पार्टी सञ्चालनमा भाती पुगेको देखिएन « Khabarhub

पार्टी सञ्चालनमा भाती पुगेको देखिएन

सभापति मौन बसेर हुँदैन, हामी नेतृत्व परिवर्तनको पक्षमा छौँ


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्व विवादमा छ। अहिले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालनमा चासो नदिएको गुट मात्र चलाएको भन्ने आरोप लागेको छ। महामन्त्रीद्वय एकातर्फ र सभापति देउवा अर्कोतर्फ जस्तो स्थिति देखिएको छ। कांग्रेसका एजेन्डा, कांग्रेसभित्रको छलफल र अन्तरद्वन्द्व अनि विवादको बारेमा आधारित रहेर नेपाली कांग्रेसका सहमहामन्त्री युवा नेता सांसद बद्री पाण्डेसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

पार्टी भित्र पदाधिकारी बैठक बसेर एजेन्डा तय भयो कि बाँकी नै छ ?
पदाधिकारीको बैठक एक पटक बसेको छ। अब साउन २ गते केन्द्रीय कार्यसमितिको बैठक बस्छौँ र एजेन्डा तय गर्छौँ। चुनावदेखि पछिल्ला सत्ता परिवर्तनका अभ्यासले गर्दा पदाधिकारी बैठक बसेर एजेन्डा तयार गर्न समय लाग्यो । हामीले संविधानमा भएका कतिपय व्यवस्थालाई बनायौँ। तर त्यसलाई कार्यान्वयन गर्ने कुरामा जटिलता देखिँदै आएका छन्। त्यसमा पनि संशोधन परिमार्जनका बारेमा सोच्नुपर्छ। कसरी हुन्छ हाम्रा संरचनालाई कामकाजी बनाउने र नीति महाधिवेशनमा चुस्त र प्रभावकारी बनाउने छौँ।

नेपाली कांग्रेस भित्र सभापति एकातिर, महामन्त्री अर्कोतिर, सहमहामन्त्री अर्कोतिर किन ?
पार्टीको बैठक नबस्नु र पार्टीले कार्यक्रम नदिनु समस्या हो। पार्टीले कार्यक्रम दिने हो भने हामी एक हुन्थ्यौँ। जब हामी कार्यक्रम लिए अगाडि बढ्यौँ भने अहिलेका समस्यामा एक ढिक्का हुन्छौँ। देखिने कामहरू गर्छौँ।

पार्टी नेतृत्वविरुद्ध महामन्त्रीले बाहिर बोलेको अभिव्यक्ति पार्टीभित्र छलफल हुँदैन ?
हुनुपर्छ तर अहिलेसम्म भएको छैन। सभापति पछिको कार्यकारी पद महामन्त्रीको हो। यसमा सभापतिको पनि आवश्यक समन्वय गर्ने कुरामा चुक्नु भएको छ कि जस्तो लाग्छ। केन्द्रमा मन्त्री बने त्यसको सूचना महामन्त्रीले थाहा पाउदैनन्। धेरै कुरा महामन्त्रीले समाचारबाट थाहा पाउँछौँ भन्नुहुन्छ। त्यसमा सभापतिले कार्यशैली बदल्नुपर्छ। सबैलाई समान गरेर सामूहिक नेतृत्वमा अगाडि बढ्नुपर्छ। महामन्त्रीले पनि सभापतिको निर्णयलाई बाहिर प्रतिक्रिया जनाउने भन्दा भित्र नै सभापति सामु प्रतिक्रिया दिएमा समस्याको अन्त्य हुन्छ भन्ने लाग्छ।

केन्द्रीय कमिटीको बैठकपछि त्यो कुराहरू सबै भंग होला जस्तो लाग्छ ?
केन्द्रीय कमिटीको बैठकमा सबै प्रकारका विषय प्रस्तुत हुन्छन्। सभापतिले पनि सधैँ मौन मात्र बसेर हुँदैन। हामी एउटै भाव, विचार र मनोभावनामा अगाडि बढ्नुपर्छ र हामी बढ्छौँ जस्तो लाग्छ।

कांग्रेसमा सिङ्गो पार्टी कता लैजाने, यसको मिसन के हो भन्ने नै थाहा नभएको हो ?
राष्ट्रिय राजनीतिमा हामीले जसरी भन्छौँ त्यस्तो हुँदैन। संविधान जारी गर्ने विषयमा पनि हाम्रो कम्युनिस्ट पार्टीसँगको सहकार्य थियो। तर हामीले बहुलवादको मूल मर्म बहुदलताको मूल मर्म, लोकतान्त्रिक कल्याणकारी समाजवादी अर्थ राजनीतिको मर्मलाई संविधानमा व्यवस्थापन गरेका छौँ। त्यो सबैलाई सहमत गराएर लोकतान्त्रिक पार्टीलाई बलियो बनाउने संविधान हामीले जारी गरेका हौं।

अहिले तीन तहको निर्वाचन भइसकेपछि तीन तहका सरकारले काम गर्ने सम्बन्धमा त्यसको प्रभावकारीलाई बढोत्तरी गर्नुपर्छ। त्यसमा कांग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। किनभने अहिले ३३० वटा पालिकामा कांग्रेस प्रमुख स्थानमा छ। त्यसमा त्यहाँ कसरी विकास गर्ने भनेर काम गर्नुपर्छ। अहिले नेपाली कांग्रेस अरूको एजेन्डामा लतारिँदै छ भन्ने कुरा सही होइन। हामीले संविधान, कानुन, पार्टीको घोषणा पत्र अनुसार र पार्टीको विधान अनुसार कामकाजी बन्न सक्ने हो। कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ।

नीति तथा कार्यक्रममा यी कुरा देखिएन त ?
यो वर्ष गठबन्धन सरकार छ, सरकार ढिलो बन्यो, यो वर्षको अर्थतन्त्र आर्थिक हिसाबले कमजोर थियो। अर्थमन्त्री ढिलो आउनु भयो। तर पनि यसलाई राम्रो बनाउनुपर्छ। यसमा हाम्रा सांसदले पनि यो आलोचनात्मक छ भनेर भन्नु भएको छ। यसबाट निराश नभई समस्या समाधान खोजेर अगाडि बढ्नु नै राम्रो हुन्छ।

अहिलेसम्मका व्यवहारले सभापति आत्मघाती बाटोमा हुनुहुन्छ ?
अहिले पार्टी सञ्चालनमा भाती पुगेको जस्तो देखिएको छैन। त्यो पहिलो कहाँ समस्या छ भनेर पहिचान गरेर भाती पुर्याउदै जानुपर्छ। विधानलाई कुल्चिएर अगाडि जानु हुँदैन।

सभापति भ्रष्टाचारका वा अनियमितताका विषयमा बोल्नु भएन भन्ने छ नि ?
अहिले सरकारले नेतृत्व प्रचण्डले गरे पनि गणितीय हिसाबले त्यसको नेतृत्व अहिले हामी गर्दैछौँ। त्यसैले अहिले सरकार मातहतकै गृह मन्त्रालय र त्यसको मातहतकै नेपाल प्रहरी उसले दूधको दूध पानीको पानी छुट्याउनुपर्छ भनेर सूक्ष्मता पूर्वक छानबिन गरिरहेको छ। र अरु मुद्दा पनि छलफलमा आउने र छानबिनको दायरामा ल्याउने काम भइराखेको छ। भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने भनाइको प्रयोग धेरै पहिलेदेखि नै हुँदै आएको हो। तर यो पटक व्यवहारमा त्यो देखिएको छैन। त्यसकारण यसमा हामी नबोलेका हौं।

कांग्रेसले बालकृष्ण खाणलाई निलम्बन गर्न किन नसकेको हो ?
यो हाम्रो परम्परा छैन। परम्परालाई राम्रोसँग स्वीकार गर्नुपर्छ। अरु पार्टीसँग पनि को बढी नैतिक भनेर प्रतिस्पर्धा गर्नुपर्छ। रास्वपा र एमालेले गरेको छ त्यस कारण हामीले आउँदो बैठकमा यो कुराको दबाब सभापतिलाई दिन्छौँ।

नेपाली कांग्रेस भित्र संसदीय दलको नेता परिवर्तन सम्भव छ ?
अहिले महामन्त्रीले त्यो बोल्नु भएको छ तर यो गणितको कुरा हो। ८८ जना सांसद छौँ। ४४ देखि ४५ पुग्यो भने परिवर्तन हुने हो। हामी नेतृत्व परिवर्तनको पक्षमा छौँ। तर यसमा नजिकबाट गणितीय हिसाबबाट हेरेका छैनौँ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  १२ : १६ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा