गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै | Khabarhub Khabarhub

गाउँमा कोदो खेती घट्दै, सहरमा महत्व बढ्दै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

पाल्पा– ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैजसोका घरघरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउँछन् पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।

‘जवानी उमेरमा दिनभर बारीमा साथीहरूसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्’, उनले भनिन् । उनले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा चिन्ता व्यक्त गरिन् ।

हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि नै गाउँघरमा कोदो रोप्ने कार्यमा सहभागी भइन्थ्यो, अहिलेका पुस्तालाई कोदो के हो ? भन्ने नै थाहा हुनै छाड्यो’ उनले भनिन्, ‘गाउँको आफ्नै हातले उब्जाएको पोषिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो ।’ उनले उमेरले बुढ्यौलीपन टेके पनि अझै थोरै भए पनि कोदो लगाउन छाडेकी छैनन् । आफूले परम्परादेखि नै गर्दै आएको खेती आफ्ना सन्ततिले गर्न छाडे पनि उनले थोरै जग्गामा भए पनि निरन्तरता दिइरहेकी छन् ।

गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झन्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ । पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ । कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले  बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन् । युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन ।

दश वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले  गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन् । पहिलापहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो । वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायिकरण रुपमा खेती गर्न छाडिएको छ ।

अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफैँले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायिकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवर्धन वंशी बताउँछन् । उनले कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले आठ–दश पाथी उब्जाउ हुने गरेको बताए ।

यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाएका छन् । मानिसको स्वास्थ्यका लागि कोदोको महत्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताइन् । उनले यस वर्ष करिब दुई रोपनी बारीमा कोदो लगाएकी छिन् । 

पहिलापहिला उनले एक वर्षमा पाँच मुरी कोदो उत्पादन लिने गरेकोमा हिजोआज भने वर्षमा करिब दुई मुरीसम्म उत्पादन हुने गरेको बताइन् ।  घरायसी प्रयोजनका लागि कोदो लगाउँदै आएकी सुनारले व्यावसायिक खेती गरेमा यसबाट राम्रै आम्दानी हुने बताइन् ।

बजारमा कोदोको माग भने पछिल्ला वर्षमा बढ्दो छ । गाउँका धेरै किसानले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । 

औषधिका रुपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । गाउँघरमा विस्तारै कोदो खेती गर्न छाड्दै गएपछि नयाँ पुस्ता कोदो खेतीबारे अनविज्ञ बनेका छन् । कोदो अन्य बालीभन्दा स्वस्थकर भए पनि आकर्षण घट्दै गएको छ । बढ्दो शहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् ।

कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ । 

परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ ।

खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् ।

गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन् ।

स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ । धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्व नदिएका कारण यो लोप हुँदै गएको हो ।

गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ । बजारका ठूलाठूला होटल रेष्टुरा, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ । 

कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ । घरबास (होमस्टे) मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ ।      

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ९ : ३८ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार  ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज

ब्लुबुक कीर्ते गर्ने गिरोह सक्रिय

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने

करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग

झापा– झापाको भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री

भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा

भक्तपुर– युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा