दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज दिनभर उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय, यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने सरकारको निर्णय, अत्यावश्यकबाहेक मन्त्री र उच्च कर्मचारीले विदेश भ्रमण गर्न नपाउने, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ, भक्तपुरका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुलीलगायत समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू :

उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको छ । गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पनि तटस्थ बसेको राप्रपाले शुक्रबार हुने निर्वाचनमा पनि मत नहाल्ने निर्णय गरेको हो ।

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ ।  यही चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रपतिमा भने सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहीबार

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ ।

मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ ।

यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने सरकारको निर्णय

सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको हो ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन् ।

गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यानको मृत्यु भएको थियो ।

नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने सरकारको निर्णय 

नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

अत्यावश्यकबाहेक मन्त्री र उच्च कर्मचारीले विदेश भ्रमण गर्न नपाउने

सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन् ।

बैठकले  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरू एवं अतिरिक्त स्वास्थ्य सचिवहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।

कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । ‘द युनाइटेड नेशन २०२३ वाटर कन्फरेन्स’ विषयक कार्यक्रममा सहभागी हुन खानेपानीमन्त्रीलाई स्वीकृति दिएको छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय गरेको छ । नेपाली सेनाको एक महासेनानी र एक सहायक रथी पदमा बढुवा गरी पदस्थापन गरेको छ ।

बैठकले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारणलाइन निर्माणका लागि वन क्षेत्र उपयोग गर्न दिने, रामपुर स्वास्थ्यचौकी, उदयपुरलाई १० शय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि

बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी आन्दोलनले सेवा नै अवरुद्ध हुन पुगेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले असन्तुष्टि जनाएको छ ।

सिबिफिनले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रका रुपमा परिभाषित बैंक तथा वित्तीय संस्थामा किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने नपाइने भएपनि सो को उल्लघंन गर्दै नियोजित रुपमा बैंकिङ्ग सेवा नै अवरुद्ध गराउन खोजेको आरोप लगाएको छ ।

विज्ञप्तिमा विभिन्न व्यवसायिक संस्थाहरुले २०७९ फागुण ३० गतेका दिन मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिनेजस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिनले खेद जनाएको उल्लेख गरिएको छ ।
वार्ताका माध्यमबाट समस्याका समाधान गर्न पनि सिबिफिनले माग गरेको छ ।

भक्तपुरका फार्मेसीमा औषधिको मूल्यभन्दा बढी असुली

यहाँका निजी अस्पतालले बिरामीको उपचारदेखि औषधिमा समेत बढी मूल्य लिने गरेको पाइएको छ । अरनिको राजमार्गसँगै जोडिएका यहाँका ठूला निजी अस्पतालले औषधिमा समेत बिरामीलाई कानुनविपरीत एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएर औषधि र उपचारका सामग्री बिक्री गर्ने गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका अस्पतालका औषधि पसलमा गरिएको आकस्मिक अनुगमनमा औषधिमा समेत बिरामीलाई ठगी गर्ने गरेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । उनले भने, ‘अनुगमनका क्रममा यहाँका निजी अस्पतालले सञ्चालन गरेका फार्मेसीले नियम विपरित चर्को मूल्यमा बिक्री गरेको र नार्कोटेकजस्ता औषधि पनि सँगै राखेर बिक्री गरेको पाइएको छ ।’

अनुगमन समितिले मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पताल, नागरिक कम्युनिटी टिचिङ अस्पताल गठ्ठाघर, भक्तपुर इन्टरनेसल अस्पताल कौशलटार र समिट अस्पताल लोकन्थलीमा अनुगमन गर्ने क्रममा अस्पतालका औषधि बिक्री कक्षले नियम विपरीत औषधि बिक्री गर्ने गरेको पाइएको हो ।

अनुगमनका क्रममा भक्तपुर इन्टरनेसल अस्पतालको फार्मेसीले नियमभित्र रहेर औषधि बिक्री गरेको तर मध्यपुर, नागरिक कम्युनिटी र समिट अस्पतालका फार्मेसीले भने चर्को मूल्य लिएर औषधि तथा औषधिजन्य पदार्थ बिक्री गरेको पाइएको उनले जानकारी दिए । यहाँका अस्पतालका फार्मेसी सञ्चालकले ३२ देखि एक सय १० प्रतिशतसम्म बढी मूल्य लिएको अनुगमनका क्रममा पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए । उनका अनुसार सर्जिकल सामग्रीमा अत्यधिक मूल्य वृद्धि गरेर बिक्री गरेको पाइएको छ ।

नागरिक अस्पताल फार्मेसीले लागूऔषधका रुपमा प्रयोग हुने नार्कोटेक लगायतका औषधि पनि एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको बताइएको छ । नियमानुसार यस्ता औषधि छुट्टै राख्नुपर्ने र चिकित्सकको अनुमति बिना बिक्री गर्न नपाइने भए पनि एकै ठाउँमा राखेर जथाभावी बिक्री गरेको पाइएको उनले बताए ।

अनुगमनमा समिट अस्पतालले म्याद नाघेका औषधि पनि सँगै बिक्री गर्ने गरेको पाइएको छ । यस अस्पतालले औषधि राखेको फ्रिजमा तरकारीसमेत राखेको बताइएको छ । स्वास्थ्य कार्यालय भक्तपुरले औषधिमा तरकारी मिसाएर राख्नु गम्भीर लापरबाही भएको अनुगमनकै क्रममा बताएको छ ।

अनुगमन समितिका संयोजक एवं सहायक प्रजिअ शर्माले अरनिको राजमार्ग नजिक सञ्चालनमा रहेका अस्पतालका फार्मेसीमा बढी मूल्य लिएर बिरामीलाई औषधि बिक्री गरेको र प्राविधिक कमजोरी गरेको देखिएकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको बताए । नियम विपरीत सञ्चालन भएका अस्पतालका फार्मेसीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए ।

फार्मेसी सञ्चालकले भने अहिलेसम्म अनुगमन नगरेको र फार्मेसीको नाफा अस्पतालका सञ्चालक समितिका सदस्यलाई समेत वितरण गर्नुपर्ने भएकाले महङ्गो लिनु परेको बताएका छन् । भक्तपुरमा अनुगमन हुन बाँकी रहेका निजी अस्पताल अभ्युदय अस्पताल, डा इवामुरा मेमोरियल अस्पताल, सिद्धिस्मृति बाल अस्पतालका साथै यहाँका क्लिनिक तथा औषधि पसलले औषधि र सर्जिकल सामग्रीमा बिरामी ठगेर मनोमानी रुपमा रकम असुल्ने गरेको बिरामीका आफन्तहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् ।

७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशत

चालु आर्थिक वर्ष (आव) २०७९–८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट नेपाल विद्युत प्राधिकरणले गत वर्षको माघसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत विन्दुले घटाइएको छ ।

गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत चुहावट ९.६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८–७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो । यसवर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो । प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।

चालू आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत बिक्री भएको छ । ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ ।  प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैह्रप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए ।

ग्राहकका घरमा राखिएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरी अभियानकै रुपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरु फेरिएका छन्, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्, सबस्टेसनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्ने, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरुले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रुपमा नियन्त्रणमा लिंदै कारबाही गर्दै आएका छन् ।

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरुमध्ये सबैभन्दा बढी विद्युत चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत चुहावट १२.३० प्रतिशत रहेकोमा यस वर्ष ११.७८ प्रतिशतमा झारेको छ । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४१.८६ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ३८.६४ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३८.३९ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.३४ प्रतिशत थियो । रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत रहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
उच्च अदालत पाटनले गत पुस २४ गते ३६ लाख ८८ हजार रुपैयाँ बिगो र उत्तिनै रकम जरिवाना तथा १ लाख ४७ हजार ५ सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर गरेपनि हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नं ६ हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ६ खड्क भद्रकाली बस्ने ५० वर्षका पुरनबहादुर घले रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान अन्दाजी ७ बजे खड्क भद्रकालीबाट नै पक्राउ गरिएको हो ।

हाल उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ०० बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय