विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

आज फागुन ३० २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १४, २०२३। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्-

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण 

उत्तर कोरियाले आज पनि दुई वटा छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको छ । बितेका तीन दिनमा यो दोस्रो क्षेप्यास्त्र पक्षेपण भएको दक्षिण कोरियाले बताएको छ ।

दक्षिण कोरिया र अमेरिको संयुक्त रूपमा सैन्य अभ्यास गरिरहेका बेला प्योङयाङले ‘ब्यालेष्टिक मिसाइल’ परीक्षण गरेको हो । उत्तर कोरियाको बढ्दो सैन्य र आणविक जोखिमलाई दृष्टिगत गरी वासिङ्टन र सोलबीचको रक्षा सहयोग घनीभूत भएको छ । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा हतियारको होडबाजनी र परीक्षणको शृङ्खला तीव्र भएको छ ।

दक्षिण कोरियाका सैनिक अधिकारीका अनुसार आज प्रक्षेपण गरिएका क्षेप्यास्त्रले छ सय २० किलोमिटरसम्म उडान भरेका थिए । उनले परीक्षणपछि आफ्नो सैनिक दस्ताले निगरानी र सतर्कतालाई सुदृढ बनाएको बताएका छन् ।

जापान सकारका प्रवक्ता हिरोकाजु मात्सुनोले क्षेप्यास्त्र आफ्नो देशको जलक्षेत्रमा नखसेका बताएका छन् । यद्यपि उनले उत्तर कोरियाबाट थप उत्तेजक कारबाही हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोधमा केही दिनअघि पनडुब्बीबाट दुई वटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । फ्रिडम शिल्ड नामको अमेरिका–कोरिया सैन्य अभ्यास आगामी १० दिनसम्म जारी रहने छ ।

अमेरिकी र दक्षिण कोरियाली संयुक्त अभ्यासले उत्तर कोरिया क्रुद्ध भएको छ । उक्त अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यासको रूपमा लिएको छ ।

प्योङयाङले एक विज्ञप्ति जारी गर्दै वासिङ्गटनको वैमनस्यतापूर्ण एवम् उत्तेजक अभ्यासलाई युद्धको घोषणाका रूपमा लिन सकिने जनाएको छ । साथै उसले बढ्दो सैन्य तनावको दुष्चक्रलाई रोक्न अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासलाई रोकिनुपर्ने माग गरेको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले गरेको छ ।

कोरिया वर्कर्स पार्टीका महासचिव किम जोङ उनले हालै प्योङयाङमा भएको पार्टीको विस्तारित केन्द्रीय समितिको पूर्ण बैठकमा राष्ट्रिय आर्थिक विकासको लागि अन्न उत्पादनलाई प्राथमिकतामा राख्दै आधुनिक कृषि कर्ममा जोड दिएका थिए ।

उनले खाद्य सङ्कट सम्बोधनका निम्ति सिँचाइमा सुधार, कृषि उत्पादनको आधुनिकीकरण र विज्ञान तथा प्रविधिको विकास गरी कृषि विकासको दीर्घकालीन उद्देश्यमा पुग्न थप प्रयास गर्न आह्वान गरेका थिए ।

इरान र बेलारुसबीच सम्झौतामा हस्ताक्षर

इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौतामा हस्ताक्षर भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्कोले इरानको राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ ।

हस्ताक्षर समारोहपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी समकक्षीको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताए ।

उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा अघि बढाउन सफलता मिलेको बताए । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको समेत बताए ।

चीनले विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो

चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।

चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन् ।

यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन् । सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट साङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूह भित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिनाभिसा यात्राको अनुमति दिएको छ ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा छ करोड ५७ लाख अन्तरराष्ट्रिय पर्यटधकले चीन भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गत वर्षको उत्तराद्र्धमा यात्रा अनुमति दिएको हो ।

बन्दाबन्दीको अवस्थामा महिनौँ घरभित्रै छटपटिका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए । महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवम् वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका अन्य राजनीतिक दलबीच छलफल हुने

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । सीपीसी र विश्वभरका राजनीतिक दलहरुबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताए ।

‘आधुनिकीकरणतर्फको बाटो: राजनीतिक दलहरूको दायित्व’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताएका छन् ।

सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : ०१ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय