फाइल तस्वीर

अन्तर्राष्ट्रिय

सीमामा शान्ति भएमात्रै चीनसँगको सम्बन्ध सुध्रन्छ : भारत

By खबरहब

January 15, 2023

काठमाडौँ- भारतले सीमामा शान्ति कायम भएमात्रै चीनसँगको सम्बन्धमा सुधार हुने जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई मुलुकबीचको सीमा क्षेत्रमा शान्ति कायम भएको खण्डमा मात्रै द्विपक्षीय सम्बन्ध सुमधुर बन्ने टिप्पणी गरेका हुन् ।

भारतीय आर्थिक पत्रिका इकोनोमिक टाइम्सका अनुसार सीमा क्षेत्रमा जारी तनाव कम गर्ने तत्परतास्वरुप चिनियाँ विदेशमन्त्रीले बयान दिएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो । नवनियुक्त चिनियाँ विदेशमन्त्री चिन गाङले हालै चीन र भारत दुबै मुलुक सीमा क्षेत्रमा शान्ति कायम गर्न तयार रहेको उल्लेख गरेका थिए ।

दुई मुलुकबीचको सम्बन्धलाई थप सुमधुर बनाउनका लागि सीमा क्षेत्रमा शान्ति र स्थीरता कायम हुनुपर्ने भारतको धारणा रहेको भन्दै बागचीले द्विपक्षीय सम्झौता कार्यान्वयनको पाटो पनि महत्वपूर्ण हुने बताए । उनले सीमामा जारी यथास्थितीलाई एकपक्षीय रुपमा उल्लङ्घन गर्ने कार्य गर्न नहुने पनि उल्लेख गरे ।

पछिल्लो समय चीन र भारतबीचको सीमाक्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडप भएको समाचार सार्वजनिक भएपछि भारतको यस्तो प्रतिक्रिया आएको हो ।