दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ, पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप, नक्कली शरणार्थी प्रकरणमा आफु संलग्न नभएकाे बालकृष्ण खाँणकाे भनाई, पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी, जेठ ४ गते संसदमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने, जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी, सरकार आउँदो मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि नै पक्राउ परिसके छन् ।

पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर संगठित ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँले म्याद थपका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ ।

‘अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइने छ’, काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरू संकलन जारी नै रहनेछ ।’ सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ ।

घटनामा मुछिएपछि प्रहरीले थप दुईजनालाई पक्राउ पुर्जी जारी गरिसकेको छ । शुक्रबार पक्राउ पुर्जी जारी भएकामा तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक र कांग्रेसका नेता पूर्वसभासद् आङ्टावा शेर्पा छन् ।

प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

प्रहरीले उक्त घटनाका गिरोहहरु सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरु सबैका लागि चार दिन म्याद थप भएको हो ।

घटनामा मुछिएर पक्राउ पुर्जी जारी भएका नेकपा (एमाले)का सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझी र पक्राउ परेका डा राईका छोरा निरजलाई प्रहरीले खोजी गरिरहेको छ । रायमाझीलाई नेकपा (एमाले)ले सचिवबाट निलम्बन पनि गरिसकेको छ । उक्त घटनामा हालसम्म एक सय छजनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा आफु संलग्न नभएकाे बालकृष्ण खाँणकाे भनाई

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कुनै संलग्नता नभएको दावी दाबी गरेका छन् ।

आइतबार सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि अदालत लैजाने क्रममा केही भन्नुहुन्छ मिडियालाई भन्ने सञ्चारकर्मीको प्रश्नमा खाँणले उक्त प्रकरणमा आफु संलग्न नभएको प्रतिक्रिया दिएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।

पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाएको घटनामा मुछिएसँगै जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले बताएको छ ।

त्यसैगरी नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि आज पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली शरणार्थी प्रकरण : संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघको प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौँमा प्रदर्शन गरेको छ ।

काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरूलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाइँदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए ।

उनीहरूले आफ्ना नेताहरू प्रकरणमा संलग्न भए पनि दोषी भए कडा कानूनी कारबाही गर्नुपर्ने जनाएका छन् । त्यस्तै विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दबाब बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

जेठ ४ गते संसदमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्ने तयारी गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो।

जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले भएको जानकारी दिएका छन् ।

उनले संसदभित्र रहेका दलहरूको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए। त्यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए।

संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने कुरा पनि उनले बताए। इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था हुनेछ।

राप्रपाले जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ चार गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ काठमाडौँमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा सशक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।

भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एक मात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

त्यस्तै लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।

जेठ ५ मा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी

सरकारको आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍मा नीति तथा कार्यक्रम सम्बोधन गर्ने तयारी भएको छ । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका अनुसार जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भइरहेको हो ।

सरकार आउँदो मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्यो

नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतको विपद् र त्यसबाट सिर्जित असरको अवस्था, देशको भौगोलिक अवस्था, जलवायु परिवर्तनको असर, सम्भावित जोखिम क्षेत्र पहिचानको आधारमा सोही अनुसारको विपद् व्यवस्थापनको पूर्व तयारी थालिएको छ ।

विपद्को पूर्वतयारी, अस्थायी आश्रयस्थल व्यवस्थापन र खाद्यान्नको आवश्यक व्यवस्थापनका पूर्व तयारी पनि सँगसँगै थालिएको छ । विपद्पछिको उद्धार तथा पुनःस्थापनमा सधैँ आलोचना हुने गरेकाले त्यसलाई मध्यनजर गर्दै विशेष ध्यान दिन गृहमन्त्रालयले सम्बद्ध निकायसँग समन्वय गरिरहेको छ ।

विपद् व्यवस्थापनको पूर्व तयारीस्वरूप यही वैशाख २९ मा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मातहत र सरोकार राख्ने सबै निकायलाई आ–आफ्नो विषयगत क्षेत्रको तयारीमा जुट्न निर्देशन नै दिइसकेको छ ।

कार्यकारी समितिका अध्यक्ष उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब तयारी पुगेन भनेर विपद् व्यवस्थापन कार्यमा छुट नपाइने भएकाले अहिलेदेखिनै के गर्नुपर्ने हो त्यो काम गरेर तयारी अवस्थामा राख्न सरोकारवालालाई निर्देशन गरिसकेका छन् ।

गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेको छ । केही दिनभित्रमै उक्त कार्ययोजना निर्माण गरी लागू गर्न लागिएको गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । यस्तै विपद व्यवस्थापनका लागि अति आवश्यक पर्ने नीति, नियम तथा कार्यविधि तर्जुमाका आवश्यक प्रक्रिया पनि तीव्ररुपमा अघि बढाइएको छ ।

जसअनुसार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ संशोधन, विपद् पूर्वतयारी तथा प्रतिकार्य निर्देशिका २०८० निर्माण, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन साझेदार संस्था परिचालन कार्यविधि २०८० स्वीकृतिको चरणमा पुगेको छ । छिट्टै त्यसका बाँकी तयारी पूरा गरेर कानुनसम्मत बनाउँदै लागू गर्ने गरी सरकार अघि बढेको छ ।

यी सबै कानुन, नीति, निर्देशिका तथा कार्यविधिका विषयमा आवश्यक छलफल गरी अघि बढाउने गरी कार्यकारी समितिले निर्णय नै गरिसकेकाले त्यसको तयारीको काम जारी रहेको पोखरेलले बताए । यस वर्षको मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्यसमेत उल्लेख गरी एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार पार्ने जिम्मेवारी प्राधिकरणलाई दिइएको छ ।

देशका विभिन्न स्थानमा हुनेसक्ने जोखिमलाई मध्यनजर गरी सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारहरुले गर्नुपर्ने पूर्वतयारी, उद्धारलगायतका कार्यका लागि उपलब्ध एवं आवश्यक साधनस्रोतको विवरणसहितको कार्ययोजना तयार गरिने प्राधिकरणका प्रमुख पोखरेलले बताए ।

वैदेशिक रोजगारमा गएकाले दुईवटा फोन ल्याउँदा भन्सार नलाग्ने

वैदेशिक रोजगारीमा गएका कामदारले मात्रै विदेशबाट फर्किदा साथमा दुई वटा फोन ल्याउँदा भन्सार तिर्न नपर्ने भएको छ।

भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विदेशबाट फर्किदा थप एउटा मोबाइल ल्याउन दिने गरी वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गर्दै नयाँ नियमसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो।

अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूले मात्रै दुईवटा मोबाइल भन्सार छुटमा ल्याउन पाउने भएका हुन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ । तर अध्ययन, भ्रमण वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरूले भने साथमा एक थान मोबाइल मात्र महसुल नतिरी ल्याउन पाउने छन् ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किँदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ ।

यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो ।

मदन राईविरुद्ध सात दिन म्याद थपेर अनुसन्धान हुँदै

यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको हो ।

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको थियो । अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ ।

बालेनको आग्रह -‘भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुहोस्’

काठमाडौं महानगरका मेयर बालेन शाहले भ्रष्टाचारीलाई बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

भ्रष्टाचारबिरुद्ध सडक प्रदर्शन गरेर नहुने भन्दै सिधै कारबाहीमा जानुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

नेपालमा थप १० जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४४ जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा १२० जना कोरोनाका सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये हाल १० जना संस्थागत आइसोलेशनमा एक जना भेन्टिलेटरमा र एक जना आइसियूमा उपचाररत छन् । आज १२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०० बजे

सिजीका घरायसी सामाग्रीको दशैँ अफरमा १० ग्रामको सुनको सिक्का चितवनकी दामन्तीलाई 

काठमाडौं–  सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैँ,

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौं–  सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको

घर जाने बाटोमा कहाँ चार्ज गर्न पाइन्छ बिजुलीगाडी ?

काठमाडौं – नेपाली बजारमा पछिल्लो समय विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

काठमाडौं– नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित