हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न हुने एक प्रकारको रोग हो। शरीरको कुनै अङ्ग आफ्नो सामान्य स्थितिभन्दा धेरै बढ्यो भने त्यसलाई हर्निया भनिन्छ। यो शरीरको कुनै पनि भागमा हुनसक्छ। मानिसलाई धेरैजसो पेटको हर्निया हुनसक्छ। धेरैजसो हर्निया छालाभन्दा भित्र नै उत्पन्न हुन्छ। कुनै हर्नियामा दुखाइ नभई खोक्दा अथवा शौच गर्दा मात्र देखिने हुन्छ। पेटको एब्डोमिनल वाल कमजोर भएर पेटभित्र रहेको कुनै भाग जब बाहिरतिर निस्किन लाग्छ, यसैलाई हर्निया भनिन्छ। हर्नियाको समस्या जन्मजात पनि हुनसक्छ। यसै विषायमा आधारित भएर खबरहबका लागि मेडिसिटी अस्पतालमा कार्यरत जनरल तथा ग्याष्ट्रो सर्जन डा. पवन सिंह भाटसँग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
हर्नियालाई हामीले कसरी बुझ्ने ? कुनै कारणवश मानव शरीरको मांसपेशीको कमजोरीको कारणले भित्रको अङ्गहरू बाहिर निस्केर एक प्रकारको समस्या दिने कारण नै हर्निया हो। कुनै पनि कारण जसले पेटको मांसपेशीलाई कमजोर गर्दछ। यस्तो अवस्थामा हर्निया हुने सम्भावना हुन्छ।
सबैमा एउटै प्रकारको हर्निया देखा पर्ने हो ? धेरै प्रकारको र धेरै ठाउँअनुसारको र धेरै किसिमको हर्निया हुन्छन्। सबै भन्दा कमन पेटको हर्निया हुन्छन्। पेटको हर्नियामा एउटा बाहिय र अर्को भित्री गरे दुई प्रकारका हुन्छन्।
हर्निया शरीरको कस्तो ठाउँमा आउँदा धेरै दुखाई हुने र कुन भागमा आउँदा केही नहुने हुन्छ ? हर्निया कहिलेकाहीँ दुखाई नभई पनि हुनसक्छ, बाहिर धेरै उभिँदा फिल भयो भने, पेटको प्रेसर बढ्दा, खोक्दा दिसा गर्दा बल गर्दा केही बाहिर निस्किने र आराम गर्दा भित्र जाने हुन्छ। कहिले काहीँ हर्नियाको प्रेसरले गर्दा दुखाइहरू हुने हुन्छ। तर दुखाई नै हुँदैन भन्ने हुँदैन।
कस्तो व्यक्तिमा देखा पर्दछ ? हर्निया दुई प्रकारको हुन्छ बाहिय र भित्री। बाहियमा कुनै पनि मान्छेले शारीरिक र फिजिकल रूपमा लामो समयसम्म उभिएर काम गर्ने जस्तो बसमा उभिने मान्छेहरूमा हर्निया हुने बढी सम्भावना हुन्छ। दीर्घ रोगी, कब्जियतका बिरामी पिसाब फेर्दा बल गर्नु पर्ने व्यक्तिमा, कुनै रोगको अप्रेसन गरेपछि त्यो ठाउँमा हिल हुने मानिसमा हर्निया हुने चान्स देखिएको छ। आन्तरिक हर्नियामा कतिपय जन्मजात नै हुने हुन्छन्। हाम्रो छाती, फोक्सो र पेटलाई छुट्टाउने जुन मसल्स हुन्छ त्यहाँ कसैको जन्मजात प्वाल हुनसक्छ। कहिले काहीँ दुर्घटना भएर त्यो प्वाल ठूलो हुनसक्छ। त्यो अवस्थामा हाइपर हर्निया हुनसक्छ। त्यसले गर्दा मान्छेमा खाएको खाना उल्टी हुने पनि हुनसक्छ।
हर्निया महिलामा भन्दा पुरुषमा किन बढी हुन्छ ? शारिरिक रुपमा काम बढी गर्ने, ठूलो कुरा उचाल्ने मान्छेमा हर्निया हुन्छ। पुरुषले बढी ठूलो भारी उचाल्ने काम गरेका हुन्छन्। पुरुषहरूले बढी खेतका कम गर्ने भएको कारणले हुने हो र उमेर बढ्दै गएपछि पिसाब गर्दा कन्ने समस्या हुने हुँदा पनि यो समस्या हुन्छ।
ग्रामीण एरियामा यो समस्या लुकाएर राख्ने पनि सुनिन्छ। समयमा उपचार नभएपछि कस्तो जोखिम हुन्छ ? समयमा उपचार भएन भने पेटतिर बाँडिएर जान्छ। जस्तो नाइटोमा पक्क फुलेर बसिरहेको हुन्छ। यो कुनै प्रेसर पर्यो भने जुन ठाउँमा सानो प्वाल हुन्छ। त्यहाँका मसल्सहरु बाहिर निस्किन्छन्। धेरै जसो समस्यामा पेटबाट बोसो बाहिर निस्किन्छ। सुतेपछि आफै भित्र पस्छ त्यो सामान्य हो। तर कुनैकुनै अवस्थामा आन्द्रा निस्कियो र भित्र छिर्न पाएन भने च्यापिएर आन्द्रा नै कुहिन सक्छ। यो अवस्थामा काटेर फाल्नु पर्ने हुनसक्छ। त्यो आन्द्रा कुहिएपछि रक्त संक्रमण सेप्सिसमा गएर बिरामीको ज्यान पनि जानसक्छ। कुनै अवस्थामा बोसो पनि निस्किएर भित्र नछिरेर बाहिर नै बस्यो भने त्यो कुहिएर समस्या आउनसक्छ त्यसैले समस्या आउने बित्तिकै उपचार गर्नु आवश्यक छ। त्यसले गर्दा जीवन जटिलतातर्फ जान सक्छ।
यो समस्या देखा परेमा तत्काल उपचार आवश्यक हुन्छ कि कस्तो हुन्छ ? यसमा कुनै स्टेज भन्ने हुँदैन। त्यसैले हर्निया एक पटक आफूलाई भएको शंका लाग्यो भने तुरुन्त जाँच गर्नु बुद्धिमानी हुन्छ।
क्यान्सर हुन्छ कि हुँदैन ? क्यान्सर हुँदैन तर यसमा क्यान्सर भन्दा पनि आन्द्रा कुहिए पछि क्यान्सर भन्दा पनि बढी खतरनाक हुन्छ। तुरुन्त अप्रेसन गरेन भने बिरामीको ज्यान जान सक्छ।
यसको उपचार कसरी गरिन्छ ? हर्नियाको औषधिको उपचार हुँदैन, अप्रेसन गरेर सन्चो हुने रोग पनि भनिन्छ। यो भनेको एक प्रकारको पेटमा परेको प्वाल हो। त्यसमा औषधि खाएर हुँदैन। अप्रेसन नै गर्नु पर्दछ। तर अप्रेसनको मोडालिटी फरक फरक हुन्छ।
कसरी कसरी गरिन्छ ? कुनै पनि भागमा हर्निया आयो भने त्यसलाई प्राथमिक मर्मत गरेर चिरेर गरिन्छ जसमा सानो दुई सेन्टिमिटर भन्दा सानो प्वाल छ भने त्यसलाई धागोले सिलाएर मात्र पनि हुन्छ। त्यो नाइटोको हर्निया हुन्छ, एपी ग्याष्ट्रिक नाइटोको माथिको पेटको भागमा हुन्छ। तर प्रतिरक्षा क्षेत्रीय हर्निया हुन्छ, त्यसको ओपन हर्निया पनि चिरेर जाली राखेर त्यो प्वाल टाल्नु लाई नै इस्ट्याण्डर मानिन्छ। एकदमै स्थायी हुने हो यो। अरू मासु सिलाएर पनि गर्न सकिन्छ। अर्को अहिले एकदमै चलेको दुर्बिन र ल्याप्रोस्कोपीको प्रविधिबाट सानो सानो प्वाल बनाएर भित्रबाटै जाली हालेर छेक्ने गरिन्छ।
यसको उपचार सबैको पहुँचमा छ ? अहिलेको अवस्थामा कति वटा ठाउँमा त सरकारले स्वास्थ्य बिमा नै गरेर क्षेत्रीयदेखि जिल्ला अस्पतालमा सहज गराएको छ। यो सबै सर्जनले गर्न सक्छन्। यो सेवाको पहुँच छ। तर ल्याप्रोस्कोपी प्रविधि ठूलोठूलो सरकारी अस्पतालमा मात्र हुन्छ।
यो अप्रेसन गर्न कति समय लाग्छ ? त्यो ठाउँको शल्य चिकित्सक गरेर हेरेपछि मात्र थाहा हुन्छ। कसैलाई ढाडमा मात्र सुई लगाएर आधा बेहोस बनाएर गर्न सकिन्छ कतिमा पुरै बेहोस बनाएर गरिन्छ। भित्री अङ्ग फोक्सोहरू ठिक छ भने तत्काल शल्यक्रिया गर्न सकिन्छ। अन्य समस्या छ भने त्यो निको बनाएर गर्न सकिन्छ।
यस्तो समस्या हुनै नदिन केके कुरामा ध्यान दिने ? पेटमा प्रेसर हुने काम नगर्ने, लामो समयसम्म उभिएर गर्ने काम छ भने बेला बेलामा आराम गर्ने, दीर्घ रोगी छन् भने खोकी लाग्दा विस्तारै पर्ने औषधि खाने, पिसाब गर्दा समस्या छ बल गर्नुपर्छ भने औषधि उपचार गरिहाल्ने। कब्जियत छ, दिसा गर्दा समय घटाउने। समयमै कब्जियतको उपचार गर्ने। जन्मजात नै हुने हर्निया पनि रोकथाम हुन सक्छ। पेटको कुनै पनि भागमा एउटा डल्लो आउँछ र पछि आफै भित्र जान्छ भने हर्निया हुनसक्ने भन्ने हुन्छ। त्यस्तो अवस्थामा एक पटक चिकित्सकको सल्लाह लिनु पर्दछ। समयमा उपचार गर्दा यो उपचार हुन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत