधिमा लगेर अर्बौँ रुपैयाँ नोक्सान गर्नु हुँदैन भनेर त्यो बेला उहाँहरूको गठबन्धन भित्र केही खटपट भएपछि संसद् जोगाउनुपर्छ भनेर बेला समर्थन गरेको हो। सत्ताको कुरामा यसलाई जोड्नु हुँदैन।

अहिले देशका विभिन्न भागमा राजावादी र हिन्दुवादी अलि बढी सङ्गठित भएर आए। यिनीले व्यवस्था नै पल्टाइदिन्छन् कि भनेर यो अभियान सुरु गर्नुभएको हो ?
उहाँहरूले केही अभियान चलाउनु भयो। तर त्यो भन्दा धेरै अगाडि हाम्रो पार्टीले ‘मिसन ग्रास रुट’ भन्ने अभियान चलाएका थियो। तल सङ्गठनहरूलाई चलायमान गर्नको लागि यो अभियानको सुरुवात गरेका हौँ।

ठिक छ विभिन्न राजनीतिक दलहरूले आफ्ना गतिविधि गर्न पाउँछन्। हामी कुनै पार्टीको दुस्मन होइन। हाम्रो पार्टीको निर्णय र हामीले यो स्थानीय जनतासँग मुलुकमा केही बन्न सक्छ र यो मुलुकमा सम्भावना छ भनेर यो अभियान गरेको हौँ। कसैसँग प्रतिस्पर्धा र तर्सिएर यो गरेको कसैले बुझ्नु हुँदैन।

मंसिर १४ गतेबाट ३ साताको लागि भनेर तपाईँहरूले मध्य पहाडी लोकमार्ग संकल्प यात्राका सन्दर्भमा लावालस्कर सयौँ गाडीहरू लगाएर हिँड्नु भएको छ। यो पैसा कहाँबाट आएको छ ?
अहिले हामीलाई स्थानीय कमिटीहरूले सहयोग गरेका छन्। हिँड्दा पनि व्यक्तिले नै फ्यूलको खर्च गर्नु है भनेका छौँ। पार्टीको केन्द्रीय टोलीलाई पार्टी केन्द्रको खाताबाट केही तेल खर्च जुटाएका छौं। खाना खाने कुराहरू स्थानीय कमिटीले नै गरेका छन्।

झट्ट हेर्दा धेरै खर्च भएको जस्तो देखिन्छ। पहिला हामीले पार्टीको विधान १० औँ राष्ट्रिय महाधिवेशन गर्यौँ बाहिरबाट हेर्दा धेरै खर्च भयो भन्ने देखिन्छ। हामीले खर्च सार्वजनिक गरेका छौँ। पार्टीको सदस्यबाट उठेको सदस्य शुल्कको खर्चबाट ३/४ करोड भित्र ती कार्यक्रम सम्पन्न गरेका छौँ। त्यसैले हामी मितव्ययी ढङ्गले नै गर्छौँ। यसरी हेर्दा त्यो गाडीको फ्यूल खर्च नै देखिने हो।

यो खर्च चुनावको मुखमा यो ढंगले गरिदिएको भए निर्वाचन आचार संहिताका कुरा आउँथे होला अहिले सजिलो हुने रहेछ ?
यो व्यक्तिहरू अभियानमा स्वयम् हामी पनि जोडिन्छौँ है भन्दा केही हजार खर्च गर्न सक्ने मान्छेहरू होलान्। त्यसो भएको कारणले उहाँहरू जोडिनु भएको छ। सबै टोली मूल टोली सानो सङ्ख्याको हो। हामी बीच बीचमा जोडिन्छौँ। जहाँ जुन जिल्लामा जान्छौँ त्यही जिल्लाको साथीहरू जोडिनु हुन्छ। एक दिनको लागि सवारी खर्चको व्यवस्था पनि गर्नु भएको छ। यसरी हेर्दा ठुलो देखिनु स्वाभाविक हो।

तपाईंहरू जिल्ला केन्द्रित भएर यस्तो कार्यक्रम गरिरहँदा यता केन्द्रमा एनसेलको अनियमितता प्रकरणमा मुलुक जुधिरहेको छ। सरकारले सुशासनका कुरा गरिराखेको छ तर धमाधम अनियमितताका सन्दर्भ बाहिर आएका छन्। एमालेको काम खबरदारी गर्नुपर्ने हो। तर त्यो भूमिकाबाट एमाले विचलित भएको हो कि केन्द्रमा एमाले देखिएन भन्छन् नि ?
यो अभियान पनि हामीले जनतालाई सचेत गराउने उद्देश्यले गरेका हौं। जनता एमालेसँग जोडिनुपर्छ भन्ने उद्देश्यले गरेका हौं। अहिले पनि ठूलाठाला मान्छे उम्किएर १०/२० हजार घुस खने कर्मचारी पक्राउ परेका छन्। तर ठुलो भ्रष्टाचार गर्ने व्यक्ति पक्राउ पर्ने अवस्था देखिएन। ठूला भ्रष्टाचारीले चारै तिर सेटिङ मिलाउन सक्ने रहेछन्। नेकपा (एमाले)ले यो कुरालाई सचेतता पूर्वक हेरिरहेको छ। त्यसैले कोही मान्छे पैसा खुवाएर छुटिरहेको छ तर हामी आएपछि प्रत्येक चिजको छेडखानी गर्ने छौँ। कुनै भ्रष्टाचारीलाई छुट छैन।

हामीले त ४७ साल यताका सबै न्यायाधीश प्रशासकका छानबिन गरौँ भनेका छौँ। एमाले नाम गरेर भ्रष्टाचार गर्नु हुँदैन। एमाले भित्र पनि खराब छन् भने हामी सफा गर्छौँ। अहिले आएका ठूला- ठूला भ्रष्टाचारका कुरामा खायौँ पचायौँ भन्ने छैन। हामीले हेरिरहेका छौँ बोलिरहेका छौँ। एमाले भित्रबाट कसैले भ्रष्टाचार गरेको छ भने सरकार उहाँहरू कै छ, संयन्त्र उहाँहरूकै छ, छानबिन गर भनेर हाम्रो अध्यक्षले भन्नु भएको छ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : १८ बजे

सयको नोटमा चुच्चे नक्साबारे भारतीय विदेशमन्त्रीको टिप्पणी

काठमाडौं– नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ चुच्चे नक्सा

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।