आज वैशाख २, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १५, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्
जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ आक्रमण
जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई लक्षित गरी आक्रमण भएको छ। एक सार्वजनिक कार्यक्रममा सहभागी भइरहेका बेला प्रधानमन्त्री किशिदालाई लक्षित गरी ‘स्मोक बम’ फालिएको हो।
घटना जापानको पश्चिमी वाकाया शहरमा शनिबार बिहान भएको समाचार संस्था रोयटर्सले जनाएको छ । बम विष्फोटको आवाज सुनेपछि हंगामा मच्चिएको थियो। सुरक्षाकर्मीले तत्कालै प्रधानमन्त्रीलाई सकुशल बाहिर निकालेका थिए ।
जापान टाइम्सको रिपोर्ट अनुसार प्रधानमन्त्री किशिदा र्यालीलाई सम्बोधन गर्न वाकायामा शहर पुगेका थिए। उनले यसै महिनाको अन्त्यमा हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको लिबरल डेमोक्रेटिक पार्टीका उम्मेदवारको समर्थनमा भाषण दिने भएका थिए।
यसै क्रममा संदिग्ध आक्रमणकारी पक्राउ परेका छन्। ती व्यक्तिले प्रधानमन्त्री सम्मिलित सभातिर धुवाँ निस्कँदै गरेको केही चिज फ्याँकेको एक प्रत्यक्षदर्शीले बताएका छन् ।
गत वर्ष यस्तै सभामा भाषण गरिरहेका बेला पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई गोली हानेर मारिएको थियो ।
सुडानमा अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी
अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स ९आरएसएफ०ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।
एक विज्ञप्तिमार्फत उसले उत्तरी शहर मेरोवे र पश्चिममा अवस्थित एल(ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ। शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको थियो र प्रत्यक्षदर्शीहरूले छेउछाउका शहरहरूमा गोलीबारीको रिपोर्ट गरेका थिए।
रोयटर्सका एक पत्रकारले सडकमा तैनाथ तोप र सशस्त्र गाडीहरू देखे र सेना र आरएसएफ दुवैको मुख्यालय नजिकै भारी हतियारको गोलीको आवाज सुने। सेनाले आरएसएफले देशका धेरै भागहरूमा भारी गोलीबारी गरेको र आफ्ना अधिकारीहरूलाई धेरै स्थानहरूमा आक्रमणको प्रयास गरेको बताएपछि द्वन्द्वको त्रास फैलिएको थियो।
आरएसएफले भने आफ्ना अधिकारीहरूलाई सेनाले आक्रमण गरेको दाबी गरेको छ।
रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनीको मृत्यु
युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।
डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ ।
उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ । उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन । उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ । विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिने छ ।
युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए । गत वर्षको २४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै सङ्ख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्ध मारिएका छन् ।
रुस र युक्रेनले युद्धमा भएको हताहतिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई नौ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए । रुसी अधिकारीहरूले पनि छ हजार सैनिकले ज्यान गुमाएका जानकारी दिएका थिए ।
संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको सङ्ख्या ७८ लाख पुगेको जनाएको छ । युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अ-कल्पनीय प्रभाव परेको छ । धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यून आय भएका देशका जनताको जीवन कष्टकर बनेको छ ।
फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो
व्यापक विरोधकाबीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।
राष्ट्रपति इमानुएल माक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका हुन्।
उनले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताएका छन् । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटि औँल्याएको छ ।
परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनकारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ । पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए ।
कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।
शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको सवारी दुर्घटनामा मृत्यु
उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।
आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
चीनमा डढेलोका कारण करिब दुई हजार विस्थापित
दक्षिणपश्चिम चीनको युनान प्रान्तको जंगलमा डढेलो लागेपछि करिब दुई हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको स्थानीय अग्निनियन्त्रकहरूले बताएका छन् ।
शनिबार मध्याह्नसम्म डढेलो नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् । घटनामा कुनै हताहती वा मृत्यु भएको खबर प्राप्त भएको छैन ।
युसी शहरमा रहेको अग्नि नियन्त्रक मुख्यालयका अनुसार २८० वटा दमकल र तीनवटा हेलिकप्टरको सहायताले चार हजारभन्दा बढी मानिसले आगो निभाउने काम गरेका थिए । शनिबार मध्याह्नसम्ममा जियाङचुआन जिल्लामा लागेको आगो नियन्त्रणमा आइसकेको र होङटा जिल्लामा पनि आगो नियन्त्रणमा आइसकेको मुख्यालयले जनाएको छ ।
जियाङचुआन जिल्लाको एक बस्ती नजिकै मंगलबार लागेको डढेलो आसपासका क्षेत्रमा फैलिएको थियो । युनान मौसम विज्ञान सेवाले आगामी पाँच दिनमा सात शहर र प्रिफेक्चरमा तातो र सुख्खा मौसमको पूर्वानुमान गरिएकाले जङ्गलमा लागेको डढेलोका लागि यस वर्षको पहिलो खतराको संकेतको सूचना नागरिकलाई गरिएको छ ।
भारतमा थप १० हजार ७५३ जनामा कोरोना संक्रमण
भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो । अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन् । बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।
हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन् ।
महाराष्ट्रको रायगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, २५ घाइते
महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सिन्ह्वालाई फोनबाट बताएका हुन् । प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी सवार थिए ।
गृहमन्त्री अमित शाहले उक्त दुर्घटनालाई दुर्भाग्यपूर्ण भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । स्थानीय प्रशासन सहायताका निम्ति घटनास्थलमा जुटेको छ । उद्धार तथा राहतका कार्य अझै जारी रहेका बताइएको छ ।













प्रतिक्रिया