आज विश्व मधुमेह दिवस। सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रूपमा संयुक्त राष्ट्र सङ्घले पनि आधिकारिकता दिन थालेको हो। मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मानिसमा मधुमेह हुन्छ। मधुमेहको समस्यालाई हामीले कसरी बुझ्ने, यसका लक्षणहरू के के छन् ? मधुमेहले युवालाई गरिरहेको असर र त्यसले ल्याउन सक्ने समस्या के के हुन् ? यसबाट बच्न के गर्नुपर्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि जनरल फिजिसियन डा. युएन पाठकसँग गरिएको कुराकानीको सम्पादित अंश :
मधुमेहको समस्यालाई हामीले कसरी बुझ्ने ? मधुमेह पहिला धनी र विकसित देशमा हुन्छ भनेर भनिन्थ्यो। तर पछिल्लो समय उल्टो भएको छ। नेपालमा पनि दैनिक रूपमा बढिरहेको छ। गरिब देशहरूमा पनि धेरै देखिएको छ। अहिले धेरै खाने, कम खाने सबैमा यो रोग छ। हामी खानेकुरामा धेरै सेतो चामल खाने हुनाले यो रोग देखिएको छ। अहिलेका मानिस घरमा बनाएको खाने कुरा भन्दा बाहिरका खाना मन पराउने गर्छन्। घर बसेर बाहिरका खाना अडर गरेर खाने चलन बढ्दै गएको छ। जसले गर्दा शारीरिक व्यायाम पनि कम भएको छ। यसले नै मधुमेह फैलिँदो र बढ्दो क्रममा छ। हाम्रो छिमेकी मुलुक चाइनामा यो धेरै छ।
मधुमेह कति प्रकारका हुन्छन् ? मधुमेह दुई प्रकारको हुन्छ। टाइप–१, यो १४ वर्ष मुनिका बच्चामा हुन्छ र टाइप– २ यो चाहिँ ४० वर्ष माथिका मानिसमा हुने गर्छ। कतिपय गर्भवतीमा तेस्रो टाइपको पनि हुन्छ। गर्भावस्था शारीरिक व्यायामको कमी भएको कारणले मधुमेह हुने गर्छ। वंशाणुगत रूपमा कोहीको आमा बाबालाई छ वा मामाघर तिर कसैलाई छ भने पनि हुनसक्छ। त्यस्तो महिलामा गर्भवस्थामा पनि हुने सम्भावना बढी नै हुन्छ।
मधुमेह बढ्दै जानुको कारण के हो ? पछिल्लो समयमा हाम्रो जीवनशैली र खानपान नै प्रमुख कारण हो। पहिला बुढाबूढीहरू प्रशस्त मात्रामा खेतबारीमा काम गर्ने गर्दथे। जसले गर्दा धेरै पसिना बगाउँथे। काम शरीरलाई आवश्यक परे जति व्यायाम हुन्थ्यो। खानेकुरा पनि आफैले खेतबारीमा उब्जाएका कुनै रासायनिक मलको प्रयोग नगरेको खान्थे। जसले गर्दा रोग लाग्दैन थियो। अहिले धेरै बाहिरका र धेरै समय प्याकेटमा राखेका, तारेका खानाखाने मान्छे उत्साहित हुने गर्छन्। जसले गर्दा धेरै प्रकारका रोग लाग्ने गरेका छन्। विषेशगरी खाना, व्यायाम, अल्कोहल र बाहिरबाट आएका विभिन्न प्रकारका केमिकलको प्रयोग गरेर बनाएका खाना खाँदा यो रोग बढेको छ।
मधुमेहका लक्षणहरू के के हुन् ? सुरुमा आफ्नो शरीरको बनावटमा एक्कासी तौल घट्यो, तिर्खा धेरै लाग्यो, जति खाए पनि भोक लाग्यो भने मलाई मधुमेह भएको हो कि भनेर बुझ्नुपर्छ। तर, कतिपयलाई लक्षणहरू देखिँदैनन्। यद्यपी जाँच गर्दा मधुमेह देखा पर्दछ। त्यसैले ४० वर्ष कटेको मान्छे एक पटक परीक्षण गराउनुपर्छ। यसका साथै छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने, बढी भोक लाग्ने, आँखा तिरमिराउने, शरीरको वजन घट्ने, थकाइ महसुस हुने, वाकवाकी लाग्ने, लामो समयसम्म चोटपटक निको नहुने, हात खुट्टा झमझमाउनु, रिंगटा लाग्ने जस्ता लक्षणहरू देखापर्न सक्छन्।
बालबालिकामा पनि मधुमेह हुन्छ ? विशेषतः बालबालिकामा हुने मधुमेह भनेको टाइप १ डाइबेटिज हो। त्यसमा पनि कसैलाई भाइरल इन्फेक्सन पनि हुन्छ। पहिला हामीले बालबालिकामा के कारणले भएको हो भनेर पत्ता लगाउँछौँ। र त्यही अनुसारको उपचार गर्ने हो।
समयमा उपचार नभए कस्तो जोखिम हुन्छ ? सुगर कमि भएर बिरामी बेहोस भयो भने २० देखि २५ प्रतिशतको मृत्यु हुनसक्छ। परीक्षण नै नगर्दा पनि जोखिम बढ्छ। त्यसको असर केही वर्षपछि उच्च रक्तचाप हुनसक्छ, मिर्गौलाले काम गर्न छोड्छ। प्यारालाइसिस हुनसक्छ, आँखामा अचानक अन्धोपन हुनसक्छ। धेरै मान्छे यो उपचार काम नै छैन भनेर बीचमा छोडिदिन्छन्। आयुर्वेदिक चलाउँछु भनेर झन् अप्ठ्यारो अवस्थामा अस्पताल आएका छन्। जसले गर्दा पनि मानिसमा मधुमेह बढ्दै गएको छ।
कस्तो खाना खाने र कस्तो नखाने ? खाने कुरामा सिधै गुलियो वस्तु खानु हुँदैन। चकलेट, मिठाइहरू नखाने, चामल धेरै नखाने, घरमा बनेको खाना खाने तर थोरै खाने, खसीको मासु धेरै नखाने, हरेक कुराको स्वाद लिने तर मात्रा पुर्याएर खाने अनि धूम्रपान मद्यपान गर्नु हुँदैन। बढी कार्बोहाइड्रेड भएका खानेकुराको सेवन नगर्ने। बढी चिल्लो युक्त पदार्थको सेवन नगर्ने। सन्तुलित र नियमित भोजन लिने, नियमित व्यायाम गर्ने गर्नुपर्छ।
उपचार कसरी हुन्छ र औषधि जीवन भर खानुपर्ने हो ? अस्पतालमा पहिला कस्तो मधुमेह हो त्यो पत्ता लगाइन्छ। त्यसको लागि तीन वटा जाँच गर्नुपर्छ। एउटा फस्टिङ ब्लड सुगर (बिहान खाली पेटमा), अर्को खाना खाएको दुई घण्टामा र अर्को एचबीएवानसी जसबाट अन्तिम तीन महिनाको मधुमेहको अवस्था थाहा हुन्छ। नेपालमा धेरै जसो खाली पेट र खानापछिको मधुमेह जाँच हुन्छ। एचबीएवानसी महँगो छ। धेरै मानिसले त्यसलाई धान्न सक्दैनन्। सुरुको अवस्थामा बिरामीको तौल कति छ धेरै नै छ भने त्यो घटाउने। क्यालोरी धेरै खाएको छ भने त्यो घटाउनुपर्छ। अफिसमा बसेर काम गरेको छ भने व्यायाम गर्नुपर्छ। एक दिनमा कम्तीमा ५ किलोमिटर ५० मिनेटमा हिँड्नुपर्छ। मोबाइल प्रयोग गर्नेले घन्टौँ प्रयोग गर्दा पनि त्यसले असर गर्दछ। मेडिकल साइन्सले पनि भनेको छ कुनै ठाउँमा दुई घण्टाभन्दा बढी बस्नु नै हुँदैन। उठी हाल्ने एक छिन कतै गएर आएर बस्ने। कुखुरा र माछाबाहेक अरू मासुलाई हटाएर हरियो सागपात सलाद खाने। कहिले काहीँ हामीले तत्काल इन्सुलिन दिएर सुगरलाई नियन्त्रण गर्छौँ। सुगर धेरै हाइ छ भने चक्कीले काम गर्न ३६ देखि ७२ घण्टा समय लाग्छ। तत्काल इन्सुलिन दिनु पर्दछ। औषधि खाएर शारीरिक व्यायाम गरेर नियन्त्रण गरेको छ भने औषधि सधैँ खानु पर्छ भन्ने हुँदैन। यदि हाइ छ भने त्यसले शरीरको अंगहरू आँखा, मस्तिष्क र मुटुलाई काम नलाग्ने बनाउँछ। त्यसको उपचार छ तर थोरै छ। त्यसैले आफूले ध्यान दियो भने यो आफै कन्ट्रोल हुन्छ।
यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? हामी सबैले आफ्नो तौलमा विशेष ध्यान दिनुपर्छ। जसमा ४० वर्षको मान्छेमा ८० केजी तौल छ भने हाइटको हिसाबका ६५ केजी तौलमा राख्ने। नियमित शारीरिक व्यायाम गर्ने, स्वच्छ हावामा हिँड्ने र हिँड्दा अलिअलि पसिना आउनुपर्छ। दिनमा मुटु ढुकढुक हुने गरी कम्तीमा ५० मिनेट हिँड्ने। हरियो सागपात धेरै खाने, बढी जोड प्राकृतिक खानामा दिने गर्नुपर्छ।