भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा « Khabarhub

भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थल प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।

यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए ।  सुन्दर स्थलमा रहेको यो देवस्थल प्रचारप्रसारको कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको  महत्वलाई देश–विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

यो स्थानमा तिज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको छ । ‘यो शिवपञ्चायन मन्दिर प्रचारको कमीले ओझेलमा परेको छ’, उनले भने, ‘प्रसिद्ध टेम्केडाँडाको काखमा रहेको यो स्थान ओझेलमा पर्नु दुःखको कुरो हो । हामी अहिले स्थानीयस्तरबाट प्रचारप्रसारमा जुटेका छौँ । राम्रो प्रचार गर्न सके यसले यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।’

चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ आउने गरेको स्थानीयवासी गोरखबहादुर विष्टले बताए । मन्दिर स्थापनासँगै संरक्षणको काम गरेपछि यहाँ आउने मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएको उनको भनाइ छ । प्राकृतिकरूपमा निकै सुन्दर मानिने यो ठाउँको विकासमा मन्दिर स्थापनाले टेवा पुगेको स्थानीयवासीको भनाइ छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्णु, देवीको गरी पञ्चायन भगवान्को मूर्ति छन् । धार्मिक पर्यटन तथा धार्मिक सहिष्णुता बढ्ने स्थानीयले बताएका छन् । ‘हाम्रो यो ठाउँमा धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्यले शिवपञ्चायन मन्दिरको स्थापना गरेका छौँ’, स्थानीय  शिक्षक नुरी शेर्पाले भन्नुभयो, ‘यहाँ हामी सबै जातजातिको बसोबास छ । हाम्रो शेर्पा समुदायको बाहुल्यता रहेको ठाउँमा गुम्बा निर्माण गरेका छौँ । यसले हामीबीचको धार्मिक सहिष्णुतालाई अझ बलियो बनाएको छ ।’

मन्दिर निर्माण तथा आवश्यक संरक्षणका लागि स्थानीय देवबहादुर विष्टले निःशुल्क जग्गा  दिएका हुन् । ‘यो ठाउँमा मन्दिर निर्माणसँगै आवश्यक संरचना निर्माणका लागि मैले जग्गादान गरेको छु’ उनले भने, ‘यसले यहाँको संरक्षण तथा विकासमा टेवा पुगेको छ । मन्दिर निर्माणसँगै  धार्मिक पर्यटकको आवागमन बढ्छ भन्ने मैले विश्वास लिएको छु ।’

गाउँपालिका र वडा कार्यालयको तीन लाख लागत र स्थानीयले श्रमदान गरेर यहाँ मन्दिर निर्माणसँगै आवश्यक संरक्षणको काम गरेका हुन् । 

गाउँपालिकाभित्रका  धार्मिक तथा ऐतिहासिक क्षेत्रको पहिचान गरेर विकासका लागि काम गर्ने गाउँपालिकाले जनाएको छ । यो ठाउँको  शिरमा प्रसिद्ध धार्मिकस्थल टेम्केडाँडा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने टेम्केमैयुङ–५ का वडाध्यक्ष सुनिल राईले बताए । मन्दिर निर्माण तथा संरक्षणले आन्तरिक तथा बाह्य पर्यकटसमेत वृद्धि हुने वडाध्यक्ष राईको भनाइ छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउन गाउँपालिकाले भूमिका खेल्नुपर्ने स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : १२ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा