विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२८ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज मंसिर २८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर १४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक : विदेशमन्त्री वाङ
चिनियाँ कम्युनिष्ट पार्टी(सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन(भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ। भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देश बीचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गरेका छन् ।

भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको छ र उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मीन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताएका छन् ।

यस वर्ष चीन र भियतनाम बीचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।

फिलिपिन्सद्वारा १८० चिनियाँलाई देश निकाला
फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।

अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ ।

राष्ट्रपतिको संगठित अपराधविरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले एएफपीलाई भने , ‘चिनियाँ नागरिकसँग वर्क परमिट थिएन र उनीहरू ‘अनलाइन घोटालामा’ संलग्न थिए ।’ छापामा पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देश निकाला गरिने उनीले जानकारी दिएका छन् ।

एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाहरूबारे अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसमा प्राय तस्करीका पीडितहरूलाई धोका दिइन्छ र फर्जी क्रिप्टो लगानीलाई बढावा दिनका लागि बाध्य पारिन्छ ।

फिलिपिन्सका सिनेटर रिसा होन्टिभेरोसले फिलिपिन्समा ‘घोटाला कल सेन्टर’ सञ्चालन भइरहेको र मुलुकमा बेचबिखन गरी ल्याइएका विदेशीहरूलाई ती कल सेन्टरले रोजगारी दिन्छन् भनेर यसअघि नै चेतावनी दिएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले उसको सन् २०२३ मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी अपराधहरूको कडा अनुसन्धान वा मुद्दा चलाएको छैन भनेको छ । ‘भ्रष्टाचार र तस्करीको अपराधहरूमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ’, प्रतिवेदनमा भनिएको छ ।

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो
नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम् स्तरमा पुगेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्यांकमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।

यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाई सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।

एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।

अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कूल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।

काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जनाको मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो ।

जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका थिए । उनले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिएका छन् ।

दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताएका छन् । उनका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो ।

मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले यस वर्षको अन्त्यमा आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गर्नुअघि हमला भएको बताइएको छ ।

रक्षा मन्त्रालयले हमलाका लागि किएभलाई दोष दिँदै एक विज्ञप्तिमा भनेको छ, ‘अन–ड्युटी हवाई रक्षा एकाइहरूले कलुगा र मस्को क्षेत्रमा नौ युक्रेनी युएभी लाई नष्ट गरेर रोकेको छ ।’

मस्कोका मेयर सर्गेई सोबयानिनले एउटा ड्रोनलाई रुसी राजधानीको दक्षिणपश्चिमी सहर नारो–फोमिन्स्क नजिकै खसालिएको बताए । ‘प्रारम्भिक आँकडाअनुसार जुन स्थानमा ड्रोन खसेको छ त्यहाँ कुनै क्षति वा हताहत भएको छैन’, उनले भने । घटनास्थलमा आपतकालीन सेवाहरूले काम गरिरहेको उनले जानकारी दिएका छन् ।

मस्कोसँग गुमाएका क्षेत्रहरू फिर्ता गर्ने नयाँ प्रयास सुरु गरेसँगै युक्रेनले गर्मीयामपछि निरन्तररूपमा ड्रोनमार्फत रुसमा हमला गरेको छ ।

विद्युत् बजारमा सुधारका लागि इयुले गर्यो सम्झौता

युरोपेली युनियन (इयु) ले जीवाश्म इन्धनमाथि निर्भरता कम गर्न र उपभोक्ता मूल्यहरूलाई स्थिर राख्न इयुको विद्युत् बजारमा सुधारका लागि बिहीबार एउटा सम्झौता गरेको इयु परिषद्ले एक विज्ञप्तिमा जनाएको छ । 

‘आज परिषद् र संसद्ले इयुको विद्युत् बजार डिजाइन (इएमडी) मा सुधारका लागि अस्थायी सम्झौता गरेका छन्’, हाल स्पेनको अध्यक्षता रहेको इयु परिषद्का अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुधारले विद्युत्को मूल्यलाई अस्थिर जीवाश्म इन्धनको मूल्यहरूमा कम निर्भर बनाउने, उपभोक्ताहरूलाई मूल्य वृद्धिबाट बचाउने, नवीकरणीय ऊर्जा र परिचालनमा तीव्रता ल्याउने र उपभोक्ता संरक्षणमा सुधार गर्ने लक्ष्य राखेको छ ।’

इयुका योजनाहरूको उद्देश्य बजारको अस्थिरतालाई कम संवेदनशील बनाउनु हो । यसलाई गत वर्ष उपभोक्ता र व्यवसायहरूका लागि ऊर्जाको मूल्यमा वृद्धि गर्ने युक्रेनमाथि रुसी आक्रमणको प्रतिक्रियाका रूपमा हेरिएको छ । 

‘यो सम्झौता राम्रो समाचार हो किनकि यसबाट हामी रुसी ग्यासमाथि इयुको निर्भरता अझ कम गर्न र हरितगृह ग्यास उत्सर्जनमा कटौतीका लागि जीवाश्मरहित ऊर्जाको प्रवर्द्धन गर्न सहयोग पुग्नेछ’, स्पेनका ऊर्जामन्त्री टेरेसा रिबेराले भने । 

उक्त सम्झौता इयु परिषद् र संसद् दुवैबाट अनुमोदन हुनुपर्नेछ । व्यापक सुधारहरूको एउटा भागका रूपमा उक्त सम्झौतामा एउटा नियम पनि समावेश गरिएको छ जसले बढ्दो अनुगमन र पारदर्शितामार्फत बजार हेरफेरविरुद्ध इयुको सुरक्षामा सुधार गर्नेछ । यसलाई रेमिट (आरइएमआइटी) का रूपमा पनि जानिन्छ । नोभेम्बर १६ मा इयुका २७ सदस्य मुलुकले रेमिटमा अस्थायी सम्झौता गरेका थिए । 

बिहीबारको सम्झौताले सदस्य राष्ट्रहरूको डिकार्बोनाइजेसन योजनाहरूअनुरूप नयाँ नवीकरणीय उत्पादनको अधिग्रहणलाई ‘विशेषरूपमा समर्थन गर्ने सम्भावना’ रहेको विज्ञप्तिमा उल्लेख छ । सम्झौताले सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने परिषद्लाई बजार अवस्थाको आधारमा युनियन–व्यापी ‘सङ्कट’ घोषणा गर्न अधिकारसमेत दिनेछ । 

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार  ८ : ०० बजे

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप