सरकार संसदप्रति गम्भीर देखिएन | Khabarhub Khabarhub

सरकार संसदप्रति गम्भीर देखिएन

‘संकटग्रस्त पार्टीको गठजोड समाजवादी मोर्चा हो’


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ। संसदमा प्रतिपक्षी दलको भूमिकामा एमाले सक्रिय देखिन्छ। सरकारका कामको समीक्षा, दलको अन्तरसम्बन्ध र नेपाली समाजमा विकसित भइरहेको मनोविज्ञान, अगामी राजनीतिमा त्यसको परिणामका विषयमा प्रतिनिधि सभाका सदस्य एवम् एमाले सचिव योगेश भट्टराईसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

संसदमा सत्ता पक्ष र प्रतिपक्षको भूमिका कस्तो छ ?
लोकतान्त्रिक अभ्यासमा हरेक घटनाको प्रतिबिम्ब प्रतिनिधि सभामा वा व्यवस्थापिकामा हुन्छ। पछिल्ला केही महिनामा संसद् जसरी चल्नुपर्ने हो त्यो भएको छैन। हामी बेलायती मोडलको संसदीय अभ्यासमा छौँ। त्यो मोडलमा जाँदा संसदले आफै बिजनेस बनाउँदैन। हाम्रा सामान्यतया सरकारी विधेयक हुन्छन्। त्यसैले संसद्लाई कति प्रभावकारी बनाउने भन्ने कुरा सरकारको हो। तर सरकार त्यसमा गम्भीर देखिँदैन। पछिल्लो समय बजेट ल्यायो, नीति कार्यक्रम ल्यायो। त्यो त नियमित कार्य हो। संसदमा जसरी बिजनेस तयार गर्नुपर्ने हो त्यो काम सरकारले गरेको देखिएन।

हामीले केही ज्वलन्त मुद्दाहरू उठाएका छौँ। त्यसमा सरकार तथा मन्त्रीहरू जिम्मेवार ढंगले प्रस्तुत भएका छैनन्। जनतासँग जोडिएका ज्वलन्त मुद्दाहरू धेरै छन्। शिक्षा ऐन लगायतका धेरै कुराहरू आउनुपर्ने हो। त्यो आएको छैन।

प्रतिपक्ष यसमा रचनात्मक कति हुनसक्यो ?
प्रतिपक्ष यसमा मुख्य जिम्मेवार हुँदैन। किनभने सीमित दायरा हुन्छ। हामीले ज्वलन्त मुद्दा, दैनिक समस्या उठाएका छौँ। प्रधानमन्त्रीको भारत भ्रमणका कुरा पनि उठाएका छौँ। तर सांसदले बोलेका महत्त्वपूर्ण जनताको जीवनस्तरसँग जोडिएका कुरामा पनि ध्यान दिएको छैन।

सत्ता पक्षमा आफू हुँदा बहाना बनाउने र प्रतिपक्षमा हुँदा दोष लगाउने हाम्रो काम गर्ने कार्यशैली र काम गर्ने तौरतरिका यस्तै हो ?
होइन। केपी ओली नेतृत्वको सरकारले पहिलो वर्ष नै ८० प्रतिशत पुँजीगत खर्च गरेको हो। तेस्रो कार्यकालमा ६० प्रतिशत खर्च गरेका हौँ। अहिले त प्रतिपक्षले आमहडताल गरेको छैन। अहिलेको प्रधानमन्त्रीले धेरै दललाई लिनु भएको छ। हरेक दलका आफ्नै माग छन्। यही बीचमा उहाँले धेरै दलसँग सम्झौता गर्नुभयो। सबैले मिलाउने भनेपछि त्यो पास गरियो। त्यहाँ सम्झौता गर्नुभयो। ललिता निवासको कुरामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तिम व्यक्तिसम्म हात हाल्नु हुन्छ त ? हामीले चुनौतीका साथ भनेको छौँ। एमालेको सरकार हुँदा कसले यो विषयमा निर्णय गर्यो ? नेकपा फुट्नुको कारण भनेको ललिता निवास प्रकरण, एमसिसी हुन्। यो विषयलाई पनि हेक्का राख्नुपर्छ।

टोपबहादुरलाई पक्राउ गर्दा पार्टी अध्यक्षले नै आपत्ति जनाउनुभएको देखियो। किन यस्तो गर्नुभयो ?
त्यो बेला टोपबहादुर रायमाझीमाथि दुर्व्यवहार गर्ने प्रयास गरियो। हामीले त्यो नगरौँ, उहाँ एउटा संसद् हो भनेका हौँ। हामीले टोपबहादुरलाई पुलिसको अनुसन्धानमा सहयोग गर्नुहोस् भनेका हौँ। पार्टीको बैठकबाट निलम्बन पनि गयौँ। सँगै पक्राउ परेका नेतालाई त कांग्रेसले अझैसम्म निलम्बन गरेन।

नेकपा (एमाले) प्रतिपक्षमा बस्दा संसद् अवरुद्ध बढी नै हुन्छ। किन होला ?
मिटरब्याजको सम्बन्धमा ऐन बनाउनुपर्छ। सरकारले संसद् हुँदाहुँदै संसद्लाई बन्द गरेर अध्यादेश ल्यायो त्यो ठिक छ। तर सरकारलाई त्यो अध्यादेश ६० दिन भित्र संघीय संसदबाट पास नभएमा पास हुनुपर्छ र त्यसको प्रतिस्थापन विधेयक पनि संसदमा ल्याएर पास गर्नुपर्छ भन्ने थाहा हुनुपर्छ। त्यो २० गते पुग्थ्यो। प्रतिनिधि सभाका ४१ वटा बैठक भए कतिपय बैठकमा सांसदले समय बिताउन मात्र बोल्नुपर्यो, त्यो बेला यो अध्यादेश किन ल्याइएन। यो गम्भीर सवाल छ।

प्रितम सिहंले मलाई प्रधानमन्त्री बनाउन दिल्लीदेखि काठमाडौंसम्मका नेतासँग छलफल गर्नु भनेको कुरालाई व्यापक बनाएर संसद् अवरुद्ध गर्नुपर्ने परिस्थिति किन सिर्जना भयो ?
प्रधानमन्त्रीले पहिला पनि यस्ता कुरा बोल्नु भएको थियो। तर प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यस्तो बोल्नु हुँदैन। भारतले जतिसुकै चाहे पनि यहाँ त्यो प्रधानमन्त्री नबन्न सक्छ। हामीले बनाउने हो। हामीले बनाएको मान्छेलाई त भारतले बधाई दिने हो। त्यो उहाँले गलत बोल्नु भएको हो। पछि उहाँले रोस्टममा उभिएर मैले गलत बोले भन्नुभयो। त्यसैले हामीले संसद अवरुद्ध गर्न छोडेका हौँ।

एमालेको मूल नेतृत्वले हामीलाई सत्तामा जान नदिन, प्रधानमन्त्री बन्न नदिन अन्तर्राष्ट्रिय शक्तिले दबाब दिइरहेको छ भन्ने भाष्य सुन्न सकिन्छ। प्रचण्डलाई भारतले चाहेर प्रधानमन्त्री बनाएको हो ?
हामीले प्रधानमन्त्रीलाई भारत भ्रमणका एजेन्डाहरू प्रस्टसँग राख्नुहोस् भनेका थियौं। त्यो एजेन्डा उहाँले साहसका साथ उठाउन सक्नु भएन। सीमाको समस्या, प्राकृतिक श्रोतका बाँडफाँडका कुरा ऊर्जाका कुरामा हाम्रो हित अनुसार काम भएन, हवाई रुट, प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन यी कुरा हाम्रा लागि मुख्य हुन्। यसमा कुनै राम्रो परिणाम भएन। हामीले यो कुरा किन भएन भनेर प्रश्न गर्दा उहाँले सम्बन्ध बिगार्न चाहिन भन्नुभयो।

संसद चलाउने विषयमा तीन जना नेताको मिलन कसरी सम्भव भयो त ?
त्यसमा रास्वपा र राप्रपालाई पनि समेट्नुपर्छ भन्ने हाम्रो भनाइ हो। उहाँहरू पनि संसदका ठूला पार्टी हुन्। तर संसदको निर्णायक तहका हिसाबले तीन वटा पार्टी मुख्य हुन्। तर राप्रपा र रास्वपालाई यो प्रक्रियामा सामेल गरेर लानुपर्ने थियो भन्ने मेरो धारणा हो।

अहिलेको सरकारले भ्रष्टाचारका विषयमा जसरी काम गरिरहेको छ त्यो राम्रो भएन हो ?
उहाँहरूको सुरुवात ठिक छ। तर उहाँहरूले सही रूपमा जहाँसम्म जानुपर्ने हो त्यहाँसम्म जानसक्नुपर्छ। तर त्यो सम्भव देखिँदैन।

जलहरी राख्ने काम क्रिया ठिक थियो ?
एमाले माओवादीले मूल भट्ट हटाउने जस्तो पार्टी होइन। यो प्रक्रियामा भएको काम थियो।

समाजवादी मोर्चा के हो ?
समाजवादी मोर्चा भनेको संकटग्रस्त पार्टीहरूको गठजोड हो। त्यसमा हामी जोडिने सम्भावना छैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्वार्ता)

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ९ : ५३ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार